लालबहादुर ढेंगा, दुबई। वैदेशिक रोजगारदाताहरुका लागि खाडी मुलुकहरुमध्ये युएईलाई एउटा राम्रो गन्तव्यको थलो मानिन्छ ।युएईमा लगभग दुई लाखको हाराहारीमा नेपाली कामदारहरु कार्यरत छन् भने अझै दिनाहुं भित्रिने क्रम पनि तिब्र रुपमा बढ्दो छ । नेपाली कामदारहरुको संख्या बृद्धि हुँदै गएको परिप्रेक्ष्यमा यदाकदा समस्याहरु पनि बढ्दै गएका छन् ।
घर परिवारलाई सुख शान्ति र खुशी दिने सपना देखाउँदै बिदेशिएका कतिपय नेपालीहरु बिदेशको भूमिमा आएर पनि सम्पूर्ण सपनाहरु चकनाचुर भई विभिन्न समस्याहरु झेल्नका साथ आफ्नो ज्यान समेत गुमाउन पुगेका छन् । राम्रा–राम्रा कपडा, गहना र सामानहरु लिएर आउनेको आशामा बसेका घर परिवारलाई लाश, लाचार र बिरामीको अवस्थामा फर्केको पाउंदा कस्तो दर्दनाक पीडाको सामना गर्न पर्छ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो ।
यसम–५, ओखल ढुंगा निवासी बुद्धीबहादुर कार्की दुबईको राशिद हस्पिटलमा विगत १० महिनादेखि बेहोशीको अवस्थामा रहेका छन् । उनी ड्यूटीको क्रममा मोटर साइकलबाट सडक दुर्घटनामा परेका हुन् । दुर्घटना कसरी भयो भन्ने तथ्य भने अझैसम्म खुल्न सकेको छैन । दुर्घटना स्थलमा मोटर साइकलका साथ बेहाशीको अवस्थामा पुलिसले हस्पिटलमा भर्ना गरेको हो । सायद कुनै गाडीले टक्कर हानेर गयो होला भन्ने अनुमान अनुसन्धान टोली लगाउंछन ।
हस्पिटलमा भर्ना भएपछि ३६ दिनसम्म आईसीयुमा राखिएको थियो । खासगरी ब्रेनमा असर परेको हुनाले दुई पटकसम्म बे्रनको अप्रेशन पनि गरिएको हो । तर, केही सुधार भने हुन सकेन । अहिलेको अवस्थामा केवल आंखाले हेर्ने तर केही शरीरमा हलचल नै भएको छैन् । बेहोशीको अवस्थामा बेडमा रहेको कार्कीको हालत भने नाजुक रहेको छ । साथै यो भन्दा सुधार हुनमा आश थोरै मात्रामा देखिन्छ ।
सन् २०१० मा रोजगारीको सिलसिलामा दुबई छिरेका बुुद्धीबहादुर कार्कीको नेपालस्थित घरमा श्रीमतीका साथ एउटा छोरा र एउटा छोरी रहेका छन् । श्रीमती, छोरा र छोरीको पालन पोषण गर्ने जिम्मा भएका निजको यस्तो हालत भएपछि आर्थिकको अभावका कारण घरमा विभिन्न समस्याहरु समेत झेल्न परेको नजिकका आफन्त पर्ने दुबईमा कार्यरत नारायण श्रेष्ठ बताउनु हुन्छ ।
Post a Comment