news and more entertainment

मुख थुनेर यौन सम्पर्क गरेको भन्दै विबाह भएको एक हप्तामै सम्बन्ध विच्छेद

स्याङ्जा : एक हुल महिला र पुरुषको समूह प्रहरी कार्यालयमा आइपुग्यो। बेहुला पक्षले नवविवाहिता एक किशोरीको चरित्रमा शंका गर्दै परिवारमा राख्न नसक्ने बतायो। बिहेको भोली पल्टै घरबाट भागेर जानेलाई बुहारी र पत्नीका रुपमा राखे घरबार पनि राम्रो नहुने भन्दैै बेहुला पक्ष केही आक्रोशित देखियो।

प्रहरी कार्यालय परिसरमा बेहुला र बेहुली, दुवै पक्षका आफन्त र समाजबीच दिनभर जसो नै तर्कवितर्क र वादविवाद भयो । केहीले बेहुली पुन: लिएर घर जाने बताए भने केहीले घर लान नहुने भने। प्रहरी हवल्दार मनिषा गुरुङले बेहुला र बेहुली दुवैलाईसँगै राखेर दुवैको मनसाय र भावना बुझ्ने कोसिस गरिन्।

कुटपीटका कारण देखिएका चोट र दागका कुरा त देखिएला तर नदेखिएका पीडाको कुरा कस्ले सुन्ला, कस्ले देख्ला ? करिब १८ वर्षे किशोरीले भनिन्। हुन पनि भर्खरै बिहे भएको साता दिन पनि नबित्दै पतिसँग बस्न नसक्ने उनको मनसाय यसरी नै व्यक्त भएको थियो। बिहेपछिको राति पतिको जबरजस्ती व्यवहारले उनलाई तर्सायो अनि पतिसँगै बस्न नसक्ने मानसिकता बनाइदियो। आफूलाई मुख थुनेर यौन सम्पर्क गरेको आरोप लगाउँदै पतिसँग बस्न नसक्ने युवतीले बताइन्। बेहुलाले पनि शारीरिक सम्पर्कका बेला चिच्चाएका कारण आफूले मुख थुनेको स्वीकार गरे।

बिहेको भोलीपल्टै नव बेहुलीले पतिसँगै घरमा बस्न नसक्ने जनाउ दिएको परिवारले जनाएको छ। घरबाट लगाइदिएका सुनका गहना सिक्री, औठीं र टप पनि घरमै छाडेर उनी साँझपख बेखबर भइन्। रातभर घरपरिवार बेहुलीको खोजीमा जुट्यो र उनलाई भेटेपछि प्रहरी चौकीमा दुवै पक्ष पुगे। प्रहरी चौकीले थप अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा पठायो। दिनभर प्रहरी कार्यालयमा छलफल भयो। प्रहरीले कानुनी बाटो रोज्न सुझाव दिदै दुवै पक्षलाई फर्काएको छ। 'हामीले कानुनी बाटो रोज्न सुझाव दिएर फर्कायौं, प्रहरी नायव उपरीक्षक बुद्धिराज गुरुङ्ले भने।

दसैंको दिन पारेर मात्र मागी बिहे भएको हो उनीहरूको। दुवैजनाको प्रत्यक्ष कुराकानी र दुवै राजीखुशीका कारण बिहे गरिदिएको बेहुलीका हजुरबुबाले जानकारी दिए। सानो छँदा आमा बुवा दुवै गुमाएकी ती १८ वर्षे किशोरी कहिले हजुरबुवा त कहिले सानी आमाको संरक्षणमा हुर्केको उनका हजुरबुवाले बताए। सामान्य लेखपढ, वैदेशिक रोजगारबाट भर्खरै फर्केका सम्पन्न परिवारका केटाको घरबाट बिहेको लागि प्रस्ताव आएपछि हजुरबुवाले पनि नातीनीको उज्ज्वल भविष्य देखेर बिहे गरिदिएको बताए। ' अब सँगै बस्नुको अर्थ भएन, प्रहरी चौकीमा आएका हजुबुबाले भने।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget