news and more entertainment

चरी हत्यामा प्रहरीको विश्वास गर्न नसकिने केही तथ्यहरु

चरीका नाममा गुण्डा नाइके भनेर चिनिएका एमाले कार्यकर्ता दिनेश अधिकारीको हत्याले नेपाली राजनीति र अपराध अनुसन्धानको क्षेत्रलाई तताएको छ । तताउनु पनि स्वभाविक छ कि चरी प्रहरीका आँखामा फरार अपराधी हुन् भने उनी एक राजनीतिक कार्यकर्ता पनि हुन् ।
उनी राजनीतिक कार्यकर्ता मात्रै हुन भनेर तर्क गर्नु मूर्खता हुनेछ । उनी पहिले नेपाली मिडिया र हाम्रो समाजले भन्ने गरेका गुण्डा हुन्, अनि मात्र राजनीतिक कार्यकर्ता । उनको अपराध छिपाउन नेताहरुबाट संरक्षण हुनुपर्छ भन्नु सर्वथा गलत हो । नेपालको कानुनमा जो कोही अपराध गर्नेलाई कानुनी कारवाही हुने प्रष्ट छ । त्यसो भएको हुनाले चरीमाथि लागेका ज्यान मार्ने उद्योग, हातहतियार खरखजना, तस्करी, हप्ता असुलीजस्ता अभियोगको छानविन गरी कडा कारवाही गर्नु प्रहरीको दायित्व हो । अन्य अपराधमा संलग्नहरुलाई पनि कारवाही गर्न सबैले सहयोग गर्नु पर्दछ ।
तर, नेपालको कानुनमा अर्को पनि के प्रष्ट व्यवस्था छ भने जस्तो सुकै अपराध गरेको अपराधी भए पनि उसको हत्या गर्न पाइदैन । त्यो गैरन्यायिक हत्या हुनेछ । यतिबेला चरी हत्या प्रकरणले केही अनुत्तरित प्रश्नहरु जन्माएको छ । उनी प्रहरीको गोलीले मारिएको प्रहरीले नै विज्ञप्ती निकालेर स्वीकार गरेको छ । त्यसलाई ‘जवाफी कारवाही’ भनिएको छ । चरीका आफन्त र एमालेका नेता कार्यकर्ताहरुले उनको सुनियोजित हत्या भएको दावी गरेका छन् । चरीकी पे्रमिकाले दुईजना प्रहरी अधिकृत कुमुद ढुंगेल र अर्पण कोइरालाको नामै लिएर उनीहरुले हत्या गरेको ठोकुवा गरेकी छिन् ।
चरीकी प्रेमिका खुश्बु ओलीलाई प्रहरी निरीक्षक कुमुद ढुंगेलले मन पराउने र उनले वास्ता नगरेपछि आफू विरुद्ध लागेको उनको परिवारले स्वीकारेको छ । खुश्वुका बाबु श्याम ओलीले छोरीलाई ढुंगेलले मन पराए पनि छोरीले वास्ता नगरेपछि छोरी विरुद्ध ढुंगेल लागेको दाबी गरेका छन् । खुश्बुले प्रहरी निरीक्षक अर्पण कोइरालाले चरीसँग आफ्नो लभ परेको थाहा पाएपछि पटकपटक धम्कीपूर्ण म्यासेज पठाएको, चरीलाई मारेर विधवा बनाउँछु भनेर लेखिएका म्यासेज नै सार्वजनिक गरेर चरीको हत्या अपराधीमाथि कारवाही भन्दा पनि केटी प्रकरणसँग जोडिएको तथ्य खुलेको छ ।
अर्पण कोइरालाले पठाएको म्यासेजको इन्बक्स पेज नै सार्वजनिक हुनु, प्रहरीको दाबी, बरामदी मुचुल्का आदिको विवरणले उनको हत्या लास भेटिए ठाउँमा नभएको प्रष्ट छ । प्रहरीले आफुमाथि गोली हानेर भाग्दा जवाफी कारवाही गरेको बताएको छ तर, मोटरसाइकलमा भाग्दै गरेको व्यक्तिलाई कसरी अगाडिबाट छातीमा गोली लाग्यो ? गोली लागेपछि मोटरसाइकबाट लडेको प्रहरीले बताउँदै आएको छ । तर लाससँगै राखेजस्तो हुने गरी ढलेको मोटरसाइकल र भुइमा रगत किन लागेन ? ५० मिटर पर हेल्मेट कसरी पुग्यो ? भन्ने प्रश्न खडा भएका छन् ।

घटनास्थल, प्रहरीको घटनास्थल मुचुल्का र उसको भनाइमाथि विश्वास गर्ने आधार भेटिएको छैन । घटनाले तपशिल अनुसारका अनुत्तरित प्रश्न खडा गरेको छ, जुन विषयमा प्रहरी हेडक्वार्टरले जवाफ दिएको छैन ।

१. पछाडिबाट हानेको गोली शरीरको अगाडिपट्टी कसरी लाग्यो ?
२. चरीलाई लागेको आठमध्ये एकैठाउँ चारवटा गोली कसरी लाग्यो ? एकैठाउँ चारवटा गोली एकैपटक हान्नसक्ने कस्तो बन्दुक छ नेपाल प्रहरीसँग ?
३. गोली लागेको ठाउँबाट किन रगत बगेन ?
४. घटनास्थलमा किन एक थोपासम्म रगत भेटिएन ?
५. गोली लागेको मान्छे सवार मोटरसाइकल कसरी व्यवस्थित रुपमा लड्यो ?
६. लडेको मोटरसाइकल सकुशल कुनै चोट नलागेको अवस्थामा भेटिँदा उनले लगाएको हेलमेट चाहिँ करिब पचास मिटर अगाडि उकालोमा कसरी पुग्यो ?
७. गोलीलागेको मान्छे मोटरसाइकल नजिकै बिना छट्पटाहट व्यवस्थित रुपमा उत्तानो परेर हात गोडा फैल्याएको अवस्थामा कसरी सुत्यो ?
८. स्थानीयका अनुसार दई तीन पटक मात्र गोलीको आवाज सुनिएको थियो । तर चरीलाई लागेको आठ र उनले प्रहार गरेको भनिएको सात गरी जम्मा १५ गोली चल्नुपर्ने हो । उसो भए अरु गोली कहाँ चल्यो ? भाग्दा गोली नै लागेर लडेको भए पनि उपचारका लागि नलगेर किन घटनास्थलमै मर्न दियो ?

सबैले सोधिरहेको यी ८ प्रश्नहरुको जवाफ नेपाल प्रहरीसँग छ ? प्रहरीको दाबी जे भए पनि चरी मारिनुको कारण उनले गरेको अपराध थिएन, नकी सोही अपराधको अनुसन्धान । थियो त केवल खुश्वु ओलीले आफूसँग विहे नगर्ने भएपछि रिसिइवी साँध्ने अर्पण र कुमुदको आपराधिक योजना । चरीलाई उनले गरेको अपराधकै आधारमा मारिएको हो भने यस अघि सयौं पटक समातिँदा प्रहरीले के हेर्‍यो ? सयौँ निर्दोष व्यक्तिलाई दोषी सावित गराएर जेल पठाउन सक्ने प्रहरीले अपराधै गरेको चरीमाथि अभियोग प्रमाणित गराउन किन सकेन ? नेपालको अपराध अनुसन्धानको मुख्य जिम्मा लिएको नेपाल प्रहरीमाथि यस्तै यस्तै सयौँ प्रश्नहरु थुप्रिएका छन् यतिबेला ।
चरी मारिएको घटनापछिका विवरण खोतल्नुको उद्देश्य चरी निर्दोष थियो भन्ने प्रमाणित गराउने कुचेष्टा कदापी होइन । ऊ एक अपराधि हो, उसलाई कानुन अनुसार कारवाही गर्नु पथ्र्यो । तर, अपराध अनुसन्धानका नाममा कसैको हत्या गर्न प्रहरीलाई छुट छैन । एक जना अपराधिको पनि बाँच्न पाउने अधिकार हुन्छ, जसको रक्षा गर्नु प्रहरीको दायित्व हो । प्रहरीले साँच्चिकै अनुसन्धान गरेर अपराधका अन्य पाटाहरु खोज्ने थियो भने उनलाई समातेर प्रभावकारी अनुसन्धान गर्न सक्थ्यो । अनुसन्धानबाट अपराधका अन्य पाटा र अपराधीहरु पहिचान हुन सक्थे । तर केटीको विषयलाई लिएर एक जना अपराधीको हत्या गरेर प्रमाण नै नष्ट गर्ने प्रहरी अधिकारीहरु नेपाल प्रहरीको बर्दीमा बस्न कदापी सुहाउँदैन ।
यो घटनाको वास्तविक छानविन आवश्यक छ । छानविन गरेर घटना कसरी भयो ? चरीको हत्या आवश्यक नै थियो कि थिएन भन्ने आम जनातालाई जानकारी गराउनु सरकारको दायित्व हो । सदनलाई गृहमन्त्रीले दिएको जवाफ प्रहरी प्रतिवेदनभन्दा फरक छैन । यो घटना छानविनको माग गर्नु चरीको पक्षमा वकालत गरेको हो भनेर कुतर्क गर्नेहरुलाई पनि गर्न छुट नै छ । तर, एक अपराधीलाई समातेर जेल हाल्नु पर्नेमा एक जना युवती आफुले नपाउँदा अनुसन्धानका नाममा हत्या गर्ने प्रहरी अधिकृतहरुलाई कुन कानुनले छुट दिएको छ त ? यसको जवाफ प्रहरीले दिनुपर्छ ।

यो छानविनको तर्क किन पनि गरिएको हो भने प्रहरीले अनुसन्धान गरेर प्रमाण फेला पार्नु पर्ने अवस्थामा हत्या गरेर प्रमाण नै नष्ट गरेपछि कस्तो अनुसन्धान गर्छ ? प्रहरीमाथि जनताले कसरी विश्वास गर्ने कि एक जना केटीको विषयमा एउटा गम्भीर अपराधको पाटो नै अन्त्य हुन्छ भने । आफ्नो स्वार्थ अनुसार नभए प्रहरी दायित्व विर्सेर कस्तो हर्कतमा उत्रिदोरहेछ भन्ने प्रमाण हो यो ।
साँच्चै प्रहरी चरी पीडितहरुलाई न्याय दिन चाहन्थ्यो, उसलाई कानुनी कारवाही गर्न चाहन्थ्यो भने उसलाई पक्रेर हिरासतमा राखेर अनुसन्धान गरी उसबाट कति पीडित भए, कति क्षति भयो विवरण सार्वजनिक गरेर भराउन सक्दथ्यो । एक जना मन परेकी युवती आफ्नो बनाउन नसक्दा पदीय दुरुपयोग गरेर वितण्डा मच्चाउन प्रहरी अधिकारीहरुले पीडित जनतालाई कसरी न्याय दिन्छन् त ?
लेखक ओखलढुंगाका पत्रकार हुन् ।(समाचार टिप्पणी : शिवप्रसाद ढुंगाना)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget