निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्दै गर्दा कार्यक्रमको माहोल केही नरम भयो । थुप्रै हिट सिनेमा दिएका निर्देशक घिमिरे पनि भावूक बने । नेपाली सिनेमाका पुरानादेखि नयाँ कलाकार तथा चलचित्रकर्मीको विचमा घिमिरे उभिएका थिए ।
‘राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड’को तेश्रो संकरणमा घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको हो । शनिबार बेलुकी काठमाण्डौको आर्मी अफिसर्स क्लबमा अवार्ड समारोह भएको हो । अवार्डमा ‘रिदम’ सिनेमा उत्कृष्ट ठहरियो । यस्तै यही चलचित्रबाट जीवन लुइटेलले उत्कृष्ट नायक र विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।
रेखा थापाले पब्लिक च्वाइससहित चलचित्र ‘काली’बाट उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । उनी अवार्ड समारोहमा आफ्नी आमा र प्रेमी भनी चर्चामा रहेका सुदर्शन गौतमसँग पुगेकी थिइन् । यस्तै, नव निर्देशकतर्फ ‘मोक्ष’ सिनेमाबाट प्रविण श्रेष्ठ, गायिकातर्फ ‘रिदम’बाट रजिना रिमाल, गायकतर्फ ‘विन्दास २’ बाट शिव परियार उत्कृष्ट ठहरिए ।
अवार्डका अन्य विधामा उत्कृष्ट संगीतकार ‘काली’बाट वसन्त सापकोटा, नव-नायक अनमोल केसी, नव-नायिका प्रकृती श्रेष्ठ, सह-अभिनेता सलोन बस्नेतले ‘होस्टेल’बाट अवार्ड पाए । चलचित्र ‘होस्टेल’ पब्लिक च्वाइसतर्फबाट पनि उत्कृष्ट ठहरियो । यस्तै नायक राजेश हमालले पब्लिक च्वाइस र ‘मेरो राजेश दाई’बाट चरित्र अभिनेताको अवार्ड पाएका छन् । कार्यक्रममा निक्कै आकर्षक बनेर गएकी नायिका करिश्मा मानन्धरले ‘किन किन’बाट सह-अभिनेत्रीको अवार्ड चुमिन् । उत्कृष्ट हाँस्य कलाकार केदार घिमिरे, उत्कृष्ट नृत्य निर्देशक कविराज गहतराज, उत्कृष्ट द्वन्द्व रोशन श्रेष्ठ, उत्कृष्ट चरित्र अभिनेत्री गीता अधिकारी, उत्कृष्ट गीतकार दयाराम पाण्डे, उत्कृष्ट संवाद दिपकराज गिरी, उत्कृष्ट पटकथा विकास आचार्य, उत्कृष्ट कथा योगेश घिमिरे, उत्कृष्ट ध्वनी उत्तम न्यौपाने, उत्कृष्ट पोशाक डिजाइनर उत्तम बनेपाली, उत्कृष्ट छायांकर पुरुषोत्तम प्रधान, उत्कृष्ट पाश्र्व संगीत एलिश कार्की, उत्कृष्ट सम्पादन बनिश शाह, उत्कृष्ट कला निर्देशक स्वर्गिय गोपाल भूटानी, उत्कृष्ट मेकअप निमा लामा बन्न सफल भए । निर्देशक दिनेश डीसी र गायक राजेश पायल राई पब्लिक च्वाइस अवार्ड उचाल्न सफल भए ।
यस्तै नायक भूवन केसीलाई नेपाली सिनेमाको माइलस्टोन अभिनेताको सम्मानबाट सम्मानित गरियो । कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, सिएनएन हिरो अनुराधा कोइराला, महानगरीय प्रहरी प्रमुख रमेश खरेल उपस्थित थिए । कार्यक्रममा सिनेमाका १२१ निर्मातालाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा ब्लकबस्टर फिल्म, चर्चित निर्माता, विशेष फिल्मलाई पनि अवार्ड तथा सम्मान प्रदान गरिएको थियो । घोषणा गरिए अनुसारको रियलाइज अवार्ड भने प्रदान गरिएन ।
नेपाली सिनेमाका चर्चित कलाकार, निर्माता, निर्देशक, प्राविधिकहरुको उपस्थिती अवार्ड समारोहमा थियो । बक्स अफिसका अध्यक्ष आर.के सुवेदीको एक्लो प्रयासबाट सम्पन्न भएको भव्य अवार्डलाई सबैले तारिफ गरेका थिए ।
Post a Comment