चेतनाथ आचार्य
कुइनेटोमै एक हुल केटीहरूले मेरो मोटरसाइकल रोके। म छक्क परेँ। चिन्दै नचिनेका र देख्दैनदेखेका केटीहरूले बाटो छेक्दा डर लाग्यो अनि रिस पनि उठ्यो। हिजोआज प्रहरीले अपराधी पक्रन केटीहरू प्रयोग गरेको समाचारमा पढेको थिएँ। मनमा चिसो पस्यो। फेरि एक मनले सोचेँ मैले के नै अपराध गरेको छु र! लुट्न आएका भनौँ भने दिउँसै त लुट्नु नपर्ने हो, चन्दा माग्ने भनोँ भने त्यस्तो पनि लागेन।
हिजो आज बजारमा विभिन्न खालका मानिस भेटिन्छन्। कतै राम्रा केटीले 'एक्स्क्युजमी दाइ' भनेर बोलाएमा मख्ख परेर बोल्नुभन्दा अर्कोतिर फर्केर हिँडे हुन्छ। दुनियादारी सामान बेच्नेदेखि बाइबलका उपदेश छाँट्नेसम्म, हेपाटाइटिसका सुर्इको विज्ञापन गर्नेदेखि सहकारीका सदस्य बनाउनेसम्मका केटीहरूले हैरान बनाउनु सामान्य भइसक्यो।
मोटरसाइकलमा घ्याच्च ब्रेक हानेर यस्तै कुरा खेलाउँदै थिएँ। पछाडि बसेका युवराज प्वाक्क बोल्यो 'बहिनीहरूलार्इ के सेवा गर्नुपर्यो होला।' ऊ यसै पनि रौसे मान्छे त्यसमाथि केटीहरूसँग गफ गर्नु उसको सोख नै हो। म उनीहरूको अनुहार नियाल्न थालेँ। बीस वर्षभन्दा तलका जस्ता देखिने युवतीहरू कोही कुर्ता सुरुवालमा त कोही पेन्ट र टिसर्टमा सजिएका थिए।
एउटी केटीले शालीन र भद्रपनाको नखरा गर्दै भनी 'पण्डित आशिष तपार्इं नै हैन? हामी तपार्इंका फ्यान क्या!' ओहो को पण्डित आशिष अनि केको फ्यान? म रनभुल्लमा परेँ। 'तपार्इंहरू झुक्किनु भए जस्तो छ। म पण्डित आशिष होइन। कृपया बाटो छोडिदिनुहोस्।' मैले उनीहरूलार्इ पन्छाएर मोटर साइकल अगाडि बढाउन खोजेँ।
मैले उनीहरूलार्इ दुस्कारेपछि एउटी गोरीगोरी केटी अगाडि सरेर भन्न थाली 'हैन हजुर नरिसाउनु न। हजुर पण्डित आशिष नै हो। म हजुरलार्इ राम्ररी चिन्छु।'
'म आशिष चाहिँ हो तर पण्डितसन्डित हैन।' मैले उसलार्इ झपारेँ। 'तपार्इंहरूले कसलार्इ खोज्नु भएको हो? कृपया मान्छे चिनेर बाटो छेक्नुहोला।' यति भनेर मैले जबर्जस्ती मोटर साइकल हुइँक्याएँ। हत्तेरिका क्या च्वाँख केटीहरू थिए, एकछिन गफ गर्न मन लागेको थियो। बरु मलार्इ एकैछिन पण्डितजी बनाएको भए हुन्थ्यो नि! युवराजले दुखेसो पोख्यो। ऊ यसै पनि रौसे त्यसमाथि केटीहरूलार्इ छेडछाड गर्नु र मजाक गर्नु उसको रुचि नै हो। यसो गर्दा ऊ दिन बितेको पनि पत्तो पाउदैन। नाम मिल्दैमा आज पण्डितजी भइयो भन्दै हामी आफ्नै गन्तव्यतिर लाग्यौँ।
साँझ यसो टहलिन भनेर कोठाबाट बाहिर निस्किएँ। कोठा नजिकैको मेडिकल अगाडि पुगेपछि मडिकलको भाइले मलार्इ बोलायो र एउटा बन्दखाम हातमा राखिदियो। कसले दिएको भन्दा उसले एक हुल केटीहरू आएका थिए तपार्इंको हुलिया बताएर दिनु भनेर गए भन्दै ऊ औषधि पसलमा आएका ग्राहकसँग कुरा गर्न थाल्यो। म खाम बोकेर कोठामा आएँ। एक प्रकारको कौतुहल मनमा दौडिन थाल्यो। बाहिर केही पनि लेखिएको थिएन।
कोठामा आएर खाम खोलेर हेरेँ। खामभित्र एउटा पृष्ठमा केही लाइनहरू कोरिएका थिए।
पण्डित आशिष
नमस्कार
हामीले आज बिहान तपार्इंको बाटो छेकेर अशिष्टता प्रदर्शन गरेकोमा क्षमापार्थी छौँ। हामीले यहाँलार्इ नचिनेर अथवा झुक्किएर रोकेका होइनौ। हामी तपार्इंको कोठा नजिकैको नर्स होस्टलका विद्यार्थीहरू हौँ। गत शनिबार हामी शोभा दिदीकोमा गएका थियौँ। शोभा दिदीलार्इ तपार्इं राम्ररी चिन्नुहुन्छ। उहाँ हाम्रो होस्टलको प्रशासक हुनुहुन्छ र हामी उहाँको घरमा गएका बेला तपार्इंलार्इ देखेका हौँ। तपार्इं पण्डित हुनुहुन्छ भन्ने कुरा पनि हामीले त्यतिबेलै थाहा पाएका हौँ। तपार्इंले राम्रो हात हेर्नुहुन्छ र सबै कुरा र्याङको ठ्याङ पत्ता लगाउनुहुन्छ। त्यसैले हामी तपार्इंबाट भविष्य थाहा पाउन चाहन्छौँ। यहाँ हाम्रो नाम र फोन नम्बर दिएको छ। हामीलार्इ तपार्इंको फोन नम्बर थाहा छैन। त्यसैले कृपया एकपटक फोन गनुहोला।
पत्र पढेपछि म कोठा नै थर्किने गरी हाँसे। म हाँसेको सुन्ने कोठाका भित्ताहरू मात्र थिए। बिहान बाटो छेकेको र पण्डित भनेर सम्बोधन गरेको मलार्इ बल्ल हेक्का भयो। अघिल्लो शनिबार बिहान छिमेकी शोभा दिदीको घरको छतमा एकजना चन्दन लगाएका अधबैँसेले केटीहरूका हात हेरेको देखेको थिएँ। मेरो कोठा र शोभा दिदीको छत सँगसँगै पर्छ। मैले पनि सोही ज्योतिषीको नक्कल गर्दै दुर्गा भान्जीको हात हेरेको थिएँ। हामी दुवैजना नाटक गरिरहेका थियौँ। दुर्गा भान्जी पल्लोघरको छतमा रहेकाहरूलार्इ सुनाउँदै भन्दैथिइन् 'पण्डित आशिषज्यू मेरो भूत, वर्तमान र भविष्य सबै हेरिदिनुपर्यो। यसपालि बुबा आमाले मेरो बिहे गरिदिने भन्दैछन्। कस्तो केटासँग मेरो बिहे होला पण्डितज्यू।'
साँच्चै ज्योतिषीले जस्तै गरेर मैले पनि गम खाएजस्तो गरेर भनेको थिएँ 'नानीको त आफूभन्दा तल्लो जातको केटा सँग प्रेम रहेछ। अभिभावकले स्वीकार्ने अवस्था रहेनछ। यो साल जेनतेन पार गरियो भने अर्को साल चाहिँ उत्तम छ। आफूले प्रेम गरेकै केटासँग बिहे हुन्छ।'
मेरो भनाइ सुनेर दुर्गाले भनेकी थिइन् 'तर पण्डितज्यू यही वर्ष बिहे गर्ने भन्दैहुनुहुन्छ। केटाहरू पनि हेर्न आ'काआ'कै छन्। केही टुनामुना गरेर यो साल कटाउने उपाय बताइदिनुपर्यो। नत्र त मेरो प्रेमको कुनै मतलव नै हुँदैन। केही उपाय त होला नि पण्डितबा !'
भान्जीलार्इ उत्तर दिँदै मैले भनेको थिएँ 'उपाय त छ तर अलिक महङ्गो पर्छ, पैसा तिर्न सक्छ्यौ त नानी।' मैले त्यसो भनेपछि दुर्गाले अझ ठूलोठूलो स्वरमा भनेकी थिइन् 'म जति भनेपनि पैसा तिर्न तयार छु पण्डितबा, तर मलार्इ बचाइदिनुपर्यो। मेरो पवित्र र अमर प्रेमलार्इ मार्नु भएन। भन्नु न कति पैसा चाहिन्छ र मैले अरू के गर्नु पर्यो?'
दुर्गाले त्यसो भनेपछि मलार्इ हाँस पनि उठ्न थाल्यो र उनलार्इ भनेको थिएँ 'त्यसो भए नानी भित्र कोठामा हिँड। म तिमीलार्इ अचुक उपाय बताइ दिन्छु।'
कोठाभित्र छिरेपछि हामी मामाभान्जी मरिमरि हाँसेका थियौँ। त्यही नाटकले गर्दा नर्सिङ्ग पढ्ने ती नानीहरूलार्इ गलत प्रभाव परेको र मलार्इ हात हेराउन चाहेको बल्ल मैले थाहा पाएँ। त्यही भएर मेरो अट्टहास अझै बढ्दै थियो। हाँस्दाहाँस्दै युवराज कतिखेर आइपुगेछ मलार्इ पत्तै भएन। के भयो बहुलाइस् कि के हो भन्दै युवराजले मलार्इ झकझक्याउँदा पो म झसङ्ग भएँ।
मैले त्यो चिठी उसलार्इ देखाउँदै अघिल्लो हप्तादेखिको रामकहानी सुनाएँ। यसै त युवराज त्यसमाथि त्यो पत्र र हात हेरेको कहानी बाँदरलार्इ लिस्नु नै भइहाल्यो। उसले गोजीबाट मोबाइल झिक्यो र पत्रमा भएको नम्बर थिच्न थालिहाल्यो। पहिलो नम्बर बिजी रहेछ भन्दै अर्को नम्बर थिच्यो र हेन्ड फ्री गरेर बोल्न थाल्यो म अक्क न बक्क भएर उसको अनुहार हेर्न थालेँ। चिठीको नाम अनुसार हो होइन पक्का गर्यो 'को बोलेको? सिर्जना हो?' उताबाट पनि को बोलेको भन्ने प्रश्न सुनियो। युवराजले म पण्डित आशिषको पिए बोलेको भन्नासाथ उताबाट प्रत्युत्तर आयो 'हो हो म सिर्जना बोलेको, पण्डितज्यूसँग कुरा गर्न मिल्छ?'
युवराजले बढो चतुरता देखाउँदै भन्यो 'अहिले मिल्दैन उहाँ ध्यानमा हुनुहुन्छ। बिहान तपार्इंहरूले उहाँलार्इ बाटो छेक्नु भयो। यो राम्रो भएन। एक त उहाँ जो पायो त्यहीको हात हेर्नु हुन्न त्यसमाथि उहाँलार्इ जहाँ पायो त्यहीँ पण्डित भनेर बोलाएको पनि मन पर्दैन। उहाँलार्इ तपार्इंहरूजस्तो जो पायो त्यहीको हात हेर्ने फुर्सद पनि छैन। आइन्दा त्यस्तो अशभ्य काम नगर्नुहोला।' यति भनेर उसले फोन काटिदियो।
म छक्क परेँ, युवराज पनि यति गम्भीर हुन्छ र यस्तो व्यावहारिक कुरा गर्छ भन्ने लागेकेा थिएन। ममाथि आइलागेको काउछो पन्छाएकोमा मैले उसलार्इ धन्यवाद पनि दिएँ। मेरो अपेक्षाभन्दा फरक ढङ्गले उसले मलार्इ भन्यो 'अब हेर्दै जा न मेरो करामत। यी केटीहरूलार्इ कसरी उल्टो खेद्नुपर्छ भन्ने कुरा तँलार्इ के थाहा? अहिले एकै छिनमा थाहा पाउँछस्। अब म जेजे भन्छु तँ त्यै त्यै गर्दै जा।' म फेरि अक्क न बक्क परेँ।
केही बेरमै युवराजको मोबाइलमा फोन आयो। उसले फेरि मोबाइल हेन्ड फ्री गरेर कुरा गर्न थाल्यो। अहिले फोन लालिमा नाम गरेकी केटीले गरेकी थिर्इ। उसले विनम्र भावमा भनी 'हामी एकपटक पण्डित आशिषलार्इ भेट्न चाहन्छौँ। कृपया समय मिलाइदिनुहोस्। हामीले गल्ती गर्यौँ त्यसका लागि हामी माफी पनि माग्न चाहन्छौँ।'
युवराजले भोलिपल्ट ५ बजे भेट्न सक्ने बताउँदै नयाँ वानेश्वरको एउटा रेष्टुरेन्टमा आउन भन्यो र रेष्टुरेन्टको बिल पनि उनीहरूले नै तिर्नुपर्ने बतायो। युवराजले लिएको बाटो मलार्इ पटक्कै मन परेन। अर्कालार्इ ढाँट्नु, छल्नु एक प्रकारको अपराध हो भन्ने मलार्इ थाहा थियो तर मेरो भनाइ चल्दै चलेन। त्यसपछि मैले उसैको भनाइ अनुसार रेष्टुरेन्टमा केटीहरूलार्इ भेट गर्ने र हात हेर्ने कुरामा सहमति जनाएँ।
हामीले केटीहरूसँग कसरी कुरा गर्ने भन्ने बारेमा पनि तयारी गर्यौँ। भोलिपल्ट पाँच बजे हामी निर्धारित रेष्टुरेन्टमा जानुभन्दा दुर्इ घण्टा अगाडि ठूलो आपत आइलाग्यो। युवराजकी आमा सिकिस्त बिरामी भएको खबरले ऊ आकस्मिक रूपमा खोटाङतिर गयो। फलत: म एक्लै रेष्टुरेन्टमा गएँ।
गेटमै ६ जना केटीहरू थिए। उनीहरूले मलार्इ भद्रता प्रस्तुत गर्दै पैले माफी मागे। उनीहरूले एउटा कोठा रिर्जभमा लिएका रहेछन्। त्यो कोठामा गएपछि उनीहरूले केही खाजा र चिसो पेय पदार्थ मगाए। खाजा खाँदै मैले उनीहरूलार्इ आफ्नो वास्तविकता बताउन चाहेँ। मैले भने 'हेर्नुहोस् म कुनै पण्डितसन्डित हैन र यस्ता बकम्फुसे कुरामाथि विश्वास पनि लाग्दैन। मैले हात हेर्न जानेको छैन, हेर्दिन र पत्याउँदिन पनि। तपार्इंहरू भ्रममा पर्नु भएको रहेछ ...'
मेरो भनाइ टुङ्गिन पाउँदा नपाउँदै सिर्जनाले भनी 'हामीलार्इ सबै थाहा छ। तपार्इं कस्तो मानिस हुनुहुन्छ भन्ने कुरा।' म छक्क परेँ। जब उनीहरूलार्इ मेरो वास्तविकता सबै थाहा छ भने यो सब नाटक किन भइरहेको छ। आखिर यिनीहरू त युवराजभन्दा चम्बू रहेछन्। म यस्तै कुरा मनमा सोच्दै थिएँ।
प्रतिमाले थपी 'हामी पनि कोही ऐरेगैरेलार्इ पत्याउँदा पनि पत्याउँदैनौँ। कुनै पनि विद्वानले मैले यस्तो जानेको छु, यति जानेको छु भनेर कहिल्यै पनि विज्ञापन गर्दैन। आफैँले आफैँलार्इ विज्ञापन गर्ने काम त मूर्खहरूले मात्र गर्छन्। तपार्इं ढुक्क हुनुहोस् हामीले तपार्इंलार्इ अनावश्यक दुख्ख दिन खोजेको पनि होइन। हामीले तपार्इंले ती नानीको हात हेरेर बताउनु भएको भविष्यवाणीबाट तपार्इंले चिनिसकेका थियौँ। हामी तपार्इंका सबै सर्त मान्न पनि तयार छौँ। मात्र हामी तपार्इंसँग एकपटक हात हेराउन चाहन्छौँ।'
घुमाइफिराइ उनीहरू मैले बोलेको सत्य कुरालार्इ नपत्याएर केही बेरको नाटकलार्इ पत्याइरहेका थिए। सानो नाटकले गर्दा म ठूलो समस्यामा फस्दै थिएँ। त्यसकारण त्यो समस्याबाट म निस्कन चाहन्थेँ तर उनीहरू अझै मलार्इ तानेर दलदलतिर धकेल्दै थिए। म ट्वाइलेट जाने निहुले बाहिर निस्किएँ र घोत्लिन थालेँ। त्यस्तो अवस्थामा भाग्नु पनि मलार्इ राम्रो लागेन। अनि सोचेँ यसो हात हेरेर केही भनेजस्तो गर्नुपर्यो र हिँड्नुपर्यो। म १५ मिनेटपछि फर्किएँ। उनीहरू सबैजना नर्सिङ्ग पढ्ने विद्यार्थी भएकाले ८ बजे अगाडि नै छात्राबासमा फर्कनु पर्ने बताउँदै सबैको हात हेरिदिनु पर्ने बताए। सँगसँगै उनीहरूले मैले लिने शुल्क पनि सोधे।
मैले पनि उनीहरूलार्इ तीनवटा सर्तमा मात्र हात हेरिदिने बताएँ। मेरो पहिलो सर्त थियो दोहोर्याएर हात नहेर्ने। दोस्रो सर्त मैले हात हेरेर भनेका कुरा बाहिर लान नहुने र तेस्रो सर्त हात हेरेको कुनै शुल्क नलिने। मेरा सर्त सुनेर उनीहरू मुखामुख गर्न थाले। अन्तत: उनीहरूले मेरा सर्त माने। म हात हेर्न थालेँ।
मलार्इ गफ लगाउन त अलिक अलिक आउँथ्यो तर एकैचोटि ६ जना केटीहरूको हात हरेर फरक फरक कुरा भन्नु मेरा लागि सबैभन्दा चुनौतिको विषय थियो। म के कुरामा ढुक्क थिएँ भने मैले उनीहरूको विश्वास जित्नु थिएन।
पहिले मैले सरिताको हात हेरेँ। मैले पहिलो झटारो फालेँ 'तपार्इंलार्इ त सामान हराउने समस्याले सार्है सताएको रहेछ, अनि आफैँले विश्वास गरेका व्यक्तिले सामान चोर्ने गरेको रहेछन् नि!' मलार्इ थाहा थियो कसै न कसैको केही न केही हराएकै हुन्छ त्यसमाथि छात्राबासमा सामान हराउनु सामान्य कुरा हो।
ऊ अचम्म मान्दै भन्न थाली 'हो त नि अस्ति सुकाएकै ठाउँबाट मेरो भित्री पोसाक हरायो, बाथरुमबाट एक तोलाको सिक्री हरायो। अनि मोबाइल पनि यी सबै होस्टलबाटै हराएको हो। तपार्इंले त ठ्याक्कै भेट्नुभयो।'
यस्तै यस्तै विभिन्न कुरा गरेर सरितालार्इ पन्छाएँ। त्यसपछि लालिमाको पालो आयो। लालिमालार्इ भने 'तपार्इं नराम्रो सपना देख्नु हुँदो रहेछ। केही समय अगाडि साथीसँग झगडा पनि भएको रहेछ। तपार्इंले विश्वास गरेको मान्छेले सधैँ तपार्इंलार्इ धोका दिँदो रहेछ।' मैले उसलार्इ हात हेरेर होइन, सबैलार्इ थाहा भएकै कुरा भने किनभने सबैले सपना देख्छन्। कुनै सपना राम्रा हुन्छन् त कुनै नराम्रा। प्राय नराम्रा सपनाले मानिसलार्इ झस्काउने गर्छ र सबैले ती कुरालार्इ मात्र सम्झिरहन्छन्। मानिस अत्यन्त शंकालु हुन्छ र झगडा भइरहेको हुन्छ जसलार्इ उसले विश्वासघात सम्झन्छ।
ऊ पनि मख्ख पर्दै हो हो भन्दै टाउको हल्लाउन थाली। त्यसपछि मैले सिर्जनाको हात समाएँ। उनलार्इ अर्को जोत हानेँ। 'तपार्इं त लामो यात्राको प्रतीक्षामा रहनु भएको रहेछ। यात्रा त पहिल्यै तय भएको थियो तर धोका पाउनु भएछ। घरपरिवारले पनि यहाँलार्इ उत्ति सार्हो साथ दिएको छैन। यहाँको दसा अझै कटेको छैन।' अहिलेका युवा पुस्ता सबै विदेश जाने सोचाइमा विभिन्न सन्जालमा परेकै हुन्छन् अनि घर परिवारमा पनि नयाँ पुस्ता र पुरानो पुस्ताबीचमा द्वन्द्व हुनाले मैले उनलार्इ भनेको थिएँ।
सिर्जना आँखाभरि आँसु पारेर मेरो अबोर्ड स्टडीको यो तेस्रो प्रयास हो, पैसा दलालले खाएपछि बुबा आमाले पनि कचकच गरिरहेका छन् भन्दै झन्डै झन्डै भक्कानिर्इ। लाइनमा प्रमिला आइपुगी। उसलार्इ अर्को अन्जाद फालेँ 'तपार्इं त सानोमा धेरै बिरामी पर्नु भएको रहेछ। शरीरमा कतै हतियारको चोट पनि लागेको रहेछ। तपार्इंले केही दिन अगाडि मात्र खुसीको खबर सुनेको हुनुपर्छ। तपार्इंको घरपरिवारमा कुनै मान्छे निकै विरामी परेको हुनुपर्छ। तपार्इं जसलार्इ चाहनुहुन्छ उसले वास्ता गर्दोरहेनछ अनि तपार्इं जसलार्इ मन पराउनु हुन्न ऊ हत्ते हालेर तपार्इंको पछि लागेको रहेछ।'
सबै मान्छे आफ्नो विगतमा बिरामी हुनु सामान्य कुरा हो। लडेर अथवा घरेलु हतियारले कुनै मान्छेलार्इ कतै न कतै चोट लागेको हुन्छ। खुसी र दु:खका कुरा सुन्नु सामान्य जस्तै हो भने बैँसालु उमेरका केटीमा माया बस्नु, आफूले चाहेको केटाले वास्ता नगरेजस्तो हुनु सबैमा लागू हुने भएकाले त्यस्तै गफ हानेको थिएँ। नभन्दै सबैजना हाँसेर मेरो भनाइलार्इ जाँचपास गराए। प्रमिला त मेरी आमालार्इ मात्र थाहा छ मेरो शरीरमा चोट छ भन्ने कुरा आज तपार्इंले कसरी थाहा पाउनुभयो भनेर मेरो अनुहार क्वारक्वार्ती हेर्न थाली।
विनिता हात पसार्दै आर्इ र भन्न थाली मेरा त केही गोप्य कुरा पनि छन् सबै नभन्नुहोला है। आँखी भौँ खिरिलो भएकी विनिता सबैभन्दा भड्किलो पोसाकमा थिई। मैले अन्दाज गरेँ यो केटी चाहिँ सहरिया र अरूभन्दा हुने खानेकी छोरी हुनुपर्छ। उसको हात खेलाउँदै मैले भने 'मन्दिर जाने र पूजा गर्ने बानी भए पनि चाहेको मन्दिरमा अहिलेसम्म मौका मिलेको रहेनछ। अर्काको सेवा गर्ने सार्है ठूलो इच्छा रहेछ। नयाँ साथी बनाउन र कुरा गर्ने इच्छाले केही धोका पाइसकेको हुनुपर्छ ...।' सहरिया केटीहरू मन्दिर र पूजा भनेपछि हुरुक्कै हुन्छन्। कसैको मनकामना जाने इच्छा हुन्छ त कसैको विन्द्यवासिनी। अनि कसैको हलेसी महादेव त कसैको मुक्तिनाथ। त्यसकारण चिताएका मन्दिरहरू एकपछि अर्को गर्दै आएका हुन्छन्। यस्ता केटीहरू इन्टरनेटमार्फत साथी बनाउने र ती साथीबाट धोका पाउने सामान्य कुरा हुन्छ। अर्काको सेवा गर्ने इच्छा भन्यो भने उनीहरू मख्ख पर्छन्। विनिता मेरा कुराले आगोमा घिउ पग्लिएझै भर्इ।
