news and more entertainment

'चरी' को मृत्‍युले लियो राजनीतिक रुप कांग्रेस र एमालेबीच भिडन्त...

एमालेद्धारा संसदीय छानबिनको माग


काठमाडौं : कुख्यात 'गुन्डा नाइके' दिनेश अधिकारी 'चरी' को मृत्यु भिडन्तमा भएको दाबी प्रहरीले गरेको भोलिपल्टै उक्त घटनाले राजनीतिक भुइँचालो ल्याएको छ।



प्रमुख सत्ता साझेदार एमालेले व्यवस्थापिका संसद्भित्र र बाहिर भिडन्तमा नभएर पक्राउ गरी चरीलाई निर्ममताका साथ मारिएको र त्यसमा संसदीय समितिद्वारा छानबिन हुनुपर्ने माग राखेपछि घटनाक्रमले कांग्रेस र एमालेबीच तनाव बढ्ने संकेत दिएको छ। संसद्मा सभामुख सुवास नेम्बाङले शुक्रबारै यो घटनाबारे जानकारी दिन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका छन्।

सत्ताको नेतृत्व गरेको कांग्रेसले संसद्मा पूर्ण तटस्थता अपनाए पनि एमालेको बढ्दो दबाब र संसदीय छानबिनको मागप्रति उसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने हुन्छ। कांग्रेसले एसएसपी पुष्कर कार्कीसहितका प्रहरीलाई निलम्बन गर्नुपर्ने एमालेको माग अनुमोदन गर्ने वा सदनभित्र फरक अडान लिने भन्ने निर्णय गर्न बाँकी छ। यसैबीच कांग्रेस नेता शेखर कोइरालाले यस्तो घुर्की लगाउनुको साटो एमाले प्रतिपक्षमा बस्नु राम्रो हुने बताएका छन्।

एमाले धादिङका नेता र कार्यकर्तालाई पार्टी मुख्यालयमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले प्रहरीले अन्यत्रै हत्या गरेर भीमढुंगामा मुठभेडमा मारिएको नाटक गरेको आरोप लगाए। 'गोली हानेर मान्छे मार्दा रगत बग्दैन भने कस्तो मान्छे मारियो?', ओलीले भने, 'संविधान र कानुन हातमा लिएर चल्ने, नागरिक मार्दै हिँड्ने, फसाउन खोज्ने र पूर्वाग्रह राख्ने प्रहरी हामीले चाहेको हैन।'

अध्यक्ष ओली, उपाध्यक्ष रहेका गृहमन्त्री वामदेव गौतम, धादिङ एमालेका चारैजना सभासद् र धादिङको प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्य बिहीबार दिनभरि नै चरी मारिएका विषयमा केन्द्रित भएका थिए।

उपाध्यक्षमा पराजित नेता राजेन्द्र पाण्डेको नेतृत्वमा धादिङ एमालेका सभासद् गंगालाल तुलाधर, गुरु बुर्लाकोटी र धनबहादुर घले, अर्का केन्द्रीय सदस्य खेम लोहनी, धादिङका पार्टी अध्यक्ष भूमि त्रिपाठी, चरीका दाजु ध्रुव अधिकारीसहित १५-२० जनाको टोली बुधबार बिहान मन्त्रीनिवास पुल्चोक पुगेको थियो। उनीहरू गृहमन्त्री गौतमसँग छलफल गरिरहँदा बाहिर कार्यकर्ताले धर्ना दिएका थिए।

छलफलमा सहभागी तुलाधरका अनुसार पाण्डेले चरीलाई अन्यत्रै हत्या गरेर भीमढुंगामा फालिएको बताएका थिए। हत्याको आदेश दिने र संलग्न हुनेलाई तत्काल निलम्बन गरी छानबिन अघि बढाउन पाण्डेले माग गरेका थिए। त्यसपछि गृहमन्त्री गौतमले भनेका थिए, 'म अनुसन्धान गर्छु। दोषी उम्कन पाउनेछैन'

चरी हत्या प्रकरणमा ओली कडा रूपमा पेस भएपछि गृहमन्त्री गौतम भने अप्ठेरोमा परेका छन्। घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्दा प्रहरी संगठनसँगको सम्बन्ध बिग्रने भएकाले गौतम अप्ठेरोमा परेका हुन्। छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, 'अध्यक्षले एसएसपी कार्कीसहित तीनचारजना प्रहरीलाई निलम्बन गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ तर गौतम त्यसो गर्न सक्नुहुन्न। त्यसैले उहाँ अप्ठेरोमा पर्नुहुन्छ।' यसले गर्दा ओली-गौतम गठबन्धन नै संकटमा पर्नसक्ने पनि ती नेताले बताए।

ओली प्रहरीप्रति निकै आक्रामक रूपमा पेस भएका छन्। ओलीले विगतमा आफूसँगै धादिङ गएर फर्कंदा चरीमाथि गोली प्रहार भएको बताए। 'गोली हान्नेलाई ८० हजारमा छाडियो। उसलाई दुई लाख २५ हजारमा छाडियो। गोली हान्नेलाई एउटा, खानेलाई दुईटा मुद्दा। आग्रहपूर्ण ढंगले चलेको देखिन्छ', उनले भने।

एमाले धादिङका कार्यकर्ताले बिहीबार नै पार्टी मुख्यालय बल्खुमा धर्ना दिएका छन्। धादिङका नेता अध्यक्ष ओलीसँग बैठक गरेर बाहिर निस्कँदासम्म धर्ना जारी थियो।

संसद्को बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सभासद् पाण्डे, बुर्लाकोटी र तुलाधरले एसएसपी कार्कीलाई निलम्बन गरी अधिकारी हत्याको निष्पक्ष छानबिन गर्न माग गरे।

चरी एमाले धादिङ क्षेत्र १ का पूर्वउपाध्यक्ष थिए। त्यस क्षेत्रका सभासद् धनबहादुर घलेले गत मंसिर ४ को संविधानसभा चुनावमा आफूलाई जिताउन चरीले मुख्य भूमिका निर्वाह गरेको बताए। चरीका एकजना दाजु ध्रुव र आमामात्र नेपालमा रहेको घलेले बताए। उनका पिता र एकजना दाजु जापानमा बस्दै आएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget