news and more entertainment

'डेटिङमा जान' अपहरणको नाटक

काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखामा गत बुधबार सिनामंगलकी १४ वर्षीया निकिता (नाम परिवर्तन) अपहरणमा परेको उजुरी पर्‍यो। महाशाखाले विशेष टोली खटाएर कलडिटेलका आधारमा लोकेसन पत्ता लगाउँदा उनी सिनामंगल छेउछाउमै रहेको पाइयो। 

प्रहरीले निकिताको परिवार र पढ्ने स्कुलमा बुझ्दा उनको १५ वर्षीय रोहन (नाम परिवर्तन) सँग घुलमिल रहेको पत्ता लाग्यो। प्रहरीले खोज्दै जाँदा रोहन र निकिता बिहीबार अपराह्न सिनामंगलबाटै समातिए। प्रहरीका अनुसार 'परिवारलाई जानकारी नदिई किन भागेको' भनेर सोध्दा दुवैको जबाफ थियो, 'हामी एकआपसमा प्रेम गर्छौ, विवाह गर्छौं।' 

यस्तो जबाफ सुनेपछि एकछिन त उनीहरूलाई खोज्न पुगेका प्रहरी अचम्ममा परे। रोहन १० र निकिता ८ कक्षाका विद्यार्थी हुन्। प्रहरीले दुवैलाई महाशाखा ल्यायो। दुवै पक्षका अभिभावकलाई राखेर कुरा गर्दा निकिता पक्षकाले केटाले जबरजस्ती लगेको भनेर कारबाही गर्न प्रहरीलाई सुझाए भने रोहन पक्षकाले दुवै एकअर्कामा प्रेम गर्ने भएकाले यो घटना अपहरण नभएको भन्दै मिलाउन सुझाए। प्रहरीले दुवैका अभिभावकलाई मनोचिकित्सकसँग काउन्सिलिङ गर्न निर्देशन दियो। 

महाशाखाकी डीएसपी मीरा चौधरीका अनुसार ६ महिनायता यस्ता प्रकृति (नक्कली अपहरण) का आठवटा उजुरी परेका छन्। 'अपहरण भन्छन्, खोज्दै जाँदा केटाकेटी सँगै, अब दुवै मन मिलेर हिँडेपछि हामीले के कारबाही गर्नु, सम्झाइबुझाइ पठाउनेबाहेक अर्को विक ल्प छैन', उनले भनिन्। 

त्यस्तै जोरपाटीकी १६ वर्षीया सबिना (नाम परिवर्तन ) र १७ वर्षीय अर्जुन नेपाल (नाम परिवर्तन) परिवारलाई थाहा नदिई मनकामना पुगे। सबिनाको परिवारका सदस्य आत्तिँदै उजुरी दिन महाशाखा पुगे। 

प्रहरीले मनकामनाबाटै दुवैलाई पक्राउ गरेर काठमाडौं ल्यायो। केरकार गर्दा उनीहरूले आफुहरू एकआपसमा प्रेम गर्ने भएकाले रोकटोक नगर्न परिवारलाई भने। 

पढ्ने उमेरका उनीहरूले पढाइ पूरा गरेपछि विवाहै गरिदिने भन्दा पनि छुट्टिन मानेनन्। प्रहरीका अनुसार अन्त्यमा केही सीप नलागेपछि उनीहरूले अभिभावकसँग यस्तो प्रस्ताव राखेछन्, 'हामीलाई दुईवटा मोबाइल सेट चाहियो, सिमकार्ड पनि छुट्टै चाहियो, दैनिक गफ गर्नुपर्छ, स्नातक पास गरेपछि विवाह गरिदिनुपर्छ, नत्र फेरि भाग्छौं।' 

सहमति भएर अभिभावकले मनोचिकित्ससँग काउन्सिल गर्ने भन्दै दुवैलाई आआफ्नो घर लगे। 'यस्तो घटनामा प्रहरीलाई कारबाही गर्न धेरै गाह्रो पर्छ, कहिले हरायो त कहिले अपहरणमा पर्‍यो भनेर उजुरी दिन्छन्, नखोजिदिऊँ प्रहरीले केही सम्बोधन गरेन भन्ने आरोप लाग्छ', डीएसपी चौधरीले भनिन्। 

महाशाखाका प्रवक्ता एसपी भूपाल भण्डारी भन्छन्, 'आफ्ना बालबालिका के गर्दैछन् भन्ने विषयमा अभिभावकले पनि चासो दिनुपर्छ र विद्यालयले विद्यार्थीको क्रियाकलापप्रति ध्यान दिनुपर्छ।' 

महाशाखाले आठवटै यस्ता नक्कली अपहरणका घटनामा प्रहरीले परिवारबीच छलफल गराएर सहमतिमा छाडेको थियो। प्रहरीका अनुसार प्रेमीप्रेमिकाले घुम्न जानुपरे अपहरणमा परेको भनेर प्रहरीमा उजुरी दिन लगाउने गरेको पनि पाइएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget