‘वाह युरोप ! झिलिमिली ! एक सय युरो कमाएपनि तेह्र चौध हजार । एक हजार युरो त चुथ्थो भैगो, कमाइहालिन्छ । एक हजार युरो भएसि त एक लाख ३० हजार । पाँच वर्ष बस्न पाए त ७८ लाख भैगो । अलि बढि खटिन सकिन्छ । त्यसको छुट्टै कमाई । त्यति पैसा भए घर घडेरी जोडम्ला । युरोपमा काम सजिलो हुन्छ । हल्का काम गर्यो, घुम्यो, मस्ति गर्यो । आ यस्तो देशमा के बस्ने ?’ यस्तो सोचेर युरोप आ उने सुरमा हुनुहुन्छ ? ईजरायलको काम छोडेर ? फस्नुहुन्छ सिधै उसो भए । दश पटक सोच्नुस् । नत्र गर्ल्याम्मै खाडलमा भासिनुहुन्छ । यहाँ आएर धेरै नेपाली त्यैगरि भासिएका छन् ।
ईजरायलमा बस्ने अधिकांश नेपालीको काम बुढाबुढी स्याहार्ने हो । केयर टेकर भन्छन् त्यो कामलाई । प्राय बुढाबुढीसितै बस्नु पर्छ । अर्थात् त्यहि घरमा । जतिखेरपनि चनाखो भएर बस्नुपर्छ । प्रहरी सेवा जस्तो । बुढाबुढीले बोलाउनासाथ, सहयोग माग्नासाथ उठेर सेवा गर्नुपर्छ । बुढीबुढी किच किच गर्छन् । करकर कराउँछन्, सुन्नुपर्छ । अर्काको सेवा गर्नुपर्यो । आफ्ना बाउ आमा हेर्न सम्म पाइन्न । आर्काका बाउ आमा, बिदेशीको सेवा गर्नुपर्ने ! भावनालेपनि धेरैलाई गाह्रो पार्ने गर्छ । फेरि ईजरायलीहरु यसैपनि कडा र बढि किचकिचे हुन्छन् । यस्तो सहनु भन्दा युरोप जस्तो स्वर्गमा जाउँ भन्ने सोच्छन् ।
इजरायलमा भिसा मिलाउने एजेन्सीमा जान्छन् । छ देखि आठ हजार डलरसम्म तिरेर एक महिनाको टुरिस्ट भिसा मगाउँछन् । एजेन्सीले सात आठ हजार डलर लिएर भिसा मिलाइदिन्छ । विमानस्थल ओर्लिने क्षणबाटै शुरु हुन्छन् दुखका दिन ।
बेल्जियम झन यस्तो देश हो जहाँको सुरक्षा ब्यवस्था कडा छ । प्रवाशी चापले प्रशासन थाकेको छ । आर्थिक मन्दीले यसैपनि आफ्ना नागरिकलाई दिएकै सेवा र सुबिधा काटौती गरिरहेका बेला प्रवाशीहरुको थप चाप धान्न सक्ने अवस्थामा छैन बेल्जियमको सरकार । त्यसैले आप्रवासीहरुलाई कडा गरिरहेको छ । बैधनिक इज्जाजत बिना काम लगाउन सक्ने आशंका गरेका संभावित ठाउँमा निगरानी बढाएको छ । अकस्मात छापा हानेर त्यस्ता ठाउँबाट पक्राउ गर्यो, सिधै विमानमा लग्यो, नेपाल फिर्ता गरिदियो । त्यसरि काम गर्ने र काम लगाउने दुबैलाई कारवाही गरिरहेको छ ।
बेल्जियममा बस्ने बैधानिकता नभएसम्म काम पाउन गाह्रो छ । गैह्र कानुनी बसाई भएका नेपालीलाई काम यहाँका नागरिकले हत्त पत्त दिँदैनन् । काम दिने भारतीय, पाकिस्तानीहरुले हो । भारतीयहरुको घरमा काम गर्ने भनेको सरसफाईको हो । कि त तिनका बालबच्चा हेर्ने । बालबच्चा हेर्ने भनेर राखेपनि घरको सबै काममा जोताउँछन् । भारतीयहरुले १६ घण्टा कम लगाएर सस्तोमा टार्छन् । दिनभरि ज्यान फालेर काम गर्यो दिने हजार युरोको हाराहारीमा हो । यहि काम पाउनपनि निक्कै गाह्रो छ । किनभने यस्तो काम खोज्नेको ताँती लागेको हुन्छ ।
अझ कतिपय भारतीय पाकिस्तानीले त जबर्जस्ति यौन इच्क्षा पुरा गर्न खोज्छन् । अत्याचार गरेपनि यसको जाने ठाउँ कहिँ छैन, प्रहरीकोमा जान सक्दिन भनेर झन हेप्छन् । छिन छिनको आदेश र कठिन काम भन्दा तिनले बोल्ने दुर्बाच्यले मर्माहत बनाउँछ ।
बस्ने ठाउँले उस्तै समस्यामा पार्छ । आफूसित बैधानिकता नभएपछि कहाँ बस्ने ? कोठा कसरि लिने ? कोठा भाडामा पाउन सकिन्न । यहाँका स्थानियहरुले बैधानिकता नहुनेलाई कोठा दिन खोज्दैनन् । एक त प्रहरीले पत्ता लगायो भने कारवाही गर्छ, जरिवाना लगाउँछ, कोठा दिनेलाई । अर्को कुरा आफ्नो कोठामा कुनै दूर्घटना भयो भने जाँचका लागि आउँदा समस्या पर्छ । कोठाको धारा, बिद्दुत र ग्याँसको चुलो, चर्पी र बाथरुम, भित्ता बिगारेर हिँडिदियो, आज दिउँला भोली दिउँला भनेर केहि समयको भाडा नतिरि हिँडिदियो, कुनै गैह्र कानुनी काम गरेर भागिदियो भने कहाँ जाने उसलाई समाउन ? केका आधरमा समाउने ? त्यसैले भारतीय, पाकिस्तानी, नेपालीका घर खोज्नुपर्छ । यस्ता घर भन्दा माग्नेको संख्या बढि हुनाले पाउनै गाह्रो हुन्छ । त्यहि खोज्नपनि नता गाँस्नु र सोर्सफोर्स लगाउन सक्नु अर्को सिपको विषय हो । त्यस्ता घर पाइहालेमापनि तिनले चर्को भाडा लिन खोज्छन् । राम्रोसित मर्मत नगरिकनै दिन्छन् । धारा पानी, बिजुली बिग्रिँदापनि मर्मत नगरिदिने धेरै हुन्छन् । कुनैपनि बेला आएर ‘ल भोलीनै सामक पोका पारेर जाउ, मेरो कोठा छोड’ भनिदिन्छन् । त्यस्तो बेला सामानका गुण्डा कसेर जाने कहाँ ?
कतै घुम्न जान मन लाग्छ । सबैले घुम्छन्, बिभिन्न कार्यक्रममा जान्छन् । नाचगान, रमाईलो गर्न कसलाई मन लाग्दैन ? तर आफ्नै कोठामा पस्नेबेलापानि न प्रहरीले पिछ्याउँदै आएको पो छ कि भनेर पछाडी फर्केर हेर्दै ढोका खोल्नुपर्छ । छिमेकीले कुनै कामले ढोका ढक ढक पारेपनि मन तर्सिन्छ । शरिर झसङ्ग हुन्छ ‘कतै प्रहरी पो आयो कि पक्रन’ भनेर । कुनैपनि बेला प्रहरीको भ्यानलेझ्यालटुङ पार्दै विमानस्थलमा पुर्याएर विमानमा खाँद्छ कि भन्ने त्रास भैरहेको हुन्छ ।बस चढ्न गयो, रेलको टिकटका लागि लाइनमा बस्यो ट्राफिक प्रहरी देख्दापनि अध्यागमन प्रहरी हो कि, पक्रन्छ कि भनेर तर्सिनुपर्छ । बाटोमा प्रहरीको गाडी आफ्नै कामले साईरन बजाएर दगुर्दापनि ‘मलाईनै समात्न आएको पो हो की’ भनेर बाटो छोडेर तर्किनुपर्छ । छेउकुना लागेर आँखाले नदेख्ने भएपछि बल्ल मन ढुक्क हुन्छ ।
अबैधानिक भएर बस्नुको सास्ति कहिसाध्य छैन । पुरुषहरु त यो सास्ति खप्न नसकेर धेरै पटक रुन्छन् । तडपिन्छन् । महिलाहरुलाई झन गार्हो हुन्छ । आफ्नै नेपाली दाजुभाई दिदी बहिनी भनेर के गर्नु ? बैधानिक कागज हुनेले नहुनेलाई हेप्छन् । नजिक हुँदा कर्कलाको पानी तर्केझैं तर्केर बस्छन् । त्यसको पीडा सधैं बसेको मान्छे तर्केर पाखा लागेको अनुभव गर्नेलाई हुन्छ।
त्यति दुख गरेर काम गर्यो, कमाएको पैसा लुकाउनपनि सजिलो हुन्न । कहिलेकाहिँ काम गरेकै पैसा दिँदैनन् । सहेरै बस्नुको अर्को बिकल्प हुन्न । कमाएको पैसो पठाउन जाँदा आफू बसेको देशको बैधानिक कागज खोज्छ । त्यहि पैसा पठाउनपनि अरुसित हात जोड्नुपर्छ ‘लौ न यति पैसा पठाइदेउ मेरा आफन्तलाई’ भन्दै । सामान किन्न जाऊँ, कतै पार्कतिर सुस्ताउन हिँड जहिलेपनि पक्राउ परेर तत्काल फिर्ता पठाइन्छु कि भन्ने त्रासै त्रास हुन्छ । उता सात आठ हजार तिरेर आएको रकम उठाउन पनि त समय लाग्छ । त्यत्ति रकम नउठ्दै नेपाल फिर्ता हुनु परे सबै जान्छ ।
कम्सेकम ईजरायलमा निर्धक्कले बस्न त पाइन्छ । समयमा तलब पाइन्छ । पक्राउ पर्ने त्रास हुन्न । काम गरे अनुसार दाम नपाए उजुरी गर्ने ठाउँ छ । अन्याय गरे कानुन लाग्छ, किनकि बैधानिक कागजमा बस्नाले यो सबै अधिकार पाउँछ । कोठा एक्लै भाडामा लिन कमाईले भ्याउन्न । सानो कोठामा छ सात जना मिलेर बस्यो । कोहि साँझ सात बजे फर्किन्छ । कोहि राति ११ त कोहि मध्य रातमा । कोहि बिहानै छ बजे उठ्छ त कोहि ढिला सुतेकोले १० बजे । रातैभरि जस्तै आउने र जाने भैरहँदा सबैको निन्द्रा खल्बलिन्छ । शारिरिकरुपमा अस्वस्थ बनिन्छ । कुनै रोग हालिहाले अस्पत्ताल जाने आधार हुन्न । कागज नहुनेलाई युरोपका कतिपय देशमा उपचारको ब्यवस्था हुन्न । अस्वस्थ्य हुनुकै कारणलेनै अस्पत्तालले आफ्नो देश फिर्ता पठाइदिन सक्छ । अकालमै ज्यान जान सक्छ ।
युरोपका कतिपय देशमा कागज त बन्ला ? त्यसको लागि दुई तिन वर्ष कम्तिमा पर्खनुपर्छ । स्पेन, ईटाली, पोर्चुगलमा कागजी प्रक्रिया मिलाउन चार पाँच हजार युरो खर्च हुन्छ । काम पाउन बडेमाको ढुंगो चपाएर निल्नुजत्तिकै मुश्किल छ । काम पाइहालेपनि क्रिषीमा काम गर्नुपर्छ पोर्चुगलमा । क्रिषीमा दिनभरि कुल्ली काम गर्दा, घाममा डढेर खटिँदा कमाउने चार सय युरो जति हो । त्यसले खान बस्न मुस्किलले धान्छ । स्पेन र इटालीमा त झन कोठा भाडा महँगो पर्छ । काम पाउन असाध्यै मुस्किल छ । त्यता कागजका लागि बसेका नेपालीले नेपालबाट पैसा मगाएर खाने बस्ने गर्छन् । काम पाउने थोरै हुन्छन् ।
कागजी प्रक्रिया मिलाउँदापनि कामको सम्पर्क वा मन्जुरी दिने संस्था, कंपनीसित त्यहि मिलाइदिए बापत दलालले कमिशन खान्छ । त्यहि कंपनीको कागजपनि दलालले कहिलेकाहिँ नक्काली बनाईदिन्छ र अर्को चारपाँच वर्ष बेक्कारमै बित्छ । यहि कागज कुर्दाकुर्दी कति नेपाली आठ दश वर्ष भौंतारिन्छन् । कोहि १४, १५ वर्षसम्मपनि बिना कागज मानसिक पीडा भोगेर बस्छन् । उता परिवार टाढिन्छन् कमाएर पठाउन नसक्दा, ब्याजमा लिएको ऋणको झन ब्याज बढ्दै जान्छ । यस्तो समस्याले धेरै नेपाली मानसिक रुपले पिडित हुन्छन् । यता आएपछि उता त्यस्तरि ढुक्कले बस्न पाइन्थ्यो किन आएछु यस्तोमा फन भन्ने थक्क थक्क त लाग्छ तर ढिलो भैसकेपछि के गर्ने ? त्यसैले ईजरायलबाट युरोप आउनु अघि एक पटक सोच्ने हो कि ?
कृपया यो सबैले शेर गरि सबैलाई जानकारी गराउनु होला धन्यवाद
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment