बि.स २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्र शाहको वंश नाश हुने गरि घटेको नारायणहिटी दरबार हत्या काण्डको रहस्य अझै खुल्न सकेको छैन । त्यसैले घट्ना घटेको झण्डै १४ वर्ष भैसक्दा पनि सो हत्याकाण्डबारे चित्त बुझ्दो जवाफ नेपाली जनताले पाउँन सकेका छैनन् ।
जति कारण बाहिर प्रकाशमा ल्याइएको छ,त्यसमा जनता अझै विश्वस्त हुन सकेको छैन । सो दुर्घट्ना पश्चात छानविनका लागि गठित उच्चस्तरीय आयोगले तत्कालीन युवराज दीपेन्द्र शाहले नै आफ्ना बुवा आमा,भाइ बहिनी सहित नातेदारहरुको हत्या गरेको प्रतिवेदन सार्वजनिक गर्यो ।
तर धेरैले उक्त प्रतिवेदनमाथि विश्वास गरेनन् । युवराज दीपेन्द्र जस्तो शालीन व्यक्तित्वबाट त्यस्तो खतरनाक रक्तपात भएको मान्न कोही तयार भएनन् भने अझै कति नेपाली दीपेन्द्रलाई हत्यारा मान्न राजी छैनन् । आखिर को थिए त हत्यारा ? हत्याको मूख्य कारण के थियो ? प्रस्तुत छ सहयात्री डेस्कले तयार पारेको एक सामाग्री :
हत्यारा को थिए ?
शाही हत्याकाण्डको अहिलेसम्मको अध्ययन प्रतिवेदन र घट्नाका प्रत्यक्षदर्शीहरुको बयान अनुसार उक्त हत्या काण्ड तत्कालीन युवराज दीपेन्द्र शाहबाटै भएको हो । उक्त हत्याकाण्डबारे नेपालमा समेत कसैलाई कुनै फिल्म वा डकुमेन्ट्री बनाउँने अनुमति दिइएको छैन ।
तर डिस्कभरी च्यानलले भने यसबारेमा डकुमेन्ट्री बनाएका छन् । घटनालाई नाटकीय रुपान्तरण गरेर बनाइएको रोयल मास्क्यट शीर्षकको उक्त डकुमेन्ट्री ४६ मिनेट १८ सेकेन्ड अवधिको छ ।
डकुमेन्ट्री निर्माणको स्रोतका रुपमा हत्याकाण्डको बारेमा अध्ययन गर्न गठित छानविन समितिको प्रतिवेदन र प्रत्यक्षदर्शीहरुलाई नै लिइएको छ । स्रोत व्यक्तिका रुपमा घटना घटेको बेला दरबारमै उपस्थित कुमार गोरख,केतकी चेष्टर,महेश्वरमान सिंहले डकुमेन्ट्रीमा बयान दिएका छन् ।
उक्त डकुमेन्ट्रीले पनि हत्या युवराज दीपेन्द्रले नै गरेको किटान गरेको छ । यद्यपि त्यसका कारणहरुबारे पनि डकुमेन्ट्रीमा राम्ररी उल्लेख गरिएकोले अधिकाँश दर्शक कन्भिन्स हुन सक्छन् ।
किन भयो त हत्या ?
डकुमेन्ट्रीले युवराज दीपेन्द्र सानैदेखि शान्त र सन्की स्वभावका व्यक्ति भएको देखाएको छ । त्यसमा उनको काका महेश्वरमान सिहंले दीपेन्द्रको बाल्यकालको एक दिनको घट्नालाई उदाहरण दिएर उनलाई सन्की स्वभावको भनेर पुष्टि गर्ने प्रयास गरेका छन् । आठै वर्षको उमेरदेखि पेस्तोल चलाउँन पाएका दीपेन्द्र हतियारका सौखिन भएको पनि देखाइएको छ । कतिसम्म भने उनी दरबारभित्रै काग र विरालोलाई बन्दुक हानी मार्ने गर्थे । शिकारका लागि नभई आफ्नो बन्दुक प्रेमका कारण उनले त्यसो गर्ने गरेको डकुमेन्ट्रीमा उल्लेख छ ।
लजालु स्वभावका भनिएका दीपेन्द्र १९ वर्षको उमेरमै सुप्रिया शाह नामक युवतीको प्रेममा परेका थिए । उनले त्यही बेला आफ्नी प्रेमिकालाई भित्ररयाउँन चाहे पनि उनकी आमा ऐश्वर्यले सानै उमेर भएको भन्दै विवाहको अनुमति नदिएको पनि डकुमेन्ट्रीमा देखाइएको छ ।
पछि बेलायतमा अध्ययनका लागि रहँदा दीपेन्द्र र देवयानी राणाबीच अफेयर्स चल्यो । अध्ययन सकेर दीपेन्द्र र देवयानी दुवै नेपाल फर्के तर उनीहरुको प्रेम सम्बन्ध भने निरन्तर चलि नै रह्यो । पछि यसबारेमा दरबारले पनि थाहा पाए । तर यस पटक पनि उनीहरुको विवाहमा आमा एश्वर्य नै बाधक बनेर उभिए । त्यसरी रानी एश्वर्य विपक्षमा उभिनुमा देवयानी र दीपेन्द्रको कुन्डली अनुसार विवाह गर्न नहुने ज्योतिषको सल्लाह कारण रहेको खुलाइएको छ ।
यसरी आफ्नो हरेक प्रेममाथि प्रत्येक पल्ट अस्वीकृत हुँदै आएपछि दीपेन्द्र विस्तारै लागू पदार्थको दुव्र्यशनमा फस्तै गएको देखाइएको छ । त्यही लागू पदार्थको वेहोशीमा प्रेमिका देवयानीकै कारण दीपेन्द्रले दरबार हत्याकाण्ड घटाएको डकुमेन्ट्रीमा दर्शाइएको छ ।
जेठ १९ गते राति देवयानीले के गरिन् ?
नारायण हिटी दरबारमा शुक्रवारको रात्री पार्टी चलिरहेकै बेला दीपेन्द्रले देवयानीलाई फोन गर्छन् । देवयानीले आफू दीपेन्द्रसँग कतै जाने उदेश्यले फोनको प्रतीक्षामा रहेको बताउँछिन् । तर दीपेन्द्रले आज दरबारमा धेरै पाहुनाहरु रहेकोले आफू जान असमर्थ रहेको बताउँछन् । दीपेन्द्रको जवाफले देवयानी रुष्ट बन्छिन् र कति परिवार परिवार मात्र भनिरहन्छौ ? भनेर देवयानीले दीपेन्द्रसँग गुनासो पोख्छिन् । नशामा चूर रहेको दीपेन्द्रको मनमा देवयानीको उक्त भनाइले मनमा छुन्छ । र,बेहोशीमै गएर आफ्नो वुवा आमा,भाइ बहिनी र अन्य नातेदारहरुमाथि गोली प्रहार गरी हत्या गरेको डकुमेन्ट्रीमा देखाइएको छ ।
डकुमेन्ट्रीले पनि आर्मी ड्रेसमा स्वचालित मेशन गन बोकेर आएका दीपेन्द्रले पहिलो प्रहार वुवा वीरेन्द्रमाथि गरेको देखाइएको छ । उक्त अप्रत्यासित घट्ना पछि पनि त्यहाँ उपस्थित कसैले दीपेन्द्रलाई रोक्न नखोजेकोले पनि वुवा वीरेन्द्र माथि गोली प्रहार गरि बाहिर वगैंचामा निस्केका दीपेन्द्र फेरि फर्केर आएर अन्य सदस्यहरुको हत्या गरेको देखाइएको छ ।
त्यसपछि फेरि बाहिर निस्केका दीपेन्द्रलाई पछ्याउँदै गएर आमा ऐश्वर्य र भाइ निराजनलाई बाहिरै गोली हानेर उनले मार्छन् । त्यतिञ्जेलसम्ममा घट्नास्थलमा सुरक्षा फौज पुगिसकेको हुन्छ । तर चर्चामा आए जस्तै कुनै अज्ञात व्यक्तिको गोली प्रहारबाट युवराज दीपेन्द्र पनि मारिएको देखाइएको छ । तर त्यो व्यक्ति को थिए ? भन्नेबारे भने डकुमेन्ट्री पनि अनुत्तर छ ।
साथै डकुमेन्ट्रीले युवराज दीपेन्द्रले प्रेमिका देवयानीलाई दरबार भित्र्याउँने आफ्नो निर्णयको विरुद्धमा उभिने कसैलाई बाँकी नछाड्ने भनी पहिले नै धम्की दिएको प्रसँग पनि उल्लेख गरेको छ । त्यसक्रममा राजपरिवारका अन्य सदस्यहरु मौन रहे पनि गर्भवती बहिनी श्रुतिले भने आफ्नो दाजुले दिएको धम्कीको विरोध गरेकी थिइन् ।
यस्तै डकुमेन्ट्रीले नारायणहिटी हत्याकाण्डमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको कुनै हात नरहेको र पछिसम्म पनि विना कुनै सवुत हत्याको सबै अभियोग ज्ञानेन्द्रमाथि लगाउँनु मिथ्य मात्र रहेको दाबी गरेको छ । अन्त्यमा घट्नाका साक्षी मध्येका एक केतकी चेष्टरले पनि ती सबै घट्ना आफ्नै आँखा अगाडि घटेको हुनाले दीपेन्द्रले नै उक्त भयानक हत्याकाण्ड घटाएको जिकिर गरेकी छिन् ।
(सहयात्री विशेष)
Post a Comment