news and more entertainment

भारतीय युवतीसँग नेपाली पासपोर्ट

 १८ फागुन । काठमाडौ । नेपाली पासपोर्टमा विदेश पुगेका तीन भारतीय युवती पक्राउ परेका छन् । वैदेशिक रोजगारका लागि कुवेत पुगेका उनीहरूलाई अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

नेपाली युवतीको पासपोर्टमा आफ्नो फोटो टाँसेर कुवेत पुगेका युवतीमा फिफरानी सुब्बा, तुलसी सुनार र अर्की एक युवती छन् । विदेशबाट फर्कंदा उनीहरू अध्यागमनको फन्दामा परेका हुन् ।


मानव तस्करीमा संलग्न गिरोहले उनीहरूलाई नेपाली युवतीको पासपोर्टमा विदेश पठाएको अध्यागमन कार्यालयले जनाएको छ । सविता थारू नामक महिलाको पासपोर्टमा आफ्नो फोटो राखेर तुलसी सुनार विदेश गएकी थिइन् । त्यस्तै, फिफरानी सुब्बाले रामकुमार गुरुङको पासपोर्ट प्रयोग गरेकी थिइन् । अध्यागमन विभागले उनीहरूलाई थुनामा राखी कारबाही चलाएको छ ।


भारतीय मात्र नभई बंगलादेशीले समेत नेपाली पासपोर्ट प्रयोग गर्दै आएको अध्यागमनका कर्मचारी बताउँछन् । यस्तो धन्दामा कतिपय मेनपावर व्यवसायी नै सक्रिय हुने गरेका छन् । भारतीयसँगै बंगलादेशी पनि नेपाली पासपोर्टमा आफ्नो फोटो टाँसेर विदेश जाँदा पक्राउ पर्ने गरेका छन् । हस्तलिखित पासपोर्ट भएकाले गिरोहले चलाखीपूर्वक थाहा नहुने गरी फोटो परिवर्तन गरी एउटाको पासपोर्टमा अर्कै महिलालाई पठाउने गरेका छन् ।


अर्काको पासपोर्टमा उड्ने नेपाली पनि प्रशस्तै छन् । हाल अध्यागमन विभागको हिरासतमा आठजना महिला अर्काको पासपोर्ट प्रयोग गरेको आरोपमा थुनामा छन् । विभागका अनुसार सुनिता तामाङ, तेन्जिङ लामा, दिलमाया खाम्बा मगर, कान्छी दर्जी, पम्फा विक, लक्ष्मी लिम्बू, मेनुका लिम्बू हाल थुनामा छन् । उनीहरूविरुद्ध अध्यागमन ऐनअनुसार मुद्दा दायर गरिएको छ ।


एक वर्षमा एक हजार तीन सय अर्काको पासपोर्ट प्रयोग गरी विदेश गएका पक्राउ परेको विभागका महानिर्देशक सहसचिव शरदचन्द्र पौडेलले बताए । त्यसमा धेरै महिला छन् । वैदेशिक रोजगारीका लागि खाडी जानेहरूले यसरी अर्काको पासपोर्ट प्रयोग गर्ने गरेका हुन् ।


सन् २०१३ मा मात्र एक हजार तीन सय पक्राउ परेको र त्यसरी अर्काको पासपोर्ट प्रयोग गर्ने कतिपय भारतको बाटो हुँदै खाडी देशबाट फर्कने गरेका छन् । हरेक साता अर्काको पासपोर्ट प्रयोग गर्नेहरू पक्राउ परे पनि त्यस्तो धन्दामा सक्रिय गिरोह भने पक्राउ पर्न सकेको छैन भनेर नयाँ पत्रिकाले लेखेको छ।


विस्तृत रूपमा अनुसन्धान हुन नसक्दा अर्का व्यक्तिको पासपोर्ट प्रयोग गरेर विदेश पठाउनेले सधैँ उन्मुक्ति पाउने गरेका छन् । अध्यागमनले सम्बन्धित व्यक्तिसँगको बयानमा विभिन्न व्यक्तिको नाम खुलाई थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्दै आएको छ । तर, प्रहरीले अनुसन्धान नगरेको अध्यागमनका कर्मचारीको भनाइ छ ।

अर्काको पासपोर्ट प्रयोग गर्ने व्यक्तिले पनि आफूलाई गलत तरिकाबाट विदेश पठाउनेलाई बचाउन खोज्ने गरेका छन् । यस्तो मुद्दामा कमजोर कारबाही हुने भएकाले पनि अभियुक्तहरू सजिलै छुट्ने र कारबाही हुने थाहा हुँदैहँदै पनि यस्तो किसिमको अपराध हुने गरेका छन् । अर्काको पासपोर्ट प्रयोग गर्नेहरू एक–दुई हजार जरिवानामा नै छुट्ने गरेका छन् । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget