मोटर साइकलमा धादिङतर्पm जाँदै गरेका चरीको पिछा गर्दै प्रहरी गएको र भीमढुंगा ६ स्थित काठमाडौं र धादिङको सीमानामा पुग्दा चरीले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा मारिएको दाबी प्रहरीले गरेको छ ।सीतापाइला क्षेत्रमा ‘चरी’ र उनको समूह हतियारसहित रहेको भन्ने सूचनाको आधारमा पाँच दिनदेखि प्रहरीले खोजी गरिरहेको र पिछा गर्दै जाँदा मुठभेड भएको पनि प्रहरीले दाबी गरेको छ । ‘चरी’को शरीरमा छ सात वटा गोली लागेको छ ।
अपरान्ह घटना भएपछि काठमाडौं प्रहरी र अपराध अनुसन्धान महाशाखाको उच्च प्रहरी नेतृत्व घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो । चरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
चरीको साथबाट प्रहरीले एउटा पेस्तोल र गोलीको खोका बरामद गरेको छ । यता, त्रिवि शिक्षण अस्पतालमा भने चरीका समर्थक र आफन्तहरुले प्रहरीले पक्रेर हत्या गरेको दाबी गर्दै नाराबाजी गरेका थिए ।
अस्पताल बाहिर घेरा हाली नाराबाजी गरिरहेका समर्थकहरुलाई हटाउन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रहरीको लाठीचार्जपछि अन्धाधुन्ध तोडफोडमा उत्रिएको समूहलाई प्रहरीले पक्राउ गरेको छ । चरी धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका उपाध्यक्ष समेत हुन् ।

Post a Comment