गुन्डा नाइके दिनेश अधिकारी चरीको हत्या भएको एक साता भन्दा बढी समय भैसकेको छ । तर उनको परिवारले अझै शव बुझ्न अस्वीकार गरिरहेका छन् । चरीको हत्यासँगै उनको प्रेमिका भनिएकी खुश्बु ओली रातारात चर्चामा आइन् । उनी त्यसरी चर्चामा आउँनुको कारण उनले दिएको चरीको हत्यामा उनै पूर्व प्रेमी र चरीका साथी अर्पणको हात रहेको भन्ने किटानी जाहेरी हो । प्रस्तुत छ खुश्बुसँग गरिएको यो छोटो कुराकानी:
दिनेश अधिकारीको मुत्युमा तपाई किन सबैभन्दा पहिले बोल्न तयार हुनुभयो नि ?
धेरैले मसंग यो कुरा गर्नुहुन्छ । के कुनै डनको परिवार नै हुनु हुदैन भन्ने छ ? उसका आफन्त नै हुदैनन् ? उसका तर्फबाट मैले बोल्न नपाउने ? त्यसमाथि मैले त दिनेशको मृत्युमा बोल्न आवश्यक भएर नै बोलेकी हुँ । त्यो मेरो जिम्मेवारी पनि हो । म उसको परिवारको सदस्य हुँ । यो विषयले मलाई जुन तनाव भएको छ ,त्यो भन्दा बढी नै के हुन सक्छ र ? ऊ जीवित हुँदा ऊबाट मैले सहयोग पाएँ,मैले पनि उसलाई सहयोग गरें । हामी एक अ्र्कालाई सहयोग गरेर नया जीवन सुरु गर्दै थियौं । अहिले मृत्युपछि मैले उसलाई बेवस्ता गर्ने भन्ने हुन्छ र ? मानवीय धर्मले पनि यस्तो गर्न दिँदैन ।
डनसंग प्रेम गर्न अलिक अप्ठ्यारो लागेन ?
यो प्रश्न मैले धेरैपटक सुन्नु परेको छ,तपाई पढेलेखेको मानिसको डनसँग सम्बन्ध किन ? भनेर धेरैले आश्चर्य प्रकट गर्नुहुन्थ्यो । के डनसँग प्रेम गर्न नहुने हो ? डनसँग सम्बन्ध नै राख्न नहुने हो त ? एउटा मानिसले आफूलाई परिवर्तन गर्न चाहिरहेको छ भने,उसलाई सहयोग नगरेर अपराधी बनाउनु ? मानिसहरुले जे भने पनि एउटा व्यक्तिको हिसाबमा दिनेश राम्रो मानिस लागेरै सम्बन्ध गास्ँन चाहेकी हुँ ।
तपाई दिनेशसंग विदेश गएर सेटल हुने योजनामा हुनुहुन्थ्यो रे हो ?
कुनै समय त्यस्तो सोचिएको भए पनि अहिले त्यस्तो थिएन । दिनेशले राजनीतिक रुपमा सक्रिय भएर जनताको सेवा गर्न चाहेको थियो । मैले पनि उसँग मिलेर नेपालमै केहि गरौँ भन्ने चाहेकी थिएँ, अहिले विदेश जाने कुनै योजना थिएन ।
खुश्बुको परिवारको बलियो आर्थिक आम्दानीको जग अर्पण नै हो भन्नेहरु पनि छन् नि ?
यो सबै बकवास हो,दिनेशको मुद्दा साम्य मात्र होस,म अर्पणका कस्ता कस्ता कर्तुत सार्वजनिक गर्ने छु । उसले दाउद इब्राहिमलाई पठाएका ईमेलहरु,त्यो कुराको प्रमाण यहीं मसँग छ । लान चाहनुहुन्छ भने दिन सक्छु । उसले डी कम्पनीका लागि काम गर्न भनेर दाउदलाई लक्षित गरेर लेखेका ईमेल छन्,ती दाउदसम्म पुगे पुगेनन् थाहा छैन तर ऊ कति आपराधिक मस्तिष्कबाट निर्देशित थियो भन्ने कुरा महत्वपूर्ण हो ।
दिनेशको कुन त्यस्तो राम्रो पक्ष थियो,जसले तपाईलाई उनीप्रति आकर्षित गरायो ?
सबैभन्दा मुख्य कुरा आफनो डनको इमेज परिवर्तन गर्ने चाहनाले मलाई आकर्षित गरेको थियो । जीवनलाई कसरी अघि बढाउने भन्ने विषयमा उससँग एकदमै राम्रो योजना थियो । उसले राजनैतिक तथा सामाजिक कार्यकर्ताका रुपमा आफूलाई अघि बढाउन चाहेको थियो ।
दिनेशसँग पहिल्लो पटक के कुराकानी भएको थियो ?
हाम्रो कम्युनिकेसन एकदमै लाईट हुन्थ्यो,काम विशेषले केहि कुराकानी भैहाल्यो भने मात्र हो,त्यो पनि भाईबरमा । अरु सम्पर्क त ट्याप गरिएको हुन सक्थ्यो,अहिले बजारमा मेरो मोबाईलमा कन्ट्याक्ट गरेको भन्ने कुरा छ,त्यो एकदमै गलत हो । अन्तिम पटक मारिएको दिन बिहान ९ बजे कुराकानी भएको थियो,उहाँले भोलि अदालत जान्छु भन्नु भएको थियो । त्यतिमात्र कुरा भयो । दिनेशले बोक्ने मोबाईलको भाईबर नम्बर बेलायतको थियो । उहाँ वकिलसँग काम गरिरहनु भएको थियो ।
अहिले तपाईका अभिव्यक्तिहरु दिनेशको समूहको नेतृत्व लिने हिसाबले आईरहेका हुन् कि ?
त्यस्तो पनि होइन,दिनेश आफै परिवर्तन खोजिरहेको मान्छे थियो, अहिले उसको समूहको नेतृत्व मैले लिने कुरा पनि हुनै सक्दैन । खालि एउटा मानिसलाई अचानक मारियो अनि त्यसलाई गलत ढंगले प्रचार गरियो । त्यसका विरुद्ध न्यायिक ढंगले जे भएको हो,त्यो भनिदयोस् मात्र भनेकी हूँ । नेतृत्व लिएर जाने भन्दा पनि म परिवारको सदस्य भएकाले बोलेकी मात्र.. हूँ ।
Post a Comment