काठमाडौ । नेपाल प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका एक खुँखार अपराधी प्रहरीसँगको मुठभेडमा मारिएपछि नेकपा एमालेका जिम्मेवार नेताहरूबाट प्रस्तुत व्यवहारलाई लिएर मुलुकमा चिन्ता व्याप्त भएको छ। अपराधीहरूलाई राजनीतिक संरक्षण रहेको भनी धेरैले भन्ने गरे पनि औपचारिक तवरमा त्यसको पुष्टि हुन नसकेको सन्दर्भमा कुख्यात अपराधी दिनेश अधिकारी चरी मारिएपछि एमालेले उक्त तथ्यको पुष्टि गरिदिएको छ। देशमा जघन्य अपराधका कैयन घटना हुँदा नबोल्ने एमाले नेताहरू, कैयन होनहार मानिस मारिँदा अपराधीको खोजी गरी कारबाही गर्न कुनै प्रकारले दबाब दिन आवश्यक नठान्ने उनीहरू कुख्यात डन चरीको मृत्युमा यसरी क्रूद्ध भए– मानौँ, उनीहरूको शीर्षस्थमध्येकै नेता मारिएका थिए वा आर्थिक स्रोतको प्रमुख केन्द्रलाई नै सिध्याइएको छ। जिल्लावासीको नाताले भन्दै धादिङका केही सभासद्ले डन हत्या प्रकरणमा प्रहरीविरुद्ध दिएको अभिव्यक्ति हेर्दा लाग्थ्यो– ‘आम्दानीको निकै ठूलो स्रोत अब बन्द भएको छ। प्रहरीसँगको मुठभेडमा मारिएका डन चरी जसको बारेमा सांसद राजेन्द्र पाण्डेलगायतका केही एमाले नेताहरू क्रूद्ध र चिन्तित बनेका छन्, ती चरीले के–के गरेका थिए र कति सीधासाधा नेपाली यिनको सिकार बन्नुपरेको थियो भन्ने विषयमा बुझियो भने मुटु भएका हरेक मानिसको आङ नै जिरिङ्ग हुने स्थिति छ।
०६० तिर डन कुमार घैँटेसँग मिलेर सोह्रखुट्टे, नयाँबजार र बालाजु क्षेत्रमा हप्ता असुली सुरु गर्दै अपराध जगत्मा पाइला हालेका दिनेश अधिकारी चरी मानिसको हत्या र अपहरणका कैयन घटनामा समेत संलग्न रहँदै आएका थिए। व्यापारी तथा विभिन्न पेसा–व्यवसाय गर्ने अन्य व्यक्तिहरूसँग बलपूर्वक असुलेको पैसा मोजमस्ती र गुण्डादस्ताको पालनपोषणमा खर्च गर्ने चरीले केही ढावा, रेस्टुरेन्ट र क्यासिनो भेनसमा नगद लगानी पनि गरेका थिए। ०६३ देखि घैंटेसँग छुट्टिएर एक्लै आपराधिक गिरोह सञ्चालन गर्दै आएका चरीले ०६४ मा धादिङको सिँचाइ कार्यालयमा भएको टेण्डरमा ठेकेदारहरूबाट दुई लाख पच्चीस हजार असुलेका थिए। ०६५ देखि यार्सागुम्बा लुट्ने कार्यमा संलग्न चरीले हालसम्म आठपटक गरी चालीस केजी यार्सागुम्बा लुटेको प्रमाण प्रहरीसँग रहेको छ। सो परिमाणको यार्साको मूल्य दुई करोडभन्दा बढी पर्ने बताइन्छ। चरीले त्रास देखाई रकम असुल्ने, ठेक्कापट्टामा जबर्जस्ती रकम असुलीका निम्ति गुण्डादस्ता खटाउने र अलिक ठूलै रकमको ठेक्का भएमा आफैँसमेत सहभागी भई नगद असुल्ने, मानिस उपहरण गरी फिरौती माग गर्नेजस्ता काम गर्दै आएको भए पनि उसका विरुद्ध उजुरी दिने हिम्मत कसैले पनि गर्दैनथे। तथापि उसका विरुद्ध केही उजुरी भने प्रहरीमा परेका छन्। जयराम बानियाँ, एडा भनिने सुनील पाण्डे र रविन भनिने रामेश्वर सापकोटाले चरीले पठाएको भन्दै लाखौँ रुपैया माग गरेपछि हरिप्रसाद शर्मा काफ्लेले ०७० फागुनमा उजुरी दिएका थिए। यिनै व्यक्तिहरूले चरीको नाम लिँदै रकम मागेर हैरान बनाएपछि नवराज अधिकारीले पनि प्रहरीमा उजुरी दिने हिम्मत जुटाएका थिए। उल्लिखित दुवै घटनामा संलग्न अन्य व्यक्तिहरू पक्राउ परे पनि चरी फरार थिए। ०६२ कात्तिक १५ गते प्रकाशराज सिलवाललाई खुकुरी प्रहार गरी घाइते बनाउने चरी पक्राउ परे पनि हिरासतबाटै भाग्न सफल भएका थिए। त्यसैगरी अरुण शर्मा र लक्ष्मण बस्नेतसहित तीनजनालाई घातक हतियार प्रयोग गरी सख्त घाइते बनाएपछि चरीलाई पक्राउ गरी एघार महिनासम्म कैदमा राखिएको थियो। ०७० कात्तिकमा गैंडाको खाग तस्करीमा सप्रमाण पक्राउ परेका चरी राजनीतिक दबाबमा छुट्न सफल भएका थिए। तर, धादिङकै राधाकृष्ण (राधे) भण्डारीलाई ज्यान लिने हमला गरेयता भने चरीले भारत र नेपालमा लुकिछिपी आफ्नो धन्दा चलाउँदै आएका थिए। काठमाडौं वडा नं. १६ मा ससुराली घरमा बस्दै आएका पच्चीस वर्षीय केशवबहादुर गुरुङसँग जबर्जस्ती पैसा असुली गर्न चरीले खटाएका अस्मित बस्नेतको भने निज गुरुङले पैसा लिन आउनु भनी बोलाएर हत्या गरिदिएका थिए। धादिङको बालुवा र ढुङ्गाखानी तथा एक जलविद्युत् आयोजनामा समेत लगानी गरेका चरीले धादिङकै एक–दुई सभासद्सँग मिलेर जग्गाको कारोबार गर्ने गरेकोसमेत जानकारीमा आएको छ। एमालेका दुई सभासद् (धादिङ) हरूको आम्दानीको ठूलो स्रोत चरी बनेकोले पनि चरीबध प्रकरणलाई लिएर उनीहरू अस्वाभाविक रूपमा ‘रियाक्टेड’ भइरहेको बताइन्छ।
नेपाल प्रहरीले पछिल्लो समयमा गुण्डागर्दीविरुद्ध विशेष कारबाही सुरु गरेको छ। प्रहरी सक्रियताकै क्रममा मुठभेडमा परी चरीको ज्यान गएको छ। प्रहरीले चरीको आर्थिक कारोबारको सबै नसा पत्ता लगाउन अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यसरी प्रहरीले अनुसन्धान सुरु गरेपछि चरीसँग आर्थिक सम्बन्ध भएका धादिङका केही सभासद्हरू मानवअधिकारवादी व्यक्ति र संस्थाहरूलाई गुहारी आफ्नो बचाउ गर्ने प्रयासमा लागेका छन्। जे होस्, यसपटक नेकपा एमालेले अपराधीहरूको संरक्षण राजनीतिक तहबाट नै भइरहेको तथ्यबारे सिङ्गै देशवासीलाई जानकारी गराएको छ।