पाँचजनाले हात हेराइसकेपछि सन्ध्याको पालो आयो। उसले हात नदेखाउने कुरा गर्दै आफूलार्इ विश्वास नलाग्ने र अहिलेसम्म हात नदेखाएको बतार्इ। उसलार्इ साथीहरूले जति कर गरे पनि अँ हँ मरिकाटे हात देखाइन। म भने बल्लबल्ल उनीहरूको घेरा तोडेर ७ बजे उम्किएँ। बाहिर निस्किएपछि मलार्इ ठूलो कष्ट काटेजस्तो भयो।
त्यसपछिका दिनमा नर्सिङ पढ्ने ती विद्यार्थीहरूसँग आकलझुकल भेट हुने गर्दथ्यो। एक दिन किनमेल गर्न गएका बेला सिर्जनासँग भेट भयो। उसले मलार्इ पण्डितज्यू नमस्कार भनी। उसको यस्तो सम्बोधनले त्यहाँका अरूहरू छक्क परे। उनीहरू मेरो पोसाकतिर केन्द्रित थिए। निधारमा चन्दन नघसेको र जिन्सको पेन्ट अनि टिसर्टको पोसाकमा उनीहरू मलार्इ पण्डित मान्न सायद तयार थिएनन्।
एक छिन गफ गरेपछि सिर्जनाले भनी हामीले तपार्इंको विश्वास गरे पनि सन्ध्याले कहिल्यै गरिन। हामीमध्ये ऊ मात्र होस्टलमा बस्दिन। ऊ अलिक फरक खालकी केटी छे। होटलमा मलार्इ हात हेराउन नमान्ने केटीको अनुहार सम्झिएँ। कताकता मानसपटलमा सन्ध्याको धुमिल छाया नाच्न थाल्यो। सामान्य कुराकानी पछि सिर्जनासँग म छुटि्टएँ।
कोठातिर आउँदै गर्दा अकस्मात सन्ध्यासँग भेट भयो। ऊ निकै हतारमा थिर्इ। उसले मलार्इ नमस्ते गरी र मेरो मोबाइल नम्बर मागी। मैले कुनै नाइनास्ती नगरिकन उसलार्इ नम्बर दिएँ। मेरो नम्बर लिएर ऊ बाटो लागिहाली।
साँझ सन्ध्याले फोन गरी। उसले भोलिपल्ट थोरै समयका लागि भेट्न अनुरोध गरी। मैले पनि उसको पायक पर्ने स्थानमा भेट्न अनुमति दिएँ। बिहान उसले भनेको ठाउँमा पुग्दा ऊ उभिरहेकी थिर्इ। ऊ कुर्ता सुरुवालमा सामान्य देखिन्थी। उसको अनुहार निरस र गम्भीर थियो। उसको देब्रे हातमा छाता थियो र दाहिने हातमा सानो फुस्रो रंगको मादले झोला भिरेकी थिर्इ।
मलार्इ कौतुहल थियो ऊ किन मलार्इ भेट्न खोज्दैछे। ऊ त हात पनि नहेराउने र विश्वास पनि नगर्ने केटी हो। मेरो अपेक्षाभन्दा फरक उसले मलार्इ आफ्नो हात हेरिदिन आग्रह गरी। केही दिन अगाडि उसले आफूलार्इ हात हेर्ने व्यक्तिप्रति विश्वास नभएको र आफूले हात नहेराउने भनेको सम्झिएँ।
म घोत्लिएको देखेर उसले भनी 'तपार्इं अस्तिको मेरो कुरा सम्झेर छक्क पर्दै हुनुहुन्छ होला। साँच्चै मलार्इ त्यस्ता कुरामाथि विश्वास थिएन तर तपार्इंले सबैको हात हेरेर सबै कुरा छ्याङ्गै पारिदिनुभयो। सबै साथीहरू दैनिक रूपमा तपार्इंको कुरा गर्छन्। जतिबेला पनि केटीहरू तपार्इंकै कुरा गरिहेका हुन्छन्। तपार्इंले हात हेरेपछि सबैले भविष्यको बाटो फराकिलो भएको भन्छन्। मैले त साथीहरूले मेरो घरपरिवारको कुरा थाहा पाउलान् कि भनेर मात्र अविश्वासको कुरा गरेकी हुँ।'
उसले मलार्इ हात देखाउने तर उसको हात हेरेको कुरालार्इ हामी दुर्इ बाहेक बाहिर लान नहुने पनि सर्त राखी। म फेरि दुविधामा परेँ। पहिले मैले उसको अनुहार पढेँ। ऊ अरूभन्दा अलिक बढी उमेरकी देखिन्थी। उसको अनुहार, बोली बचन र हाउभाउले ऊ अरूभन्दा भिन्न र अलिक व्यावहारिक जस्ती मलार्इ लाग्यो।
मैले उसलार्इ भने 'ती केटीहरूको कुरा नसुन्नुहोस्। म कसैको हात हेर्दिन र यस्ता बकम्फुसे कुराको पछाडि नलाग्नुहोस्। म एउटा निजी कम्पनीमा काम गर्ने कर्मचारी हुँ र म आफैँ पनि यस्ता कुरामा विश्वास गर्दिन। अस्ति मैले त्यतिकै बनावटी कुरा गरेको थिएँ।'
ऊ मेरा कुरा पत्याउन पटक्कै तयार भइन। उसले भनी 'हो तपार्इं यसै भन्नुहुन्छ भन्ने मलार्इ थाहा थियो। म पनि रत्नपार्क अथवा पशुपतिमा गएर हात हेराउने केटी होइन। मैले तपार्इंलार्इ ठूलो विश्वास र इज्जत गरेकी छु। मेरो हात नहेर्ने हो भने मेरो भन्नु केही छैन। म तपार्इंबाट भविष्य थाहा पाउन चाहन्छु वस ...'।
ऊ केही बेर रोकिर्इ र मतिर नफर्किकन आँखामा आएको आँसु पुछी। ऊ यथार्थ कुरा पत्याउन भन्दा हात हेरेर गरिने उट्पट्याङ कुरामाथि विश्वास गर्न दृढ थिर्इ। केही सीप नलागेपछि म उसको हात हेरेर फेरि झुटको खेती गर्न तयार भएँ। उसकै सुझाव अनुसार हामी नजिकैको पार्कमा गयौँ। बिहानको पारिलो घाममा पार्कमा खासै मानिस आएका थिएनन्। म चाँडोचाँडो उसको हात हेरेर त्यहाँबाट फुत्कन चाहन्थेँ। मैले सन्ध्या होस्टलमा नबसेर बाहिरको कोठामा बस्छे भन्ने थाहा पाइसकेको थिएँ।
मैले उसको हात समातेर हेर्न थालेँ तर के भन्नु भन्नु केही भन्नै आएन। अनायसै मेरो मुखबाट फुत्किइहाल्यो 'के भन्नु केही त देखिँदैन।' मैले हात हेर्दा सबै बनावटी भने पनि सत्य कुरा त्यही थियो। मैले त्यसो भनेपछि सन्ध्या कालीनिली भर्इ। उसले भनी 'राम्ररी हेर्नुहोस् न केही त देखिन्छ होला नि !'
उनले यसो भनेपछि मैले के बोलेँ भन्दै म झसङ्ग भएँ। अनि म बनावटी कुराहरू खोज्न थालेँ तर कत्ति गरे पनि दिमागमा नयाँ कुरा केही पाइएन। ऊ आफैँले प्रश्न गर्न थाली 'मेरा बुबा हराउनु भएको छ, कहिले आउनु होला?' धेरैबेर हात हेरेर मैले भने 'घरमा सानोतिनो विवाद भएको रहेछ र उहाँ घर छोडेर हिँड्नु भएको रहेछ, उहाँले केही सम्पत्ति पनि लिएर जानु भएको रहेछ। अब चाँडै आउनुहुन्छ।'
त्यसपछि ऊ केही खुसी भर्इ र अर्को प्रश्न गरी 'मेरो बिहेका बारेमा भनिदिनुहोस् न!' मैले केही गम्भीर जस्तो भएर भने 'तपार्इंको जुन केटासँग प्रेम सम्बन्ध छ त्यही केटासँग बिहे हुन्छ अनि बिहे पनि चाँडै हुन्छ जस्तो छ। ओहो कस्तो राम्रो बर। बत्तीस लक्षणले युक्त रहेछ। तपार्इंहरूको जोडी युगयुगान्तरसम्म चल्छ' उसले मेरो कुरा काट्दै भनी 'तर मेरो कसैसँग पनि प्रेम छैन।' मेरो झुट उसले पत्ता लगाएरै छोडी। मैले अलिक सुधारेर भने 'प्रेम नभए पनि तपार्इंको रोजाइ रहेछ, तपार्इंले मन पराएको र रोजेकै केटासँग तपार्इंको बिहे हुन्छ।'
कुरा अलिक मिलेजस्तो भएछ। उसले हाँस्न खोज्दै भनी 'हो त्यस्तै त्यस्तै कुरा छ।' त्यसपछि उसले निकै लामो सास तानेर भनी 'मैले सोचजस्तै होला जस्तो छ। मेरो बिहेभन्दा अगाडि नै बाबा घरमा आएदेखि कति राम्रो हुनेथियो। मलार्इ हेर्न आएको केटा पनि राम्रै जस्तो छ। कसैकसैले उसका बारेमा नराम्रो कुरा गरेको पनि सुनेकी छु। मलार्इ दुविधा थियो तर हजुरले हात हेरेर भनेपछि अब ढुक्क भयो। हात हेर्न छोडेपछि उसले निकैबेर कुरा गरी। उसलार्इ केही दिनदेखि निन्द्रा पनि लागेको रहेनछ अनि खान पनि रुचेको रहेनछ। अब ऊ ढुक्क भएकी थिर्इ।
हामी झन्डै एक घण्टा कुरा गरेपछि छुट्टियौँ। कोठातिर आउँदै गर्दा युवराजसँग भेट भयो। ऊ भरखरै खोटाङबाट फर्किएको रहेछ। ऊसँग भेट्ने बित्तिकै झनक्क रीस उठ्यो। ऊ आमालार्इ अस्पतालमा भर्ना गरेर आएकाले हतारमा थियो। लामो कुरा गर्न पाइएन।
लामो समयसम्म नर्सिङ पढ्ने केटीहरूसँग जम्काभेट भएन। अरूको त कुनै झझल्को नआए पनि सन्ध्याको यादले मलार्इ खुब सताएको थियो। मैले राम्ररी उसको अनुहार पढ्नै पाइन। ऊ निकै ठूलो दुविधामा च्यापिएकी जस्तो भान परेको थियो।
युवराजकी आमालार्इ अस्पतालमा भर्ना गरेर राखेको थियो। यो अस्पताले ऊ अस्पताल र त्यो अस्पताले अर्को अस्पताल गरेर थुप्रै अस्पतालमा रिफर गर्दागर्दा र फलोअप गराउँदा गराउँदा युवराज दिक्क भइसकेको थियो। जिर्ण र पाको शरीरमा रोगले बास गरेपछि उसकी आमा पीडैपीडामा बाँचिरहेकी थिइन्।
पाँच महिनापछि अस्पतालबाट आमालार्इ डिस्चार्ज गरेर उसले खोटाङ घरमै लाने विचार गरेछ। अस्पतालमा डिस्चार्ज गर्ने बेलामा पैसा नपुगेपछि मलार्इ फोन गर्यो। म पैसा लिएर अस्पताल पुगेँ। पैसा बुझाएर वार्डबाट निस्कन लाग्दा सिर्जनासँग जम्काभेट भयो। उनीहरू नर्सिङको अध्ययन सिध्याएर त्यही अस्पतालमा व्यावहारिक कक्षाका रूपमा इन्टन गर्दैरहेछन्। सामान्य कुरा भयो। गफका सिलसिलामा मैले सिर्जनालार्इ सन्ध्याका बारेमा जिज्ञासा राखेँ। सिर्जना गम्भीर भर्इ र भनी 'बिचरा सन्ध्याले पाउनु दु:ख पार्इ। हामीले कति भन्दा पनि मानिन। एउटा खराब केटा उसलार्इ माग्न आएको रहेछ। खै उसले के देखेर हो कुन्नि त्यो केटालार्इ सारै असल देखी र बिहे गर्न राजी भर्इ। तपार्इंकहा गएर एक पटक हात हेरा भनेको मान्दै मानिनँ। बिचरी बिहे गरेको तीन महिनापछि नै उसको जीवन नर्कमा फस्यो। उसको बेपत्ता बाबु पनि पहिले नै मारिएको रहेछ त्यो पनि अहिले मात्र थाहा भयो। कत्ति दु:ख पाउन लेखेको रहेछ त्यसको खप्परमा बाबै। तपार्इंसँग हात हेराको भए आज उसको यो गति हुने थिएन।'
'किन के भयो र त्यस्तो उसलार्इ ?' मैले प्रश्न सोध्नासाथ कुनै क्याबिनमा एउटा बिरामी मूर्छा परेको खबर आएर सिर्जना त्यता दौडिर्इ। युवराजकी आमा थरथर कामिरहेकी थिइन्। युवराज ट्याक्सी पनि ल्याइसकेछ। हामी पनि ट्याक्सी चढेर हिँड्यौँ। बाटोभरि मैले सन्ध्यालार्इ सम्झिएँ। सन्ध्याको जिन्दगी बरवाद पार्ने उसको भाग्य हो कि म ...।
Post a Comment