अपराध र यौन विश्वमा सबैभन्दा बढी बिकाउ विषय भएकोले खुश्बु बिकिन- बबिता बस्नेत
मिडियामा महिलाको समाचार आउनका लागि त खुश्बु नै बन्नुपर्दो रहेछ, हामीले गरेका कामहरू, हामीले गरेका प्रयासहरू, सफलता र दुःखका कुराहरू त मिडियामा आउँदै आउदैनन्।’ २० वर्षअघि भएको चौथो विश्व महिला सम्मेलनलाई पुनरावलोकन गर्न गत हप्ता राजधानीमा सम्पन्न राष्ट्रिय महिला सम्मेलनमा सहभागी एक महिलाले यसो भन्दा धेरैले सही थापे। हुन पनि डन भनेर चिनिएका दिनेश अधिकारी चरीको मृत्युपछि उनकी प्रेमिकाका नाममा खुश्बु ओलीको चर्चाले मिडियामा स्थान पाएको पाएकै छ। खुश्बुले बोलेका हरेक कुरा मिडियामा समाचार बनेका छन्।
उनका दर्जनौँ फोटा फरक–फरक पोजमा आएका छन्। हतपत महिलाले स्थान नपाउने टेलिभिजन ‘टक सो’को हट सिटमा खुश्बुलाई ल्याउन पाउँदा प्रस्तुतकर्ता दङ्ग छन्। अनलाइनको त झन् कुरै छैन, कुनै पत्रिकामा उनको कुरा आउनासाथ एउटै कुरालाई फरक फरक एङ्गलबाट दिएका दिएकै छन्। फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ताले तिनलाई सेयर गरेका गरेकै छन्। खुश्बुसँग सम्बन्धित कुनै सामग्री आयो कि पढिनेको सङ्ख्या एकैछिनमा हजारौँ काट्छ, प्रतिक्रिया त्यत्तिकै। सबैभन्दा बढी पढिएको सामग्री भनेर खुश्बु सम्बन्धित सामग्री नै आउँछ। खुश्बुले अर्पणलाई यसो गरिन्, चरीलाई यसो गरिन्, कुमुदलाई यसो भनिन्… यस्तै कुरा मिडियामा छाएका छन्। उनकै कारणले गुमनाम अर्पण सबैले चिन्ने भए। खुश्बुकै कारणले सम्पत्ति सकेको भनिएका उनलाई कसैले बिचरा पुरुषका रूपमा राखे त कसैले प्रेमिकाले भन्नेबित्तिकै सबै सम्पत्ति गुमाउने कस्तो मान्छे रहेछ त? भनी प्रश्न गरे। अर्पण के थिए, कस्ता थिए, कुन–कुन आश्रय शिविरमा पुगे या पुर्यातइए? खुश्बुसँग कुनै बेला प्रेम गरेकै कारण उनका सबै व्यक्तिगत कुरा छताछुल्ल भए। प्रख्यात या कुख्यात मान्छे त यो मुलुकमा धेरै मरे, मारिए, तर तिनका प्रेमिका या श्रीमतीहरूले कहिल्यै यसरी चर्चा पाएनन्। मान्छे मर्दा चर्चा हुने पनि कि प्रख्यातकै हो कि त कुख्यातकै हो, सर्वसाधारण त को कहिले कहाँ मरे भनेर आफन्त र साथीहरूबाहेक अरूलाई चासो पनि हुँदैन। ख्याति, कुख्यातिहरूमै पनि तिनले जे–जति चर्चा पाए पनि तिनका वरिपरिका मानिसलाई भने मिडियाले खासै वास्ता गरेको पाइँदैन। तर, प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका दिनेश अधिकारी चरीको मृत्युसँगै ‘मिस टिन’मार्फत सुन्दरीको पहिचान बनाइसकेकी खुश्बु ओली भने बडो चर्चामा रहिन्। आखिर मिडियामा किन यति धेरै प्राथमिकता पाइन् त उनले? यो घटनाले नेपालका मिडिया के चाहँदा रहेछन् त? भनेर बुझ्ने कि मिडियाका उपभोक्ता के चाहँदा रहेछन् भनेर बुझ्ने? भन्ने प्रश्न पनि खडा गरिदिएको छ।
एकजना डन भनेर चिनिएका व्यक्तिको प्रहरीको इन्काउन्टरमा मृत्यु भन्ने समाचारसँगै एक सुन्दर युवतीले बडो निर्भीकताका साथ मिडियामा प्रतिक्रिया दिइन्, ‘ऊ मेरो कारणले मरेको हो, मसँग जोडिएका यो–यो मान्छे मिलेर उसको हत्या गरेका हुन्।’ जोसुकै भए पनि यसप्रकारको घटनामा सार्वजनिक रूपमा यसो भन्न सक्नु एउटा ठूलै दुस्साहस थियो त्यो। आपराधिक घटनामा संलग्न भएपछि मान्छे कसको कारणले कहाँ मर्छन्, मारिन्छन् त्यसको ठेक्का त्यसरी एकैजनाले लिएको त्यति पाइँदैन। तर, खुश्बु बहकिन्। चाणक्यदेखि लिएर महाभारतसम्मले भन्छ– असल मान्छेको संगत गर। तिमीलाई बिगार्ने र बनाउने कुरामा तिम्रो आफ्नोसँगै सङ्गतको महत्त्वपूर्ण भूमिका हुन्छ। खुश्बुको सङ्गत कोसँग रहेछ भनिरहनुपरेन, सङ्गत मात्र नभएर को–कोसँग कुन स्तरको सम्बन्ध थियो भनेर अभिव्यक्ति दिएकै कारण एउटा राम्रो सम्भावना बोकेकी स्मार्ट युवतीलाई मान्छेले हेर्ने दृष्टिकोण फरक बन्यो। उनी मिडियामा रातारात बिकाउ विषय बनिन्। जसले अरू जसजसलाई राम्रो गरे पनि व्यक्तिगत रूपमा उनलाई भने राम्रो गरेन।
महिला भावावेश युक्त हुन्छन् या भावावेशमा आउँछन् भन्ने धेरैको भनाइ हुने गर्छ। हुन पनि चरी मेरै कारणले मर्यो् भन्दा मर्ने व्यक्तिका परिवारले उनलाई हेर्ने दृष्टिकोण के होला भनेर उनले सोचिनन्। कुरा सही हो या होइन अनुसन्धान होला, तर उनको भनाइलाई आधार मान्ने हो भने चरीका बाबुआमा या आफन्तका लागि त एउटी केटीको सङ्गतको कारण आफ्नो छोराले ज्यान गुमायो। बडो आत्मविश्वासका साथ टेलिभिजनमा प्रस्तुत भइरहेकी खुश्बुलाई हेर्दा उनले के बोलिन् होइन उनीहरूको मनमा त यही लाग्ने छ कि यही केटीका कारण हामीले छोरो गुमायौँ। भलै वास्तविकता फरक होस्, तर उनीहरूलाई लागिरहनेछ कि यो केटीलाई नभेटेको भए दिनेश अहिले यही संसारमा हुने थियो। संवेदनशील मुद्दामा सार्वजनिक अभिव्यक्ति दिँदा कतिपटक सोच्नुपर्थ्यो भन्ने कुरा खुश्बुले ख्याल नै गरिनन्। यो घटनासँगै उनले अर्पणलाई या अर्पणले उनलाई छताछुल्ल पारेको देख्दा मान्छेले प्रेम भन्ने शब्दसँगै डराउनुपर्ने हुन्छ। मान्छे हो सम्बन्धहरू हुन्छन् बन्छन् बिग्रिन्छन् त्यति ठूलो कुरा होइन। सम्बन्धहरू सधैँ एकनाश हुने भए यत्तिका साहित्य सिर्जना हुने थिएनन्, सिनेमा बन्ने थिएनन् न त कानुनमा सम्बन्धविच्छेद भन्ने कुराले नै ठाउँ पाउने थियो। कसैसँगको सम्बन्ध बिग्रिएपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेचाहिँ व्यक्तिको सोचको स्तरमा भर पर्ने कुरा हो। कसैले त्यही कुरालाई सडकमा ल्याउँछन् कसैले चुपचाप मनको एउटा कुनामा थन्क्याउँछन्।
यता खुश्बुले एक इन्स्पेक्टरको नाम लिँदै सुरुमै भनेकी थिइन्, ऊ मसँग नजिक हुन चाहन्थ्यो, आई लभ यू भन्न मात्रै बाँकी थियो। फोन गरिरहन्थ्यो। पुलिस हो, उनीमार्फत आपराधिक दुनियाँको अनुसन्धान पो गरिरहेको छ कि भनेर उनले कहिल्यै सोचिनन्। केटाहरूले ‘तिमीजस्तो राम्रो मान्छे त मैले अहिलेसम्म देखेकै छैन’ भनेर प्रशंसा गरिदिएपछि केटीहरू दङ्ग, यो खुश्बुको मात्र होइन, धेरैसँग लागू हुने कुरा हो। उसले किन यसो भनिरहेको छ? भनेर अन्य अवधारणाबाट केटीहरूले हेर्दैनन्, हेर्नै खोज्दैनन्। त्यसैले अनुसन्धानमा ड्युटी निभाइरहेका ती इन्स्पेक्टरले आई लभ यू भन्नै आफ्नोपछि लागे भन्ने भ्रम पनि खुश्बुमा देखिन्छ। जहाँसम्म किन मिडियाले खुश्बुलाई यति धेरै महत्त्व दियो, अरू महिलाका मुद्दालाई किन दिएन? भन्ने प्रश्न छ, यसमा धेरै खोजी गरिरहनुपर्दैन। अपराध र यौन मिडियाका लागि विश्वमा सबैभन्दा बढी बिकाउ विषय हो। खुश्बु यी दुवै कुरासँग जोडिएका कारणले बिकाउ विषय बनेकी हुन्। मिडिया उपभोक्ताले उनका कुराबाट मनोरञ्जन त लिइरहेका छन्, तर उनी आफैँलाई भने यसको प्रभाव के हुन्छ भनेर खासै हेक्का भएको देखिँदैन।
Post a Comment