फर्पिङमा हामीलाई उनले किन लगिन् ? यो प्रश्नको उत्तर अझै पनि पाउन सकेका छैनौं । भन्न त उनले ‘अर्पणका करतुत देखाउन’ भनिन् तर उनको हैसियत पनि त्यति राम्रो देखिएन । कतै उनले हामीलाई आफ्नै सुरक्षाको लागि त निम्त्याएकी थिइनन् फर्पिङ घुम्न ?
काठमाडौं । शनिबार साँझ फोनको घन्टी बज्यो । खुश्बु ओलीको रहेछ । सीधै प्रस्ताव राखिन्, ‘मलाई हेल्प गर्नुपर्यो ।’ कस्तो हेल्प ?’ हाम्रो प्रश्नमा उनले भनिन्, ‘फर्पिङ्ग (जहाँ अर्पण कोइरालासँग मिलेर खुश्बुले बृद्धाश्रम सञ्चालन गरेकी थिईन् ।) जाने ।’ हाम्रो आनाकानीकै बीच उनले कर गरिन्, ‘अर्पण कोइरालाले मलाई सकाउन लाग्यो, उसले गरेका कर्तुत पनि छन् मसँग ।’
साउन २१ गते खुश्बुका प्रेमी दिनेश अधिकारी मारिएपछि खुश्बुसँग जोडिएका धेरै किसिमका समाचार आए । हरेक दिन आफ्नो बारेमा प्रकाशित समाचार हेर्र्दै विश्लेषण गर्दै आएकी रहिछन् उनी । शनिबार (हिजो) को एक दैनिकमा खुश्बुले आफू र अधिकारीका विषयमा पूर्वप्रेमी अर्पण कोइरालाले दिएको अन्तर्वार्ता पढिछन् । त्यसपछि अर्पणले गरेका बद्मासीका दसी प्रमाण जुटाउने अभियानमा फर्पिङ्ग जाने प्रस्ताव आएको रहेछ ।
कोइरालाले अन्तवार्तामा ‘खुश्बुको लागि काठमाडौं, भक्तपुरका तीन वटा घर बेचेँ’ भनेका छन् । यो पढेपछि अर्पणका बद्मासीका दसी खोज्न सुरिएकी खुश्बुले भनिन्, ‘अर्पणकोे विषयमा धेरै बोल्ने मन थिएन्’ उनले भनिन् ‘तर अब बोल्नै पर्ने भयो, उसले गरेका कर्तुतहरू अब सबै खोल्दिन्छु ।’
आइतबार बिहान करिब सवा नौ बजे खुश्बुसहित छ जनाको हाम्रो टोली फर्पिङ्ग पुगेको थियो । उनी बाटोमा भन्दै थिईन्, ‘मैले अर्पणलाई पुनस्र्थापना केन्द्रबाट निकालेर मान्छे बनाउन कोसिस गरेँ । तर, उसले पुरानो बाटो दोहोर्यायो । मैले नसकेर साथ छोडिदिएँ । अै’ले मलाई नै सिध्याउन लागेको छ ।’ अर्पण पूर्वप्रेमी रहेको पनि खुश्बुले स्वीकारिन् ।
खुश्बुको दावीअनुसार फर्पिङ्गस्थित ‘सपना आमा घर’ नामक बृद्धाश्रम सञ्चालन भएको घर अर्पणको पुख्र्यौली घर हो । त्यही घरमा दुवैजनाले बृद्धाश्रम सञ्चालन गरेका थिए । त्यसैबीचमा पाँचजना बालबालिका पनि लगेर राखे । संस्थाको सञ्चालन राम्रो भए पनि दुबैबीच सम्बन्ध चिसिँदै आएपछिको असर संस्थामा पनि पर्यो । संस्थावरपरका मानिसले पनि बिग्रिएको सम्बन्ध थाहा पाए । अहिले त छर्लङ्गै भयो उनीहरूलाई । जुन आइतबार बिहानको दृष्यले नै देखाएको थियो ।
‘नमस्ते दिदी’ खुश्बुको नमस्कारमा स्थानीय एक महिलाले रुखो जवाफ फर्काइन्, ‘तपाईंलाई के को नमस्कार ?’ खासमा ती महिलाकी छोरीेमार्फत् अर्पण कोइरालाले नजिकैको सहकारीबाट पटक–पटक गरेर ८२ हजार ९० रुपियाँ लिएका रहेछन् । खुश्बुका अनुसार संस्थागत नभई व्यक्तिगत रूपमा कोइरालाले लिएकोले त्यो रकम तिर्ने पक्षमा उनी छैनन् । करिब आधा घण्टा अर्पण कोइरालालाई जसरी पनि झिकाएर रकम चुक्ता गरिपाउँ भनेर ती महिलाले चर्को दबाब दिईन् । (उनीहरूको छलफलको रेकर्ड पुलेसोसँग सुरक्षित छ) । फेरि थाहा भयो, अर्पण कोइरालाले स्थानीय फर्निचर व्यवसायीसँग पनि व्यक्तिगत प्रयोगका लागि पलङ, टेबल आदि बनाउन लगाएका रहेछन् । तर, ती व्यवसायी भने अर्पणका विरुद्ध देखिएनन् । भने, ‘मेरो करिब असी हजार रुपियाँ लिनु छ, त्यतिको लागि अर्पणका विरुद्ध लाग्दिनँ ।’ तिनै फर्निचर व्यापारीकाअनुसार कुमार घैटेसँग कोइराला फर्पिङको रिसोर्टमा एक बसाइमा ५० हजारसम्म खर्च गर्थे ।
छलफल हुँदै गर्दा एक हुल स्थानीय युवा घरभित्र छिरे । उनीहरू खुश्बुमाथि शंकाको दृष्टिले हेरिरहेका थिए । संस्थामा बालबालिका राखेपछि उनीहरूले पाँचजना बालबालिकालाई कार्डिनल बोर्डिङ स्कुल फर्पिङमा पढाउने पनि गर्थे । तर, स्कुललाई पैसा भने तिरिएको रहेनछ । खुश्बुको दाबीमा स्कुलमा तिर्नलाई दिएको पैसा कोइरालाले आफै खर्चिने रहेछन् । जुन कुरा स्कुलका प्रिन्सिपलले फोन गरेपछि मात्रै खुश्बुले पत्तो पाइन् । र, अहिले मासिक पाँच हजारका दरले स्कुललाई खुश्बुले आफै पैसा तिर्दै छिन् । त्यो कुरा पनि स्कूलका शिक्षकले नै टेलिफोनमा बताएपछि भेला भएका स्थानीयले विश्वास गरे । करिब एक घण्टा खुश्बु र फर्पिङ्गका स्थानीयको बीचमा छलफलपछि टोली काठमाडौं फर्कियो ।
फर्पिङमा हामीलाई उनले किन लगिन् ? यो प्रश्नको उत्तर अझै पनि पाउन सकेका छैनौं । भन्न त उनले ‘अर्पणका करतुत देखाउन’ भनिन् तर उनको हैसियत पनि त्यति राम्रो देखिएन । कतै उनले हामीलाई आफ्नै सुरक्षाको लागि त निम्त्याएकी थिइनन् फर्पिङ घुम्न ? त्यहाँको माहोल साँच्चिकै डरलाग्दो थियो । गाउँलेहरूको घुराईले धेरै संकेत गरिरहेको थियो । तस्विर लिनसमेत उनीहरूले दिएनन् ।
खुश्बु निडरनै हुन त ?
विहे नहुँदै प्रेमी मारिएपछिको पीडा अनुमान गर्नै सकिँदैन् । खुश्बुको भोगाई पनि आम महिलाका जस्तै पीडादायी छ । उनी त्यसैले न्यायको बाटोमा ओर्लिएको बताउँछिन्, ‘अधिकारीको हत्या भएको हो, हत्याका दोषीलाई कारबाही गरिनुपर्छ । हिजो पनि म उहाँकै साथमा थिए आज पनि उहाँको मृत शरीरले न्याय पाओस् भनेर लागेकी छु ।’ २१ साउन खुश्बुको जीवनका कालो दिन हो रे ! दिनेशलाई न्याय दिएर कालो दिन बिर्सन खुश्बु हिम्मताका साथ लागेकी छन् ।
धेरै लान्छनाका बीच खुश्बुमा देखिएको निडरपन देख्दा हामी यति विश्लेषण गर्न सक्छौं, ‘खुश्बु निडर महिला हुन् ।’ ‘अधिकारी मेरो परिवारभित्रको अभिभावक हुनुहुन्थ्यो, हामीबीच रिलेसनसिप पनि थियो ।’ सार्वजनिक रूपमै यसो भन्न उनलाई कुनै हिचकिचावट छैन । आफ्नो सम्बन्धका विषयमा विहे नहुँदै कमै नेपाली महिला यसरी खुल्छन् । उनी निर्धक्कका साथ अधिकारीसँगको आफ्नो सम्बन्ध खोलिरहेकी छन् । भन्छिन्, ‘जीवित हुँदासम्म आफ्नो भन्ने मृत भएपछि आफ्नो होइन म भन्नै सक्दिनँ’ ।
- प्रतिमा सिलवाल/लोकेन्द्र ओली/पुलेसोबाट साभार भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment