किन हुदै छ वैवाहिक सम्बन्ध धरापमा,? वैदेशिक रोजगार ? या तीव्र यौनचाहना ?
पतिको यातना सहन नसकेर म्याग्दीकी सबनम चोखालले सम्बन्धविच्छेदको लागि अदालतमा मुद्दा दायर गरेकी छिन् । दिनरात मदिरा सेवन गरेर कुटपिट गर्ने, गाली–बेइजती गर्नेजस्ता व्यवहारले हैरान भएपछि उनी दुई छोरालाई साथ लिएर एक्लै बस्दै आएकी छिन् । ‘सधैँ हिंसा सहेर कति बस्नु ?’ सबनमले भनिन्– ‘त्यसैले छोराहरुलाई लिएर एक्लै बस्न पाऊँ भनेर मुद्दा हालेकी हुँ ।’
यस्तै पूर्वी नेपालको तेह्रथुम स्थायी घर भएकी जानुका खनाल पनि श्रीमान्सँग डिभोर्स दिने सोचमा पुगेकी छिन् । जाँडरक्सी नखाए पनि दिनरात अश्लील शब्दले गाली गर्ने, कुटपिट गर्नेजस्ता श्रीमान्को व्यवहार सहन नसकेर डिभोर्स दिने सोचमा पुगेकी हुन् उनी । ‘जाँडरक्सी खाँदैन, मेहनती छ भनेर विवाह गरियो, रातदिन पिटेर मानसिक यातना दिन्छ’, उनले भनिन्– ‘डराएर कति दिन बस्नु, आफ्नी श्रीमतीलाई इज्जत गर्न नसक्ने मान्छेसँग यति लामो जिन्दगी कसरी बित्छ ?’ ‘म वैवाहिक सम्बन्धबाट आजित महिला हुँ । श्रीमतीका स–साना कुरा र उसका विचारहरुको सम्मान नगर्ने, आवश्यकताहरुको सुझबुझ र हल निकाल्न नसक्ने प्रवृत्तिका पुरुषहरुबाट प्रताडित भई मजस्ता धेरै नेपाली दिदी–बहिनीले सम्बन्धविच्छेद गरेका छन्’, सामाजिक कार्यकर्ता अम्बिका भुसालले एक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेको विचार हो यो । यसरी श्रीमान्बाट विभिन्न प्रकारका हिंसा पाएर सम्बन्धविच्छेद गरी बस्ने हजारौं महिला हाम्रो समाजमा प्रशस्तै पाइन्छन् ।
वैवाहिक सम्बन्ध विवाहपूर्व महिला या पुरुषले कल्पना गरेजस्तो आदर्श सम्बन्ध नहुन पनि सक्छ । एक–अर्काबीच सम्मानपूर्ण र मायालु व्यवहार, पारिवारिक मेलमिलापजस्ता विषयमा असमझदारी आएर निम्त्याउने अप्ठयाराहरुले दम्पत्य जीवनको विखण्डन गरिदिने विज्ञहरुको ठहर छ । विवाह एक पवित्र बन्धन हो । जन्मजन्मान्तरसम्म जाने एक पवित्र सम्बन्ध हो । यही सम्बन्धमा विखण्डन आएमा पति–पत्नी एक–अर्कासँग बस्न नसक्ने अवस्थामा पुगेमा डिभोर्सको सृजना हुन्छ ।
समग्रमा महिला नै पीडित
हिजोआज धेरै पति–पत्नीको वैवाहिक सम्बन्ध धरापमा रहँदै आएको छ । वैवाहिक सम्बन्ध मजबुत हुन नसक्ने या टुट्ने कारणहरुलाई विश्लेषण गर्ने विशेषज्ञहरु सम्बन्धविच्छेद एउटै कारणले नहुने बताउँछन् । समाजशास्त्री सुवास ढकालका अनुसार आर्थिक, सामाजिक, व्यक्तिगत, पारिवारिकजस्ता विभिन्न कारणले पति–पत्नीबीच सम्बन्धविच्छेदको अवस्था सृजना गरिदिन्छ । सम्बन्धविच्छेद विभिन्न कारणले हुने भए पनि समग्रमा पीडित भने महिलाहरु नै बढी हुँदै आएका छन् ।
सानै उमेरमा हुने विवाह, पारिवारिक दबाबमा बाबुआमाले रोजिदिएको केटा–केटीसँग गर्ने विवाह र आफैं रोजेर गर्ने विवाह हाम्रो समाजमा प्रचलित विवाह हुन् । मागी विवाहमा अक्सर पत्नीहरु आफ्नो पतिलाई ईश्वर मान्ने, गोडा धोएर पानी खाने, पति र परिवारले जति हिंस्रक व्यवहार गरे पनि चुपचाप सहेर बस्ने प्रवृत्तिका हुन्छन् । र, वैवाहिक जीवन जस्तोसुकै भए पनि उनीहरु सम्बन्धलाई अगाडि बढाइरहेका हुन्छन् । यस्तो प्रकारको विवाहमा महिलाहरु पूर्णरुपमा सामाजिक र पारिवारिक दबाबमा बाँधिएका हुन्छन् । तर आफैं रोजेर विवाह गरेका जोडी आफैं सक्षम हुने भएकाले व्यक्तिगत स्वतन्त्रता खोज्ने गर्छन् । आफू जति सक्षम भयो त्यति नै आफ्नो स्वतन्त्रता चाहने भएकाले परिवारिक दबाब, हिंसा सहेर बस्न सक्दैनन् र चाहँदैनन् पनि । दाम्पत्य जीवन सहज नभएमा उनीहरु सम्बन्धविच्छेद गरेर समाजमा आफ्नो छुट्टै आइडिन्टिटी बनाउन चाहन्छन् । जस्तोसुकै कारणले सम्बन्धविच्छेद भए पनि समग्रमा महिला नै पीडित हुने गरेको पाइन्छ ।
वैदेशिक रोजगार र तीव्र यौनचाहना
वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान् विदेशमा हुने र तीव्र यौनचाहनाका कारण पत्नीहरु सेक्स पार्टनर खोज्नतर्फ लाग्नाले पनि पति–पत्नीबीच सम्बन्धविच्छेद र धनसम्पत्तिको नोक्सानीजस्ता भयावह परिस्थितिहरु निम्तिने गरेको पाइएको छ । केही समयअघि बेलायती आर्मीकी श्रीमती आफू नियमित चढ्ने ट्याक्सीको ड्राइभरसँग भागेको समाचार प्रकाशमा आएको थियो । झन्डै ६० लाखको हाराहारीको सुनचाँदी र पैसा लिएर श्रीमती फरार हुनुको स्पष्ट कारण शारीरिक सम्पर्क नै भएको खुल्न आएको थियो ।
त्यस्तै वैदेशिक रोजगारीमा दुबई गएका राम नेपालले पनि माथिको जस्तै नियति भोग्नुपरेको छ । आईटीमा एमएस्सी गरी टेक्निकल सेक्टरमा काम गर्न दुबई गएका उनी डेढ वर्षमा घर फर्किए । घर आएर आफूले कमाएको सम्पत्तिबारे पत्नीसँग सोध्दा एक व्यापारीलाई ब्याजमा लगाएको र चाँडै माग्ने उनले बताइन् । एक दिन माइत जान्छु भनेर हिँडेकी श्रीमती माइत नपुगेको जानकारी पाएपछि श्रीमान्ले प्रहरीमा उजुरी गरे । प्रहरीले अनुसन्धान गर्दा उनकी श्रीमती कुनै मोहित नामको केटासँग विवाह गरी भारत पलायन भएको खुल्न आयो ।
यस्तै श्रीमान् वैदेशिक रोजगारीमा गई पैसा कमाएर आएपछि बाहिरै गर्लफ्रेन्ड बनाउने अनि कमाएको सम्पत्ति पनि गर्लफ्रेन्डकै लागि खर्च गरी अन्त्यमा उसैसँग विवाह गरी भएकी श्रीमतीलाई मानसिक यातना दिएर डिभोर्स दिन दबाब दिनेसम्मका घटनाहरु पनि प्रशस्तै भेटिन्छन् । यसबाट वैदेशिक रोजगारका कारण पति मात्र होइन पत्नी पनि पीडित छन् भन्ने प्रस्ट देखिन्छ । वैदेशिक रोजगारीका कारण श्रीमान्–श्रीमती सँगै बस्न नपाउनु, मान्छेका अरु आवश्यकताजस्तै यौनिक आवश्यकता तीव्र रुपमा बढेर गई आफ्नो सर्कल या चिनजानको मान्छेसँग यसै उद्देश्यले निकटता बढ्नु आदि कारण पनि सम्बन्धविच्छेदका कारक तत्त्व बनेका छन् ।
एक्स्ट्रा म्यारिज अफेयर्स
प्रायः सहरी भेगमा एक्स्ट्रा म्यारिज अफेयर्स हिजोआज फेशनजस्तै मौलाउँदै गएको छ । घरमा पति⁄पत्नी हुँदाहुँदै
पनि यसरी बाहिर अन्य केटा⁄केटीसँग सम्बन्ध राख्न खोज्नु (एक्स्ट्रा म्यारिज अफेयर्स) वैवाहिक सम्बन्ध तोडिनुको एक कारक तत्त्व मानिन्छ । घरमा पति वा पत्नी हुँदाहुँदै परस्त्री वा परपुरुषसँग सम्बन्ध गाँसिनाले पारिवारिक माया, स्नेह, विश्वास र सम्बन्धमा खाटो पैदा भई रिस, असमझदारी बढ्नेजस्ता कारणले अन्त्यमा सम्बन्ध टुंगिन पुगेको विभिन्न अध्ययनले देखाएको छ । पहिले रोमाञ्च वा रहरले पैदा हुने विवाहपछिको अर्को गुप्त प्रेमसम्बन्धले मान्छेको सम्बन्धमा मात्र नभई धन–सम्पत्ति र मान–सम्मानमा पनि असर पुग्ने मनोविज्ञ प्रा. गंगा पाठक बताउनुहुन्छ । प्रा.डा. पाठकका अनुसार आफ्नो श्रीमान् वा श्रीमतीलाई अन्य पति–पत्नीसँग तुलना गर्नु पनि वैवाहिक जीवन विखण्डनको कारक तत्त्व मानिन्छ । उहाँका अनुसार यस्तो व्यवहारले दुईबीचको सम्बन्धमा अझ दूरी बढाउने काम गर्छ ।
सम्बन्ध तोड्दै फेसबुक सञ्जाल
फेसबुकलगायत सामाजिक सञ्जालहरुले सम्बन्धहरु जोड्ने मात्र होइन सम्बन्धमा विग्रह पैदा गर्ने गरेका उदाहरणहरु उत्तिकै छन् । कतिपय वैवाहिक सम्बन्ध पनि फेसबुकलगायतको सामाजिक सञ्जालका कारण धरापमा परेका छन् । अनावश्यकरुपमा फेसबुकमा अत्यधिक समय खर्चिने, घर–व्यवहार र काममा महत्त्व नदिने, नयाँ साथीसँग नजिक भई घर–व्यवहारलाई बेवास्ता गर्ने तथा फेसबुककै माध्यमबाट मायाप्रीति गाँसी आफ्नो छँदाखाँदाको सम्बन्धमा तहसनहस ल्याउनेजस्ता क्रियाकलापहरु प्रशस्तै भेटिएका छन् ।
झापाका सरोज धितालले कामको सिलसिलामा हङकङ गएको बेला उतै बसेकी पोखराकी रमा पुन नाम गरेकी युवतीलाई फेसबुकबाट चिनजान र मायाप्रीति बसाई हङकङमै विवाह गरे । पछि नेपाल फर्किएलगत्तै सरोजकी पहिलेकी श्रीमती भएको थाहा पाएर रमाले तल्कालै अदालतमा गई सम्बन्धविच्छेद गरिन् । यो त उदाहरण मात्र हो । फेसबुकलगायतका सामाजिक सञ्जालकै कारण अन्य थुप्रै दाम्पतीले पनि पारिवारिक कलह, आपसी खटपटजस्ता थुप्रै समस्या बेहोरिरहेको पाइएको छ ।
दाइजो प्रथा पनि डिभोर्सको कारण
प्रत्येक दिन कुनै न कुनै यस्तो घटना हामी सुन्छौं जहाँ दाइजो नल्याएका कारण नवदुलहीहरु यातनाको सिकार हुने गरेका छन् । हाम्रो देशमा पनि दाइजोका कारण हजारौं महिला पीडित हुनुपरेको छ । यस्ता खाले यातना बढ्दै जाँदा पनि महिलाले कि त न्यायका लागि सम्बन्धित निकायमा भौंतारिनु कि त सम्बन्धविच्छेद गरी बस्नुपर्ने स्थिति देखिएको छ ।
दाइजोजस्तै सन्तान नजन्माएको या छोरा नजन्माएको निहुँमा पनि लाखौं महिला परिवारबाट कुनै न कुनै किसिमको यातनाको सिकार बन्दै आएका छन् । यस्ता यातनाको चरण बढ्दै जाँदा उनीहरुको लागि सम्बन्धविच्छेद बाध्यकारी हुने बताउँछिन् सञ्चारकर्मी वसन्ती तिमिल्सिना । मर्नुभन्दा बौलाउनु निको भनेझैँ यातना सहेर बाँच्नुभन्दा एकल जीवन रोज्नु पीडित महिलाको बाध्यता हुने गरेको उनी बताउँछिन् ।
नयाँ पुस्ता र डिभोर्स
आफ्नो निर्णय आफैं गर्न सक्ने र आफ्नै खुट्टामा उभिन सक्ने आजकालका पढेलेखेका युवायुवती भने सम्बन्धविच्छेदलाई हाउगुजी मान्नु नहुने तर्क राख्छन् । कुटुम्बिन नेपालकी सामाजिक कार्यकर्ता सृष्टि खड्का भन्छिन्– ‘विचारको विभेद, एक–अर्काप्रति अविश्वास र असन्तुष्टिले सुमधुर सम्बन्ध नहुने हुँदा पति–पत्नी छुट्टिएकै राम्रो हुन्छ । किनकि एक–अर्कामा निर्भर रहनु नपरेको अवस्थामा यस्तो वैवाहिक सम्बन्ध बाध्यकारी रहन्न ।’
नारायणगढ, चितवनका प्रवेश भण्डारी सम्बन्धविच्छेद गरी बसेका एक भोक्तापात्र हुन् । उनको विचारमा एक–अर्काप्रतिको आरोप–प्रत्यारोपको गुनासो सम्बोधनहीन अवस्थामा पुगेपछि सम्बन्धविच्छेद गर्नु नै उपयुक्त विकल्प हुन्छ । उनले पनि यस्तै परिस्थितिमा सम्बन्धविच्छेद गरेका हुन् । सम्बन्धविच्छेद भए पनि उनीहरुको भेटघाट र बोलचाल यथावत् छ । सन्तानको लागि भेटघाट बाध्यकारी भएको उनको ठहर छ ।
मानवशास्त्री तथा समाजशास्त्री सुवास ढकालका अनुसार मान्छे आर्थिक तथा सामाजिकरुपमा जति सक्षम भयो त्यति नै स्वतन्त्रता चाहन्छ । पुँजीवादको विकाससँगै मान्छेहरु नयाँ मान्यतालाई पनि अनुशरण गरिरहेका हुन्छन् । जसको कारणले आफ्नो पहिचान र अधिकारको खोजीमा लागिरहेका आजकलका बौद्धिक तथा शिक्षित दाम्पतीले भने असमझदारी र असहिष्णुताको अन्तिम रुप नै सम्बन्धविच्छेद भएको बताउँछन् । निरसपूर्ण सम्बन्ध कायम राख्नुभन्दा सम्बन्धविच्छेद नै उपयुक्त हुने उनको भनाइ छ । डिभाइन सफ्टका प्रबन्ध निर्देशक राजेश शर्मा समाजशास्त्रीको विचारसँग सहमत छन् । उनका उनुसार सम्बन्धविच्छेद त्यस्तो बेलाको एक आवश्यकता हो, जसले सम्बन्धमा अझ खतरापूर्ण स्थिति निम्त्याउने र हिंसाको उत्कर्षतिर पुग्ने अवस्थालाई न्यूनीकरण वा
सामान्यीकरण गर्छ । अधिवक्ता सपना प्रधान मल्लका अनुसार उनीकहाँ सम्बन्धविच्छेद गर्न चाहने अधिकांश महिलाहरुमा घरेलु हिंसाका सिकार भएकाहरु छन् । तीबाहेक छोराछोरीको हेरचाह गर्न छाडेर मदिरा सेवन गरी शारीरिक तथा मानसिक यातना भोगेका महिलाहरु बढी रहेको उनको भनाइ छ ।
‘हामी सकेसम्म दुवैलाई मिलाएर पठाउने कोशिश गर्छौं’, अर्का अधिवक्ता मनोजकुमार कँडेल भन्छन्– ‘काउन्सिलिङपछि पनि मिल्नै नसक्ने अवस्थामा पुगेकाहरु सँगै बस्नुको औचित्य पनि हुन्न नि, त्यसपछि केसलाई अघि बढाउँछौं ।’सम्बन्धविच्छेद आफैंमा नराम्रो होइन । कुनै हालतमा सँगै बस्न नसक्ने अवस्थामा पुगेका पति–पत्नीलाई यसले सहजताको वातावरण निर्माण गरिदिन्छ । हिंसा, बेमेल, झगडा, तनावबीच रहँदा झन् मनोवैज्ञानिक समस्या हुने हुँदा महिला–पुरुषमा देखिएको गलत सोच कम गर्न, अनावश्यक स्ट्रेस घटाउन र आत्महत्याजस्तो अवस्थाबाट मुक्तिका लागि भने सम्बन्धविच्छेदलाई राम्रो मानिन्छ । ् भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment