news and more entertainment

'डन चरी' को हत्या प्रकरण झनै रहस्यमय बन्दै

*सरसर्ती हेर्दा रगतका टाटा देखिँदैनन् । अलिकती गहिरिएर हेर्दा थोरै रगत देखिन्छ । रगत लागेका दुई टुक्रा कपास अझैं घटनास्थलमैं छन् ।

*घटनास्थलमा भेटिएका आफूलाई चरीनिकटका बताउने दुई व्यक्ति भन्दै थिए, उनलाई बुधबार बिहान ९ बजे नै कलंकीबाट पक्राउ गरिएको हो ।

*घटनास्थलबाट फर्केपछि मलाई पनि दोहोरो गोलीहानाहान भएको प्रहरी दावी सत्य लागिरहेको छैन । त्यतिमात्रै होइन, ठूलोधारामैं मारिएका हुन् भन्ने कुरामा पनि कता–कता शंका लागेको छ ।


–लोकेन्द्र ओली
काठमाडौं, २२ साउन । सितापाइला रिङरोडबाट सीधा पश्चिम पर्छ, भीमढुंगा गाविस–६ को भन्ज्याङ ठूलोधारा भन्ने स्थान । यो त्यही स्थान हो, जहाँ प्रहरीको भनाईअनुसार बुधबार बेलुका ५ बजे दोहोरो फायरिङमा दिनेश अधिकारी ‘चरी’ मारिएका हुन् ।

सो स्थान पुग्न रामकोटा गाविस हुँदै जानुपर्छ । रिङरोडबाट झण्डै ७, ८ किलोमिटरको दूरीमा छ, घटनास्थल । घटनास्थल पुग्न बाटो कालोपत्रे छ तर खाल्डाखुल्डीले यात्रा निकै कष्टकर हुन्छ । सार्वजनिक बसमा सवार हुने यात्री भीमढुंगा–४ मा रहेको बसपार्कमा पुगेपछि यात्रा टुंगिन्छ तर अरु गाडी चल्छन् एकदमै कठीन तरिकाले । बसपार्क नजिकै छ, स्थानीय प्रहरी चौकी । चौकीबाट १५ मिनेट पैदल हिँडेर पुगिन्छ, घटनास्थल । साँघुरो र खाल्डा भएको एकतर्फी मोटर गुड्ने बाटोमा जताततै कालोपत्रे उप्किएको देखिन्छ । उकालो बाटो घुम्तीमोड सकिएपछि ठूलोधाराको (स्थानीयवासीको भनाइमा पहिले खानेपानीको ठूलोधारा थियो) बायाँपट्टी चरी मारिएको स्थान छ ।

के भन्छन् चरी निकटका मान्छेहरू ?


घटनास्थलमा भेटिएका रामकोट गाविस घर बताउने तर आफ्नो नाम बताउन नचाहने दुई व्यक्ति आफूलाई चरीका निकटतम् बताउँछन् । उनीहरू भन्छन्, ‘चरी एक्लै कहिल्यै हिँड्दैनथे, उनका साथमा ५, ६ जना सहयोगी युवा हुन्थे र यो बाटो पनि कहिल्यै हिँड्दैनथे ।’ उनीहरू लगभग ठोकुवा नै गर्छन्, हिजो पनि चरी एक्लै यो बाटो आएका थिएनन् । उनीहरूले यतिसम्म भने, ‘उनलाई बुधबार विहान ९ बजे नै सादा पोसाकका प्रहरीले कलंकीबाट पक्राउ गरेका हुन् । पक्राउ गरेपछि दिनभरि प्रहरीले कहाँ कहाँ लगे र के गरे ? बेलुका एकै पटक रेडियोबाट भिडन्तमा मारिएको खबर सुनियो । हामी चकित परेका छौं ।’

उनीहरूले औंलाको इशारा गर्दै भने, ‘फेरि घटनास्थलमा रगतको एक थोपा पनि देखिन्न । गोली लागेर ठाउँका ठाउँ मारिने मान्छेको रगत चुहिँदैन ? ल हेर्नुस कतै पनि रगत छैन् ? एउटा जीवित मान्छेको शरीरमा पाँच लिटर रगत हुन्छ भनिन्छ । यही स्थानमा चरी मारिएका हुन् भने कहाँ गयो चरीको रगत ? यस्ता धेरै कारणले हामीलाई गम्भीर बनाएको छ । विश्वास गर्ने ठाउँ नै छैन् । मारिएको स्थान मरुभूमिजस्तो छ ।’

प्रत्यक्षदर्शी र स्थानीयवासीको भनाई 


‘म सधैँझैं आफ्नै काम थिएँ । यो गाडी गुडिरहने बाटो हो, अनेक किसिमका मान्छे हिँड्छन् । घडीमा ५ बजेको थियो, एकै पटक गोलीको आवाज सुनियो । के भएछ भनि झस्किएँ । लगभग तीन मिनेट लगातार गोलीको चलिरह्यो । आवाज भने एकैखाले सुनिएको थियो । त्यो तीन मिनेट गोली चल्ने हतियार एउटै हुनुपर्छ । आवाजले त्यही संकेत गथ्र्याे ।’

लुईंटेल थरका एक स्थानीय वासिन्दाले घटनाको विवरण यसरी सुनाए, 


‘गोली रोकिएलगत्तै प्रहरीले सो स्थानमा कसैलाई जान दिएन । त्यही बेला एकजना स्थानीय स्वास्थ्यकर्मी आउँदै थिए । ती स्वास्थ्यकर्मीले चार जनाले घेरा हालेको र एकजना ढलेको मान्छे देखे । उनले नजिकै एउटा सेतो प्लेटको जिप पनि उभिएको देखे । प्रहरीले ती व्यक्तिलाई जताबाट आएको हो उतै फर्किन निर्देशन दियो, ती व्यक्ति तत्काल उतै फर्किए । पछि सञ्चारमाध्यमबाट थाहा भयो, चरी मारिएका रहेछन् ।’

घटनास्थलबाट उत्तर–पश्चिमपट्टी एक महिला घरमा चिया पिउँदै थिइन् । उनले यस सम्वाददातासँग यस्तो भनिन्, ‘जोडसँग घर नजिकै आवाज सुनेपछि सुरूमा गाडीको टायर पड्किएको अनुमान गरेँ । आवाज ठम्याउन सकिनँ । त्यसपछि घटनास्थल जान थालेकी थिएँ तर जान दिइएन् । आफ्नो घर नजिकै घटना हुँदा पनि हामीले के भएको हो थाहा पाउन सकेनौं । ती मान्छेले तपाईँहरूलाई एक छिन यहाँ आउन दिँदैनौं भने । नयाँ मान्छे थिए पछि थाहा भयो, उनीहरू प्रहरी रहेछन् । हामीले पनि सञ्चारमाध्यमबाट चरी मारिएको खबर सुन्यौं ।’

यस्तो छ घटनास्थल 


घटनास्थल वरपर झण्डै पाँच सय मिटरको दूरीमा कुनै घर छैन । सुनसान र एकान्त छ, घटनास्थल । पहाडी इलाका । त्यो बाटोबाट धादिङको छत्रेदेउराली गाविसको खत्री गाउँ पुगिन्छ, जुन झण्डै चार किलामिटर दूरीमा पर्छ । बाटोको बायाँ किनारमा जहाँ चरीलाई गोली हानिएको छ, त्यहाँ अन्य स्थानको तुलनामा झारपात कम छ । रगत लागेका दुई टुक्रा कपास अहिले पनि त्यहीँ छन् । झ्वाट्ट देख्न नसकिने रगतका टाटाहरू छन् । त्यहाँ दुई थान गोली लागेर मान्छे मरेको जस्तो रगत देखिन्न ।

चिकित्सा विज्ञानका अनुसार एक स्वस्थ मान्छेमा पाँच लिटर रगत हुन्छ । तर, घटनास्थलमा एक सय मिलिलिटर जति पनि रगत बगेको देखिन्न । साउन त्यसै वर्षातको समय हो, घटनास्थल थोरै ओरालो स्थानमा छ । पानीले बगायो भन्ने हो भने स्थानीयवासीका अनुसार घटना भएपछि यो सम्वाददाता त्यहाँ पुगुञ्जेल एक थोपा पनि पानी परेको छैन् ।

के लाग्यो यो सम्वाददातालाई ?


घटनास्थलबाट फर्कंदै गर्दा मेरो मस्तिस्कमा अनेक कुरा खेलिरहे । प्रहरीले दोहोरो फायरिङमा चरी मरेको बताएको छ । तर, घटनास्थल हेर्दा दोहोरो गोली हानाहान भएको जस्तो लाग्दैन । चरी त्यहीँ मारिएका हुन् भन्ने कुरामा पनि सजिलै विश्वास गर्न सकिन्न किनभने घटनास्थलमा रगत प्रष्ट देखिन्न । स्थानीयवासीका अनुसार आज मैले जस्तो देखेँ हिजो उनीहरूले पनि त्यस्तै देखेका थिए ।

अर्को कुरा, घटनास्थलमा रगत लागेका दुई टुक्रा कपास अहिले पनि छन् । चरीले आफ्नो घाउ पुछेर फालेका हुन् भनौं भने त्यस्तो अवस्थामा उनले कपास झिक्न र पुछ्न कसरी भ्याए भन्ने प्रश्न उठ्यो मेरो मनमा । होइन, प्रहरीले शव उठाएपछि हातमा लागेको रगत पुछेका हुन् भने हात पुछेको जस्तो कपास पनि देखिन्न ।

भीमढुंगा–४ मा रहेको बसपार्कबाट घटनास्थल डेढ किलोमिटर जति पर्छ र बाटोको हालत गएगुज्रेको छ । साह्रै गाह्रो तरिकाले चारपांग्रे गुड्ने सडक छ ।  मेरो मनमा अर्को प्रश्न उठिरहेको छ, पल्सर बाइकमा भागिरहेका चरीलाई जीपमा पछयाइरहेको प्रहरीले कसरी भेट्टाउन सकेको होला त्यस्तो बाटोमा ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget