news and more entertainment

येसरी हुदै छ,चरी मारिएपछि राजधानीका ‘डन’को भागाभाग

काठमाडौं, २७ साउन । गुण्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’ को इन्कान्टरपछि राजधानीका अन्य गुण्डाहरुको पनि सात्तो उडेको छ। गुण्डागर्दीविरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत भएपछि व्यापारीलाई धम्काएर मस्ती गर्दै आएकाहरुको भागाभाग भएको छ। चरीको इन्कान्टरपछि ठूला डनहरु भागिसकेका छन् भने टोलेहरु पनि तर्सिएका छन्। विभिन्न मुद्दामा वान्टेडहरुले उपत्यका छाडिसकेका छन्।
ठूला डनहरु दीपक मनाङे, गणेश लामा, राजु गोर्खाली, मिलन चक्रे, कुमार घैंटे, साजन महर्जन, बाघे लामा, माइला लामा, रोज राणा, बिश्वक्रान्तिहरु डराएका छन्। सुध्रिएको बताएपछि पछिल्लो समय पनि उनीहरुले गोप्य रुपमा व्यापारीलाई धम्क्याउने काम छाडेका थिएनन्।
सम्पत्ति शुद्धीकरण मुद्दाबाट छुटेपछि मनाङे व्यापारमै केन्द्रित छन्। ठमेलमा उनको राज अझ कायमै छ। ठमेलमा विभिन्न रेष्टुरेन्टमा लगानी गरेका उनको हेटौंडामा क्रसर तथा नवलपरासीमा जडिबुटीसम्म व्यवसाय छ। केही समय राजनीतिमा लागेपनि पछिल्लो सयम उनी त्यति सक्रिय छैनन्। एसएसपी रमेश खरेलले सार्वजनिक मुद्दामा उनलाई चार साता थुनामा राखेका थिए।
त्यस्तै गणेश लामाको अधिकांश समय कान्तिपथको माउन्टेन होटलमा बित्ने गरेको छ। उक्त होटल उनकै हो। धुलिखेलमा पनि एक रिसोर्टमा उनको लगानी रहेको बताइन्छ। साथीहरुको नामको कम्पनीबाट ठेक्काको सेटिङ मिलाउने गरेका छन्। प्रहरी आक्रामक बनेपछि लामा धम्की र झैझगडाबाट डराइसकेका छन्। काभ्रेली समूहका थोरै व्यक्तिहरु मात्र उनीसँग रहेको बताइन्छ। पछिल्लो समय बिजय गच्छेदारसँग पनि उनको राम्रो सम्बन्ध छैन। बुबा पाल्साङ लामालाई समानुपातिकतर्फबाट सभासद् बनाउने लबिङमा लाग्दा गच्छेदारले मोटो रकम मागेपछि उनी पार्टी परिवर्तनको तयारीमा छन्।
त्यस्तै, कांग्रेस निकट डनका रुपमा चिनिने कुमार घैंटे सामाखुशी क्षेत्रमा विभिन्न व्यापार गर्दै आएका छन्। कांग्रेस नेता अर्जुननरसिंह केसी र केही प्रहरी अधिकारीहरुसँगको उनको राम्रो सम्बन्ध छ। त्यसकारण सानोतिनो गल्तीमा उनी पक्राउ पर्ने गरेका छैनन्।
दुई वर्षअघि युवासंघमा प्रवेश गरेका साजन महर्जन पद नपाएपछि एमालेमा सक्रिय छैनन्। उनले गोंगबुमा निर्माण सामग्रीको व्यवसाय चलाएर बसेका छन्। चीनबाट रेडिमेड सामान आयातको व्यवसाय पनि उनले गर्दै आएको बताइन्छ।
त्यस्तै, नुवाकोटका कांग्रेस नेताहरुसँगको छत्रछाँयामा अनेक धन्दा गर्दै आएका बालाजुका माइला लामा सो क्षेत्रका ठेक्कापट्टामै केन्द्रित छन्। फोहोरको ठेक्का समेत उनले नै लिँदै आएका छन्। सोही विवादमा केही महिनाअघि उनी पक्राउ परेपछि कांग्रेस नेताहरुको दबाबमा बालाजुकी डिएसपी गंगा पन्तले एक सातामै छाडिदिएकी थिइन्।
ललितपुरका मिनकृष्ण महर्जनको पनि प्रमुख काम ठेक्कापट्टा नै हो। ललितपुरको चापागाउँ क्षेत्रमा संचालित ढुङगाखानीमा उनको लगानी छ। ललितपुरका सरकारी ठेक्कामा उनको दबदबा छ। सडक ठेक्काको कमिसन नमिल्दा नै रमेश बाहुनसँगको उनको झगडा भएको थियो। त्यही झगडाको क्रममा बाहुनले उनलाई गोली हानेका थिए। गत असार १० गते पक्राउ परेका बाहुन डिल्लीबजार जेलमा छन्। रमेश बाहुन र दिनेश अधिकारी ‘चरी’सँग राम्रो सम्बन्ध भएका रोज राणा पनि पछिल्लो समय प्रहरीसँग डराएका छन्। जेल परेपछि पनि बाहुनसँग उनको राम्रो सम्बन्ध रहेको बताइन्छ। चरीको हत्यासँगै उनै भूमिगत भएका छन्।
त्यस्तै, कुमार घैंटे टिमका समिरमानसिंह बस्नेत दुई साताअघि कालिमाटी वृत्तको हिरासतबाट छुटेका छन्। चरीको ‘जाने दुश्मन’ राधे भण्डारीसँग उनको दोस्ती छ। जेलबाट छुटेपछि राजु गोर्खालीले जय नेपाल हलको छेउमा तथा चाबहिलमा रेष्टुरेन्ट चलाउँदै आएका छन्। महिना दिन अगाडि मात्र जेलबाट छुटेका मिलन चक्रेको कुमार घैंटेसँग दुश्मनी छ। चरीलाई लगाएर घैंटेलाई आक्रमण गर्ने योजना बनाएका उनी चरी नै मारिएपछि डराएका छन्। उनका भाइ तेजेन्द्र लिम्बुलगायतको समूहले पछिल्लो समय पनि महाराजगंज क्षेत्रमा नियमित असुली गर्दै आएको बताइन्छ। जेलबाट छुटेपछि १०/२० हजार खर्च गरेर छवि सुधार्न सामाजिक काममा लाग्ने तयारीमा छन्।
यस्तो थियो राधे-चरी दुष्मनी
गत वर्ष २३ असारमा आफूमाथि गोली प्रहारको रिस फेर्न डन दिनेश अधिकारी ‘चरी’ले राधे भण्डारीलाई १४ पुसमा तरवारले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए। आफूलाई आक्रमण गरेलगत्तै सार्वजनिक रुपमा राधेलाई नछोड्ने बताएका चरीले करिब पाँच महिनापछि त्यसको प्रतिशोध लिएका थिए। त्यही बेलादेखि चरी भूमिगत थिए। चरीको दुश्मनी यतिबेला राधेसँग मात्र होइन, राजधानीका अर्का डन कुमार घैटैंसँग पनि थियो। घैंटेको निर्देशनमा उनका सहयोगीहरुले पुसको पहिलो साता चरीलाई सोह्रखुट्टेमा आक्रमणको योजना बनाएका थिए। त्यसमा उनीहरु सफल हुन सकेनन्, त्यसको हप्ता दिनमै चरी भने राधेलाई तरवार आक्रमण गरी प्रतिशोध लिन सफल भए।don-kathmandu
ठेकदार बिनोद श्रेष्ठको भोजबाट निस्कने क्रममा भण्डारीमाथि चरीको नेतृत्वमा गएको समूहले आक्रमण गरेको थियो। तरवारको आक्रमणबाट भण्डारीको ढाड र खुट्टामा गम्भीर चोट लागेको थियो। पार्टी प्यालेसको अगाडि कुरेर बसेको चरीको समूहले भण्डारीलाई लखेटेर तरबार आक्रमण गरेका हुन्। भण्डारीका साथी बिनोद तिमल्सिनालाई भगाएर उनीमाथि आक्रमण भएको थियो। चारवटा मोटरसाइकलमा रहेको समूहले भण्डारीमाथि आक्रमण गरेका थिए। धादिङबाट फर्कने क्रममा राधेको समूहले चरीको गाडीलाई रोकी नैकापमा आक्रमण गरेका थिए। चरीलाई पाखुरामा गोली लागेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले चरीका दुई सहयोगी जयराम बानियाँ र राजु श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसबेला छुटेका उनीहरु पछि फेरि अपरहण मुद्दामा जेल गएका थिए। चरी र राधेको समूहबीच लामो समयदेखि ‘ग्याङवार’ चल्दै आएको थियो। चरीमाथि आक्रमण भएको करिब महिना दिन अघि राधेका भाईमाथि चरीको समूहले आक्रमण गरेको थियो। त्यसभन्दा अघि पनि उनीहरुबीच पटक–पटक झगडा हुँदै आएको छ। चरी एमालेमा आबद्ध थिए भने राधे कांग्रेसमा आबद्ध छन्। एक समय उनीहरु एउटै समूहमा थिए। चरी पनि पहिला कांग्रेसमै थिए। उनी एमालेमा लागेपछि दुईबीचको दुरी बढी दुश्मनी सुरु भएको हो। चरी पछिल्लो समय एमालेको क्षेत्रीय उपाध्यक्ष समेत भएका थिए। चरीको कांग्रेस निकट डन कुमार घैंटेको समूहबीच पनि दुश्मनी थियो।
पछिल्लो समय पनि चरी घैंटेको समूहलाई आक्रमणको तयारीमा थिए। ‘राजधानीमा ग्याङवार बढ्न लागेको सूचनाकै आधारमा इन्काउन्टर गरिएको हो,’ महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘ग्याङवार गर्ने अब कोही बाँकी रहँदैनन्, सुट एट साइटको स्पष्ट निर्देशन माथिबाट आइसकेको छ।’ पछिल्लो सयम दावा लामा, टासी लामा, पञ्चे लामा, समिर केसीलगायतहरु प्रहरीको वान्टेड सूचीमा छन्। गत वर्ष जेलबाट छुटेका टासीले विभिन्न व्यापारीहरुलाई अपहरण गरेर पैसा असुलेको उजुरी प्रहरीमा रहेको स्रोत बताउँछ।
प्रहरीभित्रै डरलाग्दो खेल
मुम्बईमा संगठित गुण्डागर्दीविरुद्ध प्रहरीले इन्काउन्टर अप्रेशन चलाएपछि मात्र त्यहाँका जनताले आनन्दसँग सुत्न पाएका थिए। राजनीतिक संरक्षणमा पछिल्लो समय नेपालमा पनि गुण्डागर्दीको जालो बलियो हुँदै गएपछि प्रहरीले इन्काउन्टर अप्रेशन थालेको छ। तर. गुण्डाहरुसँग हिमचिम भएका केही प्रहरी अधिकारीहरु नै यसको विरुद्धमा लागेका छन्। गृह मन्त्रालयको समेत स्वीकृति पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी पुष्कर कार्कीले इन्काउटर अभियान सुरु गरेका हुन् । उनको सूचीमा पहिलो नम्बरमा रहेका चरी भिमढुंगामा मुठभेडमा मारिएका छन्। धम्क्याएर असुलीको आतंक मच्चाउने अन्य गुण्डाका नाइकेहरुलाई पनि उनले खोज्न थालिसकेका छन्।
तर, गुण्डाहरुको पैसामा मस्ती गर्दै आएका केही प्रहरी अधिकारीहरु एसएसपी कार्कीलाई असफल बनाउने अभियानमा लागेका छन्। तिनै व्यक्तिहरुले घटनालाई अतिरञ्जित बनाउन एमालेका केही नेताहरुलाई उचालेको स्रोत बताउँछ।  एसएसपी कार्की तथा इन्सपेक्टर कुमोद ढुंगेलसँग रिसीइबी भएका अखिल/युवासंघका नेता तथा केही प्रहरी अधिकारीहरु समेत उनीहरुलाई जसरी भए पनि कमजोर बनाउने अभियानमा लागेका छन्। जसमा अपराध महाशाखाकै केही प्रहरी अधिकारीहरु समेत छन्।
(दृष्टि साप्ताहिकबाट)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget