फागुन ४
श्रीमान भारतको गुजरातस्थित सुरतको हीरा बनाउने कम्पनीमा काम गर्थे, कमाईले परिवार चलाउन समस्या थिएन । बिहेको दुई वर्षमा साँच्चिकैको ‘हीरा’ उनीहरुको संसारमा आयो, छोरा जन्मियो । उनीहरु खुशी थिए, परिवार खुशी थियो । कञ्चनपुरको झलारी ९ की दुर्गा विकलाई लाग्थ्यो, ‘हाम्रो जति खुशी, सुखी यो संसारमा कोही छैन ।तर, उनीहरुको खुशी भगवानले पनि देखिसहेनन् । छोरा जन्मेको केही दिनमै दुर्गाका श्रीमान थला परे । उनलाई सेती अञ्चल अस्पतालमा दुई महिना उपचार गराउँदा पनि निको भएन, पछि रगत चेकजाँच गर्दा एचआइभी÷एड्स भइसकेको जानकारी चिकित्सकले दिए । त्यतिबेला दुर्गालाई आकाश खसेझैँ भयो, संसार अन्धकार भयो । ‘रोग बारे गाउँमा थाहा पाए अनेक लाञ्छना र भेद्भाव सहनुपर्ने ठानी घरपरिवारका कसैलाई जानकारी दिएनौँ, केही दिनमै उहाँको मृत्यु भयो’ दुर्गाले भनिन् । सुरुमा उनलाई भावी जीवनको चिन्ताले पिरोल्यो । तर जीवनसँग हरेस नखाई केही गरेर देखाउने हिम्मत बढाइन् ।
एचआइभी लागेको बिमारीले ढाँटेर विवाह गर्दा उजाडियो जीवन
दुर्गाका श्रीमानलाई भारतमै छँदा विवाह गर्नुअघि नै एचआइभी भएको रहेछ । ‘श्रीमान्ले रोग लुकाएर ढाँटेर विवाह गर्दा आज मैले सजाय भोग्नुप¥यो दुर्गाले भनिन्, ‘श्रीमान्को मृत्युको पीडाले चिन्तित भएको बेला उल्टै सासूससुराले अनेक रोग ल्याएर मेरो छोरालाई मारिस् भन्दै सधैँ झैझगडा गर्थे’ । श्रीमान्को मृत्युपछि उनले आफू र छोराको पनि परीक्षण गराउँदा दुवैजनालाई संक्रमण भएको पाइयो । ‘श्रीमान्ले गरेको गल्तीले एचआइभीको संक्रमण भए पनि यतिखेर रोगसँग लड्दै आएका छौँ’ उनले भनिन् ।
विभिन्न दातृ संस्थाको सहयोगमा दुर्गाले झलारी बजारमै सिलाइको पसल सञ्चालन गरी छोराको विद्यालय र आफ्नो खर्च चलाउँदै आएकी छिन् । ‘सिलाइको कामबाट मासिकरुपमा सात हजारदेखि रु १० हजारसम्म आउने भएकाले
कसैसँग हात थाप्नुपरेको छैन’ उनले भनिन् । एचआइभी/एड्सको क्षेत्रमा क्रियाशील संघसंस्थाले खोलेको सहयोगी समूहमा आबद्ध भएर उनले एचआइभीबारे सचेतना दिने र रोग लुकाएर बसेका महिलालाई उपचारका लागि
पठाउने गर्दै आइरहेकी छिन् । कञ्चनपुरको पिपलाडी–८ का अर्जुन नेपाली पनि यतिखेर जीवनप्रति हिम्मत जुटाइरहेका छन् ।
भारतको मुम्बईमा गणपति उत्सव हेर्न गएका बेला साथीभाईको लहलहैमा लागेर चक्ला बजारमा रहेको बेश्यालयमा जाँदा एचआइभी\एड्स बोकेर फर्कनुपर्ला भनेर सोचेका पनि थिएनन् । जीवनमा केही गरौंला भन्ने ३७ वर्षकै उमेरमा एचआइभी÷एड्स भएर संक्रमित भएर बस्नुपर्दा उनी आफूभन्दा परिवारप्रति बढी चिन्तित छन् । घरमा रहेकी श्रीमतीसँग सावधानी अपनाउँदै आएकाले उनका श्रीमती र छोराछोरी कसैमा पनि एचआइभी संक्रमण देखिएको छैन । उनका दुई छोराको विद्यालयको खर्च संघसंसस्थाले बेहोर्दै आए पनि उनीहरूको लालनपालन र बिहेदान कसरी गर्ने भन्ने चिन्ता उनमा छ ।
यस्तै, कृष्णपुर–८ मौरीफाँटाकी ५७ वर्षीया निर्मला भट्टराई प्रेरणाकी स्रोत बनेकी छन् । भारतमा काम गर्ने श्रीमानबाट एचआइभी संक्रमित भएकी उनी अहिले सचेतना नारी समाजको अध्यक्ष भएर एचआइभी÷एड्सविरुद्ध सचेतना फैलाउने कार्यमा संलग्न छिन् । पाँच छोराछोरीकी आमा भएकी भट्टराईका कुनै पनि छोराछोरीमा एचआइभीको संक्रमण भने छैन । ‘रोग लुकाएर बस्नु पर्दैन खुलेर आउनुपर्छ, पहिला मैले हिँडेको बाटोमा एचआइभी भएको भनेर धेरैले बाटो हिँड्दैनथे हाल समाजमा जनचेतना फैलाउँदै जाँदा सबैले सम्मान गर्ने गरेका छन् ।’ उनले भनिन् ।
झन्डै दुई दर्जन संस्थामा आबद्ध भट्टराईले एचआइभी संक्रमितलाई संगठित गर्ने, अधिकारका लागि पैरवी गर्ने, महिला अधिकारका बारेमा वकालत गर्ने महिलाका रुपमा आफ्नो परिचय बनाएकी छन् । नयाँ बन्ने संविधानमा एचआइभी
संक्रमितका कुरा पनि समेट्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘स्वास्थ्य सेवा, समाजबाट बहिष्कारमा परेकाहरूको पुनःस्थापना, बालबालिका र एकल महिलालाई बाँच्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।’ आर्थिक रुपमा विपन्न भएकै कारणले कञ्चनपुरका अधिकांश व्यक्ति रोजगारीका लागि भारतीय सहरमा कामका लागि जानुपर्ने र त्यहाँका बेश्यालयमा पुगेर असुरक्षित यौन सम्पर्क राख्दा एड्स बोकेर फिर्ता हुने गरेको उल्लेख गर्दै सामाजिक समता अभियानका सामाजिक कार्यकर्ता बसन्त चौधरीले भने, ‘स्वदेशमै रोजगारीका अवसर भए एचआइभीको रोकथाममा टेवा पुग्न सक्छ ।’ एचआइभीकै कारणले यहाँका एकल महिलाले सामाजिक अपहेलनाकै कारणले घर छाडेर बस्नुपरेकाले उनीहरूको बसोवासको व्यवस्था गरिनुपर्ने उनले बताए ।
यस्तो छ कञ्चनपुरको तथ्यांक
सचेतन नारी समाजका अनुसार कञ्चनपुरमा एकसय ४० जना एकल महिला एचआइभी संक्रमित छन् । यहाँ एचआइभीको संक्रमणमा परेका चार सय ६ जनामध्ये ९० प्रतिशत व्यक्ति लामो समय प्रवासमा बसेर एचआइभीको संक्रमणमा रहेको पाइएको छ । जिल्ला एड्स समन्वय समितिका संयोजक अशोक पाण्डेयका अनुसार जिल्लामा ३० देखि ३९ वर्षका महिला पुरुषमा एचआइभीको संक्रमण बढी देखिएको छ । उनका अनुसार यौनकर्मीका ग्राहकहरू एकसय ८९, यौन पेसामा संलग्न छन्, तेस्रोलिंगी एक र प्रवासीका घरमा रहेका एकसय ५८ जना गृहिणी एचआइभीको संक्रमणमा रहेका छन् । यहाँका ४७ जना बालबालिकासमेत एचआइभीको संक्रमणमा परेका छन् । सन् २००५
देखि हालसम्म एचआइभी÷एड्सबाट एकसय ११ जनाको मृत्यु भइसकेको छ ।
Post a Comment