बाग्दाद, साउन ५ – विद्रोहीहरुले विभिन्न सहर कब्जा गर्दै गएपछि समस्याग्रस्त बन्दै गएको इराकमा आइतबार भएका छुट्टाछुट्टै बम र गोली प्रहारमा सात व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । आइतबार अबेर राती मजिद अल फाहदावी नजिकै एक कारबम विस्फोट गराइएको थियो ।
फाहदावी सिरियाको सीमा क्षेत्रमा पर्ने हालै विद्रोहीले नियन्त्रणमा लिएको क्षेत्र हो । सो क्षेत्रमा भएको झडपमा पाँचजना व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । सो क्षेत्रमा तीन जनाको ज्यान गएको छ । इराकको राजधानी बग्दाददेखि ११० किलोमिटर पश्चिममा पर्ने पूर्वी रामादीमा भएको अर्काे एक आत्मघाती आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका थिए ।
पश्चिम आन्वर प्रान्तको रवा सहरमा पनि अज्ञात बन्दुकधारीको गोली प्रहारबाट एक प्रहरी अधिकारीको मृत्यु भएको अर्काे एक समाचारमा उल्लेख गरिएको छ । इराकमा केही वर्षयता भिषण हिंसा चर्किदै गएको छ । इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनकाअनुसार गतवर्ष इराकमा भएका विभिन्न हिंसामा आठ हजार ६६८ इराकीको मृत्य भएको थियो जसमा सात हजार १८८ सर्वसाधारण र बाँकी सुरक्षाकर्मीहरू रहेका थिए । सन् २०१३ लाई इराकमा उच्च हिंसाको वर्षको रुपमा लिइएको छ । #ratopat
Post a Comment