रक्सीले मातेर ढुनमुनाउँदै आउँछ, एउटा पुरुष। र, यौन आवेगमा खनिन्छ पत्नीमाथि। उसलाई पत्नीको इच्छा र सहमतिसँग कुनै सरोकार हुँदैन। सरोकार हुन्छ त केबल आफ्नो देहको भोक। उसका निम्ति पत्नी विलासकी साधन, यौनकी पुत्ला र तमासाकी यन्त्रबाहेक केही हुन्न। पत्नी उसको नाउँको सिन्दुर लगाउँछे र हरेक अपमान र अत्याचार सहेर बस्छे। परम्परा र संस्कारले उसलाई सहनशीला सुशीला हुन सिकाएकै छन्।कानुन भन्छ– श्रीमतीको सहमतिबेगर गरिने यौन अभ्यास वैवाहिक बलात्कार हो।
कानुनले दण्ड पनि तोकेको छ। तर, कति जना राक्षस पतिलाई कानुनले पाता कस्न सकेको छ? लोकलाजका डरले अशिक्षित त के, शिक्षित र आधुनिक महिलासमेत श्रीमानको बलात्कारविरुद्ध बोल्ने हिम्मत गर्दैनन्। अम्मर जिसीले वैवाहिक बलात्कारको भयानक तस्बिर उतारेका छन्। पीडाको बयान काठमाडौँकी कविता परियार श्रीमान्लाई यौन सन्तुष्टि दिन नसकेकोमा चिन्तित छिन्। बिहे भएको पाँच वर्ष बितिसक्दा पनि उनका सन्तान भएका छैनन्। ‘उहाँ (श्रीमान्) बच्चा जन्माउन मान्नुहुन्न,' उनले पीडा पोखिन्, ‘बच्चा जन्माउँदा नौ महिनासम्म यौन सम्पर्क गर्नु हुँदैन रे।
त्यसैले बच्चामा रुचि छैन भन्नुहुन्छ।' श्रीमान्ले बच्चा नजन्माउने भनेदेखि कवितालाई यौन सम्पर्क गर्ने जाँगर मरेको छ। ‘तर, उहाँ चौबिसै घण्टा टाँसिन खोज्नुहुन्छ,' उनले भनिन्, ‘मैले जतिसुकै नाइँनास्ति गरे पनि मान्नुहुन्न।' कविता श्रीमान्ले आफूसँग यौन सम्पर्कमात्रै गरिदिए पनि खासै समस्या नहुने बताउँछिन्। ‘तर, उहाँ त मज्जा आउँछ भन्दै मेरो जीउभरि टोक्ने, चिमोट्ने, कोतर्ने गर्नुहुन्छ,' उनी भन्छिन्, ‘म रोएपछि उहाँलाई त्यस्तो (यौन सम्पर्क) गर्दा आनन्द आउँछ रे।' आफूले पर्याप्त यौन सन्तुष्टि दिन नसकेकाले श्रीमान् ‘अराजक' बनेको हुनसक्ने कविताको अड्कल छ। भन्छिन्, ‘मेरै दोष होला नि। नत्र, किन त्यस्तो दुःख दिनुहुन्थ्यो?' तर, कहिलेकाहीँ उनलाई आफ्नो श्रीमान् मान्छे हुन् कि राक्षस छुट्याउनै मुुस्किल पर्छ। ‘महिनावारी र बिरामी पर्दा सम्पर्क नगरौँ भन्छु,' उनी भन्छिन्, ‘तर, मान्नुहुन्न। झम्टिहाल्नुहुन्छ। त्यो बेला त लोग्ने–सोग्ने नभनेर घाँटी थिचेर मार्दिऊँ जस्तो लाग्छ।' धनकुटा, हिलेकी मिठु याकथुम्बाले पनि श्रीमतीलाई ‘सेक्स मेसिन' ठान्ने श्रीमान् पाइन्। सरकारी जागिरे हुन् उनका श्रीमान्। दिनभरिको कामले थाकेर लखतरान परेकी श्रीमतीलाई साँझ मरणासन्न हुनेगरी सताउँथे उनी। कलेज पढ्ने छोराछोरीकी आमा मिठु यस्तो पीडाबाट मुक्ति चाहन्थिन्। ‘डिभोर्सै गर्ने सुर कसेर आएकी थिइन् ती दिदी,' महिला मानवअधिकार रक्षक सञ्जालकी सदस्य मनकला लिम्बूले शुक्रवारसँग भनिन्, ‘यो उमेरमा छुट्टिएर बस्न गाह्रो हुन्छ भनेर हामीले दुवै जनालाई सँगै राखेर मिलापत्र गराइदियौँ।' सुनीता भट्टको बिहे भएको १५ वर्ष भइसक्यो। दुई सन्तानकी आमा सुनीता रात किन पर्दो हो? भन्दै दिक्क मान्छिन्।
उनी रातदेखि आत्तिनुको कारण उनका श्रीमान् हुन्। 'मोबाइलमा ब्लू फिल्महरू देखाउँछ,' उनले भनिन्, ‘र, यस्तै गर् भन्दै पिट्छ। उल्टोसुल्टो जे पायो, त्यही गर्न लगाएर हैरान बनाउँछ। कहिलेकाहीँ त डोरीले हातखुट्टा बाँधेर भुइँमा लडाउँछ मलाई। ‘खुट्टाभन्दा घाँटीमै बाँधेर झुन्ड्या' भन्छु। के मान्थ्यो र राक्षस!' इच्छाविपरीत छुनु पनि अपराध श्रीमानले श्रीमतीलाई बलात्कार गर्छन् भनेको सुन्दा आश्चर्य मान्नेहरू धेरै छन्, हाम्रो समाजमा। तर, कसैको इच्छाविपरीत गरिने सबै यौन व्यवहार बलात्कार नै हुने महिलाअधिकारकर्मी डा. रेणु राजभण्डारी बताउँछिन्। ‘चाहे त्यो श्रीमानले गरोस् या अरू कसैले, इच्छाविपरीत, जबर्जस्ती गरिने यौन कार्य बलात्कार नै हुन्,' उनले भनिन्, ‘श्रीमतीको इच्छाविपरीत श्रीमानले छुनु पनि अपराध हो।' श्रीमान्ले श्रीमतीको सहमति वा इच्छाबेगर गर्ने संसर्गलाई कानुनले नै ‘वैवाहिक बलात्कार'को संज्ञा दिएको छ। नेपालमा श्रीमान्बाटै बलात्कृत हुने महिलाको संख्या धेरै भए पनि यो समस्या बाहिर आउन नसकिरहेको सरोकारवालाहरू बताउँछन्। ‘कतिलाई त यो समस्या हो भनेरै थाहा छैन,' डा. राजभण्डारीले भनिन्, ‘जबर्जस्ती गरेको थाहा पाएर पनि कतिपय महिला सहेरै बसिरहेका छन्।' उदयपुरकी रीमा थपलिया श्रीमानसँग सम्बन्ध–विच्छेद गरेर अहिले एक्लै बसेकी छिन्। घरेलु हिंसाका कारण सँगै बस्न नसक्ने भन्दै उनी श्रीमान्सँग टाढिएकी हुन्। तर, रीमाको वास्तविक व्यथा अर्कै छ। यौन आनन्द हुने भन्दै श्रीमानले उनको गुप्तांगमा खुर्सानीको धुलो हालिदिने गर्थे। ‘ऊ भने पोल्छ भनेर कन्डम लगाउँदो रहेछ,' स्वास्थ शिविरका क्रममा भेटिएकी बिरामी रीमाबारे डा. राजभण्डारी भन्दै थिइन्, ‘श्रीमती चिच्याउँदा चरम आनन्द आउँछ भन्थ्यो रे। ती महिलाको योनी पाकेर पीपैपीपले भरिएको थियो।' वर्षौंदेखि यस्तो पीडा सहँदै आएकी रीमाले डा. राजभण्डारीलाई रुँदै आफ्नो व्यथा पोखेकी थिइन्। यही कारण उनले श्रीमान्सँग टाढिनुपरेको समेत बताइन्। अधिकारकर्मी राजभण्डारीकहाँ आउने अधिकांश घरेलु हिंसाका केसहरू खोतल्दै जाँदा तिनको जरो यौन शोषणमै पुगेको हुने उनले बताइन्। ‘सुरुमा त श्रीमानले हेलाँ गर्छ, माया गर्दैन, कुट्छ भन्छन्,' उनले भनिन्, ‘कुरा गर्दै जाँदा उनीहरू यौन शोषणकै कारण आजित भएको बताउँछन्।' बलात्कारविरुद्धको राष्ट्रिय अभियानअन्तर्गत काठमाडौँको भद्रकालीमा धर्ना दिइरहेका छन्, महिला अधिकारकर्मीहरू। त्यहीँ भेटिएकी जुम्लाकी राधा पौडेलका अनुसार नेपाली नारीहरू श्रीमानको नियन्त्रणमा रहनुलाई आफ्नो सौभाग्य ठान्छन्। ‘त्यसैले उसले जे गर्छ, त्यसको विरुद्ध कदापि जान चाहँदैनन्,' उनले भनिन्, ‘आफू बलात्कृत भइरहेको पत्तै हुन्न उनीहरूलाई।' परिवारको इज्जत र प्रतिष्ठा गुम्ने अनि आफ्नो भविष्यसमेत अन्योलमा पर्ने भयले पीडितहरू मौन रहने गरेको उनले बताइन्। घरेलु हिंसाको कारण सेक्स बझाङकी कल्पना चन्द महिला अधिकारको क्षेत्रमा काम गर्न थालेको १० वर्ष भइसक्यो। उनले अहिलेसम्म श्रीमानले बलात्कार गर्योच भन्दै उजुरी दिने आउने महिला भेटेकी छैनन्। 'त्यस्तो आँट गर्न सक्ने महिलै छैनन् बझाङमा,' उनले भनिन्, 'घरैपिच्छे महिलाहरू श्रीमान्बाट नियन्त्रित छन्। सबै पीडित छन्। तर, बोल्ने हिम्मत कसैमा छैन।' घरेलु हिंसाका घटनाहरू खोतल्दा नै यौन हिंसाका कुरा फुस्किने उनले बताइन्। 'महिलाको शरीरलाई आफ्नै बाउको बिर्ता ठान्छन् पुरुषहरू,' उनी भन्छिन्, ‘त्यसैले जे मन लाग्यो, त्यही गर्छन्।' श्रीमानले गर्ने यस्तो कार्य अपराध हो भन्ने नबुझेर पनि घटना बाहिर नआउने गरेको धनकुटाकी महिला अधिकारकर्मी लिम्बूको अनुभव छ। भक्तपुरकी कल्याणी थापाको बुझाइ पनि यस्तै छ। 'हाम्रो समाजमा कुण्ठित महिला/पुरुष धेरै छन्,' थापाले भनिन्, ‘कुण्ठाले नै अनेकथरी समस्या निम्त्याउँछ। महिलाहरू रातदिन श्रीमान्बाट बलात्कृत हुनुपर्ने अवस्था छ। तर, लोकलाजको डरले घटना बाहिर आउँदैनन्।' जुम्लाकी राधा पौडेलका विचारमा महिलाहरू ‘पति नै परमेश्वर' को रुढिग्रस्त अवधारणाको कैदी भएकाले श्रीमानहरूले जे पायो त्यही गर्ने हिम्मत जुटाएका हुन्। ‘श्रीमानले जतिखेर भन्यो, उतिखेर लम्पसार पर्न तयार हुनुलाई महिलाहरू भगवानको सेवा गरेसरह ठान्छन्,' उनले भनिन्, ‘इच्छा, समय, स्वास्थ्य अवस्था केहीको मतलब नगर्ने पुरुषहरू आफू श्रीमतीको बलात्कार गर्दैछु भन्ने कदापि ठान्दैनन्।' उनी यसविरुद्ध बलियो कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने खाँचो औँल्याउँछिन्। ‘आफ्नो शरीरको अधिकार आफूलाई मात्रै हुन्छ,' उनले भनिन्, ‘अरूले जबर्जस्ती गर्न पाउनु हुन्न। गर्नेलाई कडाभन्दा कडा सजाय दिनु राज्यको दायित्व हो।' निम्छरो कानुन गोपनीयताकै कारणले महिलाहरू श्रीमान्बाट हुने बलात्कारबारे कुरा गर्न डराउने गरेको अधिकारकर्मी मन्दिरा शर्माले बताइन्। 'समाजले थाहा पायो भने के हुने हो भन्ने डर सबै महिलामा हुन्छ,' उनले भनिन्, 'सम्बन्ध–विच्छेदकै आँट गर्नेले मात्र यस्ता घटना बाहिर ल्याउँछन्।' आर्थिक, सामाजिक, सांस्कृतिकलगायत कारणले महिलालाई परिबन्दमा पारेको उनको बुझाइ छ। ‘महिलालाई पुरुषसरह बनाउन सम्पूर्ण संरचना नै परिवर्तन गर्नुपर्छ,' उनी भन्छिन्। महिलालाई श्रीमानको दमनविरुद्ध उत्रन कानुनले समेत नसघाएकोमा अधिकारकर्मी शर्मा खिन्न छिन्। 'कानुन बनाउने र कार्यान्वयन गराउने ठाउँमा भएकाहरूले नै ‘श्रीमानले गर्ने बलात्कार अपराध होइन' भन्छन्,' उनी भन्छिन्, ‘यो मुद्दालाई ओझेलमा पार्न खोजिएको छ।' यौन सम्पर्क भनेकोे श्रीमानको मात्र इच्छा हो भन्ने सोच परिवर्तन नहुञ्जेल महिलाहरू वैवाहिक बलात्कारको सिकार बनिरहनुपर्ने उनी बताउँछिन्। असमान दण्ड जिल्ला अदालत नवलपरासीले माचड गाविसका वेदप्रसाद पंगेनीलाई तीन महिना कैद सजायको फैसला गर्यो । अदालतका न्यायाधीश भीमबहादुर बोहराले पंगेनीलाई पत्नीलाई जबर्जस्ती करणी गरेको कसुर ठहर गर्दै तीन महिना कैदको फैसला सुनाए। पंगेनीको बिहे २०५० सालमा भएको थियो भने २०५८ सालसम्म तीन छोरा जन्मिसकेका थिए। २०५९ सालदेखि अनैतिक र जबर्जस्ती करणी गरेको भन्दै पंगेनीकी श्रीमतीले अदालतमा मुद्दा दर्ता गरिन्। इटहरीका रुपेश बुढाथोकी पनि श्रीमतीलाई बलात्कार गरेको अभियोगमा थुनामा परे। रक्सी खाएर पटक–पटक बलात्कार गरेको भन्दै उनकी श्रीमतीले जाहेरी दिएपछि बुढाथोकी पुर्पक्षका लागि थुनामा परेका हुन्। त्यसपछि उनी ४ हजार २ सय रुपैयाँ धरौटी तिरेर रिहा भए। पीडित पक्षले घटनालाई घरायसी मामिलाका रूपमा लिएर लचिलो बनेपछि जिल्ला अदालत सुनसरीले बुढाथोकीलाई रिहा गरेको हो। धादिङ जिल्लाको दक्षिणपूर्वी केबलपुर गाविसका ४० वर्षीय श्यामबहादुर कोइराला पनि श्रीमतीलाई बलात्कार गरेको अभियोगमा थुनामा परे। कोइरालाले बिहे गरेको २७ वर्ष भइसक्यो। उनका तीन छोरी र एक छोरा छन्। तीन छोरीको बिहे भइसकेको छ भने कान्छो छोरा १६ वर्षका छन्। उनकी ४० वर्षीया श्रीमतीले गत माघ महिनाको तेस्रो साता श्रीमानले विगत १५ वर्षदेखि सधैँ रक्सी खाएर घरमा आउने, आफू बिरामी हुँदा होस् वा महिनावारी हुँदा जबर्जस्ती यौनसम्पर्क गर्ने, यौनसम्पर्क गर्न नदिँदा धेरै पटक कुटपिट गर्ने र बलात्कारबाट जोगिन आफू रातभरि गोठमा सुत्ने गरेको भन्दै प्रहरीमा जाहेरी दिइन्। प्रहरीका अनुसार वैवाहिक बलात्कारको यो मुद्दा जिल्लामै पहिलो थियो। नेपाली समाजले विवाहपछि श्रीमानसँगको यौन सम्पर्कलाई मान्यता दिन्छ। तर, नेपालको कानुनले पतिपत्नीबीचको सहमतिविपरीत भएको यौन सम्पर्कलाई स्विकार्दैन। यही कानुनी प्रावधानले नवलपरासी, इटहरी र धादिङमा आफ्नै पत्नीलाई जबर्जस्ती करणी गर्ने पतिले जेल जानु परेको हो। मुलुकी ऐनअनुसार कुनै पनि महिलाको सहमतिविना गरिने यौन कार्य बलात्कार हुन्छ। श्रीमतीको इच्छाविपरित हुने यौनसम्बन्धलाई वैवाहिक बलात्कार मानिएको छ। वैवाहिक बलात्कारसम्बन्धी सर्वोच्च अदालतको २०५९ सालको एउटा फैसला नजिर बन्यो। अधिवक्ता मीरा ढुंगानाले २०५८ सालमा दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रीमतीसँग गरिने जबर्जस्ती यौनसम्बन्ध ‘वैवाहिक बलात्कार' हुने फैसला गरेको थियो। अदालतले कानुनमा संशोधन गरेर जोसुकै महिलाका साथसाथै ‘आफ्नी पत्नी' सँग जबर्जस्ती यौनसम्पर्क गर्दा बलात्कार हुने भनेको छ। त्यसैका आधारमा ‘लैंगिक समानता ऐन–२०६३' ल्याइयो र वैवाहिक बलात्कारलाई पनि ऐनमै उल्लेख गरियो। यो ऐनले वैवाहिक बलात्कार गर्नेलाई तीन महिनादेखि छ महिनासम्म कैदको व्यवस्था गर्योक। यद्यपि, अन्य बलात्कारमा बढीमा १५ वर्षसम्म जेल सजाय र क्षतिपूर्तिको व्यवस्था रहेको छ। महिलाअधिकारकर्मीहरू यो कानुन निकै विभेदपूर्ण भएको दाबी गर्छन्। ‘बलात्कार बलात्कार नै हो,' अधिवक्ता मीरा ढुंगाना भन्छिन्, ‘श्रीमानले गरोस् या परपरुषले, जुनसुकै बलात्कारमा दण्डसजाय समान हुनुपर्छ।'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment