बबरमहल दुर्घटनाका चालकको बयान
काठमाडौं : अरू दिनझैं धुलिखेलबाट साँझ गाडी लिएर काठमाडौंतिर हुइँकिएँ। गाडीमा १६ जना यात्रु थिए। भक्तपुरको ६ लेन सडकसम्म आइपुग्दा गाडी राम्रैसँग कुदिरहेको थियो। बानेश्वर कटेपछि सडक अलि ओरालो र गाडी पनि कमै गुडेका थिए। सिमसिम पानी परेको थियो। गाडी कति गतिमा हाँकेको थिएँ थाहै थिएन।बबरमहल पुगेपछि गाडीलाई ओभरटेक गर्दा सिमेन्टको स्ल्याब देखेर झ्याप्प ब्रेक लगाएँ। गाडी पल्टियो। म पनि गाडीसँगै लडेँ। यात्रुहरू चिच्याएको याद छ। लौ अब मलाई मार्ने भएँ भनेर ज्यान जोगाउन गाडीबाट बाहिर निस्केर दौडिँदै पुतलीसडकतिर लागे। बौद्धमा आफन्तको घर थियो। पुतलीसडकबाट माइक्रोबस चढेर त्यहाँ पुगें।
हस्याङफस्याङ गर्दै पुगेपछि के भयो किन डराएको भनेर आफन्तले सोधे। के जबाफ दिने भन्ने भयो। एकैछिनमा थाहा पाइहाल्छन् भनेर सबै घटना सुनाएँ। किन यहाँ आएको पुलिसकोमा जाऊ भने। भोलि जान्छु भनेपछि बास दिए। भोलिपल्ट बस समितिबाट फोन आयो। तिमी पुलिसको शरणमा जाऊ भने। आउँदै गर्दा सिंहदरबार प्रहरीले नियन्त्रणमा लियो।
चालकले गल्ती गर्दा पनि समितिले ढाकछोप गरेर कारबाहीबाट जोगाउनु नै सबैभन्दा ठूलो भूल हो।
मैले गाडी हाँक्न थालेको १२ वर्ष भयो। धुलिखेल-काठमाडौं रुटमा मात्रै १० वर्ष भयो गाडी चलाएको। मेरो जीवनमा अहिलेसम्म यस्तो ठूलो विपत्ति आइलागेको थिएन। सोमबार बबरमहलमा अचानक झ्याप्प ब्रेक लगाउनु नै मेरो ठूलो गल्ती भयो। ब्रेक नलगाएको भए केही हुने थिएन सायद।
तीव्रगतिको गाडी सिमेन्टको स्ल्याबमा ठोक्किँदा थर्किएर बिग्रने भएकाले ब्रेक लगाएँ तर भयो सोच्दैनसोचेको घटना। यी हेर्नोस् म पनि घाइते भएको छु (आँखाको डिल र खुट्टा देखाउँदै)। दुर्घटना भएको भोलिपल्ट मात्रै तीनजनाले ज्यान गुमाएको थाहा पाएँ। तीनजना मरेको थाहा पाएपछि मैले आफ्ना छोराछोरी र परिवारलाई सम्झें। अब प्रहरीले समातेर मलाई कारबाही गर्छ भनेर पनि डर लाग्यो।
हामी चालकहरूमा कहिलेकाहीं अलि बढी आत्मविश्वास हुने हुँदा गल्ती हुँदो रहेछ। बस समिति र ट्राफिक प्रहरीले बेलाबेलामा गाडी तीव्र गतिमा नहाँक्नु, लापरबाही नचलाउनु भनेर निर्देशन नदिएका होइनन् तर घटना हुन लेखेको रहेछ। म मृतकका आफन्तसँग माफी माग्छु। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। कानुनले जुन हदसम्म मेरो गल्ती देखाउँछ, त्यसअनुसार कारबाही भोग्न म तयार छु।

Post a Comment