news and more entertainment

उनीसँग बिहे हुँदा श्रीमानलाई एचआइभी भएको ११ वर्ष भइसकेको रहेछ

साँझतिर म भान्छामा स्टोभ ठङ्ठङ् गर्दै खाना पकाइरा’ हुन्थेँ । कोक्रोमा ३ महिनाको बच्चा च्याँच्याँ रोइरा’ हुन्थ्यो। उत्ति नै खेर छिमेकीको मोबाइलमा फोन आउँथ्यो। म हतारिएर छिमेकको कोठामा पुग्थेँ। लाडे पल्टेर मायालु स्वरमा उनी भन्थे,  ‘कान्छु! हेर न डाक्टर नै आएन, अझै छ सात दिन यतैको बास होला पो जस्तो छ। म हुन्छ मात्रै जवाफ दिएर फोन राख्थेँ। हुन पनि उनी मुम्बई गएको २ हप्ता बितिसक्या थियो। बिहे गरेर ५ वर्षमा कमाको जम्मै पैसा उनकै उपचारमा सकिँदै थियो।

काली काली हिस्सी परेकी अग्ली सलक्क परेको ज्यान,  ठूलाठूला आँखा यताउता नियाल्दै राम्री बमकला खड्का दिदी कथा सुनाउन थाल्छिन्।

झण्डै एक महिनाअघि मध्यपश्चिमको यात्राताका उनलाई दाङको आफ्नै घरमा भेट्ने मौका जुर्‍यो। झवाट्ट हेर्दा कसैले सोच्नै सक्दैन, उनी एचआइभी संक्रमित हुन् भनेर। मिठो हाँसो, ओजपूर्ण आवाज अनि हरेक दुखलाई सुखमा ढाल्न सक्ने उनको साहस देखेर होला, पहिलो भेटमै सायदै बमकला दिदीजति राम्री महिला अरु हुनै सक्दैनजस्तो लाग्यो।

हुन त राम्री दिदीको हाँसो भित्र अनगिन्ती दुखहरु लुकेका रहेछन्। तर ती सबै दुख छिचोल्ने उनको आत्मविश्वास चाँहि कसैबाट लुकेको रहेनछ। चुली परेको १ तल्ले माटोको सेतो घरको कुचुक्क परेको भान्छामा पत्रकार साथीहरु नितु घले र अर्जुन पौडेलसँगै हामी बमकला दिदीसँग कुराकानी गर्दैथ्यौँ।

२०५९ सालतिर १९ वर्षकी बमकला आठ कक्षापास गरेर ९ कक्षा भर्ना तयारीमा थिइन्। सानैमा बुवा बितेको एक्लो दाजुकै भरमा उनी हुर्केकी थिइन। दाजुले कक्षा ९ मा पढ्नका लागि घर नजिकैको स्कुलमा नाम लेखाइसकेका थिए तर दाजु र आमा जसैगरी राम्रै घरानाको धनी ज्वाइँ होस् भन्ने चाहन्थे। त्यसैले उमेर बढेकी छोरीको बिहे गर्न हतारिदैँ पनि थिए। निधार खुम्च्याउँदै भन्दै थिइन्, ‘वैशाख महिनाको १७ गतेतिरको कुरा हो। भिनाजुले घरमा बिहेको कुरा ल्याए। जातकै क्षेत्री केटो, मुम्बईको होटलमा कुक, जाँडरक्सी केही खाँदैन, महिनाको ६ हजार आइसी मज्जाले कमाउँछ, फाल्टो बोनस त झन कति हो कति। लौ! कान्छीको बिहे यही केटोसँग भए रानी बनेर बस्छे।’

घरमा भिनाजुजत्तिको लोग्ने मान्छेले बोल्दिएपछि बिहे प्रस्ताव निर्णयमै टुंगियो। बमकलालाई कसैले सोधेनन्। दाजु पनि बिहे गर नानी सुख पाउँछेस् भनेर परदेश गए।

सिलावरको गाग्रीबाट अम्खोरामा पानी ओसार्दै उनी न्याउरो अनुहार बनाउँदै भन्दै थिइन्। ‘म त अहिले घरीघरी सम्झन्छु, २०५९ वैशाख १७ गतेको त्यो दिन पक्कै भावीले मलाई एचआइभी रोग लाग्दै छ भनेर लेख्दै थियो होला! त्यसपछि लगत्तै १० दिनको तयारीमा १९ बर्षे बमकला दिदीको ३४ वर्षे केटोसँग धुमधामले बिहे भयो। बमकला निरास थिइन्। उनको एसएलसी पास गर्ने सपना तुहियो। तर आफन्त यसरी फकाउँथे, ‘एसएलसी पास गर्ने फलामे ढोका छुन नसकेर के भो त, श्रीमानले तेरै लागि टन्नै सुनका ढोकाहरु बनाउनेछन्।’

बमकलाले मनमनै सोचिन्, ‘पढ्न नपाएर गरिब भए पनि पैसा कमाएर लोग्ने स्वास्नी धनी भएसी जिन्दगी खुशी त भइहाल्ला नि।’ बिहे गर्ने चित्त बुझ्दो बहाना आफैँ सोचिन्, त्यसपछि बिहेलगत्तै श्रीमानसँगै मुम्बई गइन्।

श्रीमान कमाएको सबै पैसा उनकै पोल्टामा राखिदिन्थे। २ वर्षपछि श्रीमानकै सल्लाहमा उनी दाङकै मूलघर फर्किन्।

अब उनका श्रीमान महिना दिन बिराएर घर आउँथे, पटकपटक कहिले सुनको सिक्री, कहिले औँठी किनेर ल्याइदिन्थे। श्रीमानले टन्नै सुन जोड्दै गए उनका लागि। बिहे गरको ४ वर्ष बित्दै थियो। परिवारमा पहिलो सन्तान छोरा जन्मियो। त्यति बेलासम्म श्रीमान हट्टाकट्टा नै देखिन्थे। पछि विस्तारै बिरामी पर्न थाले। लगातार झाडापखाला लागेको लाग्यै हुने तर कहिल्यै निको नहुने भयो। मुम्बई बसाइ पातलिन थाल्यो। झण्डै ६ महिनापछि अस्पताल जँचाउने सिलसिला बाक्लिन थाल्यो। जतिजति खेर उनलाई रोगले च्याप्थ्यो, उनी एक्लै अस्पताल धाउँथे। बमकला श्रीमानलाई ओछ्यानमा बारम्बार सोध्थिन्, ‘अनि के रोग देखियो त बूढा?’

‘केही देख्या छैन रे कान्छु, डाक्टरले मलाई त अब ठूलो मेसिनमा हालेर खुट्टादेखि टाउकोसम्म पुरै चेक गर्नुपर्छ भनेका छन्।’

बमकला कस्तो हुँदो होला त्यो मेसिन, सिङ्गै मान्छेलाई नै हालेर जाँच्नुपर्ने भनेर घोत्लिरहन्थिइन्। श्रीमान् हाँस्दै जवाफ दिन्थे रे, ‘त्यो त मुम्बई अस्पतालमै हुन्छ कान्छु, अब ८०, ९० हजार आइसी बन्दोबस्त गर है।’

त्यतिखेर उनी ४० वर्षे श्रीमानको २६ वर्षे श्रीमती थिइन्। श्रीमानले मुम्बईको होटलमा काम छोडेको २ वर्ष भइसकेको थियो। श्रीमानलाई ज्वरोले सताइरहन्थ्यो। रोगले बेस्सरी च्यापेपछि उनी मुम्बई हुइँकिन्थे। त्यहाँ होटलमा गएर बस्ने रैछ, फेरि चेक गर्ने डाक्टर छैन भन्दै पैसा सकेपछि फर्कन्थे। होटलमा बस्दा १५,१६ हजार सकिने रैछ, अनि फेरि त्यस्तै गरी कान्छु म त फर्केर आए है भन्थे।

लोग्नेलाई उपचार गर्दागर्दै मैले सप्पै गहना बेचेँ। चुरा, सिक्री तिलहरी, झुम्का सबै सिद्धियो। जति पैसा कमायो, त्यति सबै आफैँले खर्च गरेर गयो। जानेबेला उसको कमाइ मेरो लागि एक रुपैयाँ पनि जगेडा राखेन। त्यतिखेर मैले थाहा पाएँ, लोग्नेकै भर परेर म राम्रो जिन्दगी जिउँछु भन्थेँ, भम्र रहेछ सबै। खुइय्य सास तान्दै बमकलाले भनिन्।

श्रीमानले उनलाई कहिल्यै एचआइभीको बारेमा भनेनन्। २०६७ बैशाख २ गते नेपालगञ्जको रुपेडियामा भिनाजुसँगै जँचाउन गएका श्रीमानको रगतमा एचआइभी रहेको थाहा भएपछि मात्र बमकलालाई थाहा भयो– श्रीमान एक्लै पैसा बोकेर जँचाउन मुम्बई किन पुग्थे? पछि श्रीमानबाटै थाहा भयो, एचआइभी भाको ११ वर्षपछि उनीहरुको बिहे भएको रहेछ। श्रीमानले झुटो बोलेरै बमकलासँग बिहे गरेका रैछन्। त्यो दिन श्रीमान श्रीमतीबीच विश्वास टुक्रियो।

एचआइभी संक्रमित श्रीमानबाट बमकलालाई पनि सर्‍यो होला भन्ने शंका लाग्यो। काखको १ वर्षे छोरी र ४ वर्षे छोरा बोकेर उनी परिवार नियोजन संघमा रगत जाँच गर्न पुगिन्। रिपोर्टले काखको छोरीबाहेक, श्रीमान्, बमकला र छोरा पनि एचआइभी संक्रमित भएको खुलायो। त्यसको ४ दिनमै श्रीमानको मृत्यु भयो। बमकलाले छिमेकीलाई सबै कुरा खुलाइन्। छिमेकीले उनलाई कहिल्यै हेलाको व्यवहार गरेनन्।

बमकला सम्झिन्छिन्, ‘त्यतिबेला यो छोरी १ वर्षकी थियो। न जग्गाजमिन, न जागिर, न लोग्ने, न त कमाइ। म कसरी बाँच्छु र ? २ वर्षसम्म मेरो सप्पै गहना सिध्याएर मरेको मेरो लोग्नको अनुहार झलझली आँखामा आउँथ्यो, घरमा कति दिन भोकै बसियो, महिनौँ दिन खोले खाइयो होला! त्यो दिन त सम्झेर साध्यै छैन। भन्न त कसैले केही भनेनन् तर यो गाउँको बाटो हिँड्दा मेरो मुख नहेर्ने कोही मान्छे हुन्थेनन्। म मनमनै अड्कल लाउथेँ, सबैले मलाई एचआइभी भएर लोग्ने मरेको कमजोर आइमाई भने होलान्। अनि त्यही पीरले मेरो मन भत्भती पोल्थ्यो। मैले मनमनै सोचेँ, ११ वर्षअघि उनको परिवार बिहेको लागि नहतारिएको भए उनलाई एचआइभी कहिले लाग्ने थिएन होला। उनलाई ९ कक्षामै पढाइदिएको भए उनको त्यो मान्छेसँग बिहा नै हुँदैन्थ्यो होला। सायद उनी धेरै पढिरहेकी हुन्थिन् होला। आफैँ सरहको धेरै पढ्या केटासँग बिहे हुन्थ्यो होला अनि आफूले गल्ती नै नगरेको सजाय भोग्नै पर्दैन्थ्यो होला।

एचआइभी जोसुकैलाई लाग्न सक्छ तर बमकला दिदीको कथा सुनेपछि लाग्यो, विश्वासमा जोखिम मोल्नु हुँदैन। कम्तीमा बिहे गर्नुअघि रगत परीक्षण गर्नु अहिलेको आवश्यकता हो।

बमकला दिदी सानो छँदा किताबमा एचआइभीका बारेमा पढेको सम्झिन्छिन्। एड्स लागेपछि मान्छे बाँच्दैन रे। त्यो त जीवन छोटो छ भन्ने डर मात्र हो। मर्न त मान्छे जसरी नि एकदिन मर्छ तर उनले हार खाइनन्। कमाइ त केही थिएन। एचआइभी संक्रमितहरुका लागि काम गर्ने दाङ प्लसको कम्युनिटी केयर सेन्टरमा काम गर्ने सोचिन्। हरेक दिन संक्रमितहरुसँग भलाकुसारी गरेर खुल्न सहयोग गर्छिन्। यसबापत महिनाको ३ हजार आउँछ, त्यसबाहेक कुनै आम्दानीको स्रोत छैन। तर पनि हार खाएकी छैनन्, जतिसक्दो धेरै संक्रमितहरुलाई आत्मविश्वासी बनाउने उनको लक्ष्य हो।

बमकला दिदीलाई खानबस्न कत्तिको मुस्किल छ, जो कोही अनुमान लाउन सक्छ। उनकै उमेरका धेरै पढेका जवान केटीहरु अफिस गएको देख्दा उनलाई रुन मन लाग्छ रे। तर, उनलाई एचआइभीले ठगेको हैन, उनको परिवारको अशिक्षाले ठगेको हो।

आफैँलाई हेर्छिन्, अनि ठान्छिन्, ‘थुक्क मेरो कर्म खोटो हैन रैछ, मेरो अशिक्षा नै सबैभन्दा ठूलो खोट रैछ। पढ्न पाएको भए म पनि सक्षम हुन्थेँ। कहाँ पुग्थेँ होला। हुन त संक्रमितका लागि थुप्रै कार्यक्रम आउँछन् तर म नपढेको महिला जेसुकै गरौँ, ठूलो काम गर्न सक्तिनँ।’

मैले फयाट्टै सोधेँ, ‘दिदी, एचआइभी संक्रमितहरुले त टन्नै पोषिलो खाना खानुपर्छ, कसरी खानुहुन्छ, डाइट पुग्छ?’

‘हो हामीले डाइट टन्नै खानुपर्छ। पुगेसम्म खाने हो। तर मजस्तो कमाएर खानुपर्नेले के खान पाउँथे? पुुगेसम्म खान्छु पनि, नपुगे भोकै पनि। अब मेरो उद्देश्य जसरी पनि एचआइभी संक्रमितहरुको लागि जीवन जीउने सजिलो बाटो बनाइदिने हो। मेरो छोराछोरीको माया नै मेरो लागि डाइट हो।’

सानी छोरीलाई बुवाको मृत्युबारे थाहा छैन।

धेरैपल्ट सोध्छे रे, ‘हाम्रो बाबा कहाँ गाको ममी।’

उनी भगवानको घर गाको नानु भन्छिन्। बमकला दिदीकी नानु गाउँकै स्कुलमा युकेजीमा पढ्छिन्। ‘अहिले त जसोतसो नखाएरै पढाएको छु, कसैले पढाइदिए म धन्य हुने थिएँ।’

जाँदा जाँदै दिदीको सन्देश, ‘कहिल्यै बुवाआमाकै भरमा बिहे नगर्नू, अनि लोग्नेकै भरमा बाँच्छु भन्ने सपना कहिल्यै नदेख्नू।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget