यौन कर्मलाई कानूनी मान्यता नदिइए पनि यो चिसो मौसममा राजधानी उपत्याकामा यौन व्यवसाय तातेको छ । राजधानी वरपरका रिसोर्टदेखि राजधानीभित्रका वस्तीहरुमा फल्याट भाडामै लिएर यो धन्दा फस्टाएको छ । काठमाडौं पनि मिनी बैंककमा परिणत भइसकेको छ । राजधानी उपत्यकामा मात्र करीब तीन हजार व्यवसायीक यौनकर्मी रहेको अनुमान गरिएको छ । रातोपाटीले केही साता लगाएर गरेको अनुसन्धानबाट भेटिएका केही दृश्य यसप्रकार छन् ।
दृश्य एक: अघोषित रेड लाइट एरीया
बालाजुबाट नुवाकोटतर्फ जाने सडकतर्फ केही मिनट हिँड्न नपाउँदै सडकको दाहिने किनारमा विभिन्न होटल र रिसोर्ट देख्न पाइन्छ । सडक किनारमा भिरालो जमिनमा बनेका कटेज टाइपका होटल र रिसोर्टमा खुलेआम यौन धन्दा हुँदै आएको छ । त्यो क्षेत्रलाई अघोषित रेड लाइट एरिया भन्दा फरक नपर्ला ।रातोपाटी संवाददाता गत विहीबार त्यस्तै एक रिसोर्टमा पुग्यो । वृक्ष लताहरुको हरियालीमा छातावाल कुर्सी सजाइएका थिए । त्यहाँ गएर बस्न नपाउँदै एक जना एक्काइश–वाईस वर्षकी युवती मेनु लिएर आइन् । मेनु हेरेर अर्डर गर्न नपाउँदै अर्की एक युवती आएर छेउमै टाँस्सिएर बसिन् । हेर्दा हेर्दै अली पर अर्की युवती आइन् । त्यहाँ करीब चार–पाँच जना युवतीहरु देखा परे ।
युवतीहरुले महंगा ज्याकेट लगाएका थिए । गोडामा घुँडासम्म आउने बाक्ला जुत्ता लगाएका थिए । ओंठमा अली भद्दा खालको लिपस्टीक थियो । अनी नजिक आउँदा अत्तरको अली बढी नै ‘सुगन्ध’ आइरहेको थियो । हेर्दा हेर्दै एउटी युवतीले टाँस्सिएर भनीन, ‘दाई कस्तो जाडो छ । न्यानो पार्ने हैन ? हविस्की मगाउनुस न् ।’
विषयलाई अन्त नमोडिकन उनलाई सोधियो, ‘तिमीहरु ग्राहकसँग कति लिन्छौ ?’ पहिला त कुरा गर्न मानेकी एउटीले पछि भने सबै बृत्तान्त बताइन् । सिन्धुपाल्चोकबाट दुई वर्षअघि काठमाडौं झरेकी कोपीला लामा (नाम परिवर्तन)का अनुसार त्यहाँ धेरैजसो पुरुषहरु एक्ला एक्लै आउने गर्छन् । त्यसरी यौन प्यास मेटन आउने ग्राहकले युवतीलाई सात सयदेखी एक हजार र कोठा भाडा बापत पाँचसय रुपैयाँ बुझाउनु पर्छ । ‘अनी प्रहरीले छापा मार्दैन त ? खतरा छैन ?’ भनेर सोध्दा अर्की युवती नुवाकोटबाट आएकी १८ वर्षीया मुना (नाम परिवर्तन)ले भनीन, ‘साहुले सबै सेटीङ मिलाएको छ क्या । त्यस्तो खतरा छैन । कप्स (प्रहरी) आउने भयो भने पनि पहिल्यै खबर आइहाल्छ ।’
यस्ता रिसोर्टहरुमा भर्खरका युवा मात्र हैन, अधवैंशेहरु पनि आउने गरेका छन् । यौनकर्मी २७ वर्षीय दिपिका (नाम परिवर्तन)का अनुसार सरकारी कार्यालयका अधिकारीदेखि कतिपय राजनीति दलका तल्लो तहका नेताहरु पनि आउने गर्छन् । एक घन्टाको पाँच सय रुपैयाँ पाएपछि रिसोर्टका मालिक पनि मालामाल छन् । केटीहरुसँग बढी सोधपुछ गरेको थाहा पाएपछि माथिबाट मालिक कराउन थाल्छन्, ‘के केटीहरु आ–आफ्नो काममा लाग । अर्को गेस्ट आएका छन, त्यतातीर लाग ।’
दृश्य दुई : अन्टीको अखाडा
काठमाडौं, सुकेधारा छेउकै एउटा सभ्य मानव वस्ती । आकर्षक घरहरु छन् । बाटोको राम्रो सुविधा छ । बातावरण सफा सुग्घर छ । त्यही सभ्य मानव वस्तीमा एउटा कम्पाउन्डवाला घर छ । त्यो घरको पहिलो तलामा कालो रङको गेट छ । डोर बेल बजाएपछि एउटी करीब ४२ वर्षकी महिला ढोका खोल्न आउँछिन् ।
‘अलि ढिलो आइस्यो नी, बाटोमा जाम प¥यो की ?’, ति महिला मुसुक्क हाँस्दै भन्छिन् । ती महिलाले दश वर्षअघि नै आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी छन् । दुईवटा सन्तान स्कुलमा पढ्छन् । उनी यौनकर्मीमाझ ‘आन्टी’ उपनामले प्रख्यात छिन् । उनको खास नाम कसैलाई थाहा छैन । आन्टीसँगै भित्र जाँदा बडा आकर्षक बैठक कक्ष देखियो । महंगा सोफा र गलैचा । करीब ३६ इन्चको पातलो टिभी भित्तामा । एउटा लचकदार बेड । अनी भित्तामा कुनै सिनको ठुलो तस्वीर ।
‘चिया बनाउँ की ? बियर ल्याइदिउँ की, मर्जी होस्’, अन्टीले भनिन् । अन्टीको उमेरले चालिस नाघे पनि उनी विछट्टै राम्री देखिन्थीन् । गोरो र बाटुलो अनुहार । आँखामा पातलो घेरामा गाजल लगाएकी । परेलालाई ब्युटीपार्लरमा गएर मिलाएकी । ज्यान खँदिलो । उचाई त्यस्तै ५ फीटकी । मोटाई ठिक्क । तर, उनी आफै भने त्यस्तो काम नगर्ने रे ।
‘चिया भए पुग्छ’ भनेपछि उनी कराइन्, ‘ए सेती, अंकललाई एक कप चिया बना त ।’ अनी ग्राहकतिर फर्केर भनीन, ‘के छ त विचार ? नानीहरुलाई डाकौं ?’ ‘हुन्छ’ भनेपछि अन्टीले मोबाइलमा फोन लगाइन र कसैलाई डाकिन । केहीबेरमै त्यहाँ एउटी प्लस टु कलेजकै ड्रेसमा निलो ब्लेजर कोट लगाएकी एउटी युवती आइन् । हेर्दा २१–२२ वर्षकी जस्ती देखिने ति युवतीलाई प्लस टुमा पढ्ने भनेर त्यस्तै ड्रेसमा सजाएर त्यहाँ ल्याइएको भए पनि पछि कुराकानी गर्दा उनी कलेज पढने युवती नभएको पाइयो । ग्राहकसँग बढी पैसा असुल्न यस्तो तरिका अपनाएकी रहिछन्, आन्टीले ।
‘नानी यिनै हुन्, चल्छ नी हैन ?’ भनेर आन्टीले ग्राहकलाई अर्को कोठामा लगीन । त्यो कोठा अलि अँध्यारो खालको थियो झ्याल सबै थुनिएका । एउटा बेड मात्र थियो । कोठामा अली अली चुरोट र रक्सीको गन्ध आइरहेको थियो । सायद अघिल्लो रातका ग्राहकहरुको अवेशष हावामा बाँकी रहेको होला । अन्टीसँग पैसाको मोलमोलाई सुरु भयो । अन्टीले भनिन्, ‘पच्चिस सय रुपैयाँ लाग्छ ।’ ग्राहकले भने, ‘पन्ध्र सयमा मिलाउनुस न ।’ आन्टीले गोरो गालालाई अली रातो बनाउँदै झर्कदै भनीन, ‘हेर्नुस्, हजूर पहिलो पटक आइस्या भएर मात्र मैले पच्चिस सय भनेको । नत्र त रेट तिन हजार हो । पच्चिस सय कति नै हो र ? बजारमा किनमेल गर्न निस्कदाँ एक घन्टामै सकिन्छ ।’ ग्राहक पच्चिस सय तिर्न तयार हुन्छन् ।
एक ग्राहकले बयान गरेको यो दृश्यले के बताउँछ भने अचेल यौन धन्दाले बडो सभ्य, शिष्ट र व्यवस्थित कलेवर ओढेको छ । कसैलाई सुईंकोसम्म नहुने यस्ता रेसिडेन्सल एरीयामा हुने यौन धन्दाको संजाल बढदै गएको छ । सुत्रका अनुसार राजधानीमा मात्र यस्ता करीब तीन सय अखाडा छन्, जहाँ समाजका विशिष्ट व्यक्तित्वहरु समेत यौन प्यास मेटाउन जाने गरेका छन् । ति अखाडाको संचालन यस्तै ‘आन्टी’हरुले गर्ने गर्छन् । उनीहरु समय तालिका मिलाएर ग्राहकलाई घरमा बोलाउँछन् । कसैको समय आपसमा जुध्न पाउँदैन । रोचक कुरा त के भने अरुले दिने भाडाभन्दा लगभग डबल भाडा दिने भएकाले घरधनीलाई पनि खासै वास्ता हुँदैन । अझ, कतिपय घरधनी त आफै पनि त्यसको पारखी भएकाले धन्दा मजाले चल्ने गर्छ ।
दुई वर्षअघि प्रहरीले काठमाडौंको रानीबारीस्थित एक घरको पहिलो तलामा रहेको यस्तै अखाडामा छापा मार्दा आधा दर्जन युवती र केही ग्राहक रंगे हात समातिएका थिए । प्रहरीले बेला बेलामा छापा मार्ने गरेको भए पनि आन्टीहरुले डेरा सरेर प्रहरीलाई पनि चक्मा दिने गरेका छन् । ‘अन्टीहरु कुनै एक ठाउँमा ६ महिनाभन्दा बढी बस्दैनन । शंका लागेमा डेरा सरी हाल्छन्’, प्रहरी सुत्र भन्छ । अर्को ठाउँमा गएपछि उनी समाजमा बडो सभ्य, शिष्ट महिलाको रुपमा बस्न थाल्छन् । उनीहरुको घरमा आउने ग्राहक को हुन भनेर कसैले सोध्दा उनी ‘मामाको छोरा’, ‘फ्रिज बनाउन आउने’, ‘सहकारीको एजेन्ट’, ‘भाई’, ‘देवर’ यस्तै यस्तै बताउने गर्छन् । कसै कसैले भने प्रहरीसँगै सेटीङ मिलाएर निर्धक्क धन्दा चलाइरहेका छन् ।
दृश्य तीन : म्यारीज, मदिरा र मोज
दरबारमार्गनेरको एउटा रेस्टुरेन्ट । यो रेस्टुरेन्टमा पहिलो तलामा खाना खाने व्यवस्था छ । दोश्रो तलामा मदिरा पान गर्ने ग्राहकको भीड छ । तेश्रो तलामा रहेका कोठामा केही मानिस तास (म्यारीज) खेलीरहेका छन् । त्यसरी म्यारीज खेल्नेहरुमा नाम चलेका गायक, सँगीतकार र चलचित्र निर्माता/निर्देशक पनि छन् । तास खेलीरहेको ठाउँमा यत्रतत्र बियर र ह्वीस्कीका बोतल लडीरहेका छन् ।
भोगीहरुको लागि त्यो ठाउँ मानौं स्वर्ग नै हो । किनकी, त्यसै भवनको माथिल्लो तलामा केही गुप्त कोठाहरु पनि छन् । त्यहाँ ग्राहकका लागि यौनकर्मी उपलव्ध गराइन्छ । त्यहाँ गइरहने एक ग्राहकका अनुसार ‘एक पटकको तीन हजार रुपैयाँ लाग्छ ।’ त्यो रेस्टुरेन्ट भने प्रहरीका हाकिमहरुकै मिलेमतोमा चलीरहेको छ । त्यसैले त्यहाँ कहिल्यै छापा पर्दैन । दरबारमार्गमा पोस्टिङ हुने नयाँ प्रहरी अधिकारीका लागि यस्ता अखाडाहरु दाम आम्दानी गर्ने भरपर्दा आधार हुन् ।
दृश्य चार : मसाज हैन ससाज
यो खुलेयाम सत्य हो की पर्यटकीय क्षेत्र ठमेलमा मसाज पार्लरका नाममा यौन धन्दा चलीरहेको छ । केही दिनअघि रातो पाटी संवाददाता ठमेलको एक मसाज पार्लर पुगेको थियो । अली पुरानोजस्तो लाग्ने घरको दोश्रो तल्लामा पुग्दा मसाज पार्लरको काउन्टर देखियो । त्यहाँ सात–आठ जना युवती बसीरहेका थिए । उनी हेर्दा खासै सुन्दर पनि थिएनन् । गरीब परिवारका युवती जस्ता थिए । काभ्रे, सिन्धुपाल्चोक मात्र हैन, पुर्वी नेपालतीरबाट समेत आएका रहेछन् ।
त्यहाँ पुग्नासाथ उनीहरुले ‘मसाज गरेको १५ हजार सय लाग्छ । ससाज मात्र गरेको एक हजार’ भनेर रेट सुनाइहाले । मसाजभन्दा पनि उनीहरु ससाज(यौन कर्म)कै ग्राहकको पर्खाइमा रहेको स्पष्ट बुझिन्थ्यो । बेला बेलामा प्रहरीले यस्ता मसाज पार्लरमा छापा मार्ने गरे पनि मोलमोलाई मिलेपछि ‘ससाज’ निर्वाध चल्ने गरेको छ ।
यस्ता मसाज पार्लरका कारण ठमेलका अन्य कार्यालयमा काम गर्ने कामकाजी महिलालाई भने समस्या पर्ने गरेको छ । ‘एउटै घरको दोश्रो तल्लामा मसाज पार्लर हुन्छ, तेश्रो तल्लामा मैले काम गर्ने ट्राभल एजेन्सी हुन्छ’, ठमेलको एक ट्राभल एजेन्सीमा काम गर्ने रुबी महर्जन भन्छिन्, ‘कार्यालय जाँदा र आउँदा सबैले हामीलाई पनि गलत दृष्टीले हेर्छन् ।’
ठमेलमा आयुर्वेदीक र प्राकृतिक उपचारका आधारमा मसाज मात्र गरिने ठाउँ पनि छन् । ती ठाउँमा विदेशीहरु ट्रेकिङबाट फर्कीएर थाकेको बेलामा मसाज गराउन जान्छन् । कतिपय स्थानमा पुरुषले पुरुषकै र महिलाले महिलाकै मसाज गर्ने व्यवस्था पनि छ । तर, थोत्रा भवन र अध्यारा कोठाहरुमा हुने मसाज पार्लरमा भने यौन धन्दा नै चल्ने गरेका छन् । र, यी मसाज पार्लर पनि त्यसक्षेत्रमा खटिएर आउने प्रहरी हाकीमहरुको कमाउने आधार बनेका छन् । यो कुरा मसाज पार्लर चलाउने हाकाहाकी स्वीकार्छन् । उनीहरु भन्छन् , ‘छापा मारिन्छ की भनेर चिन्ता लिनु पर्दैन । प्रहरी पनि हाम्रै हुन् ।’
दृश्य पाँच : केटी भनेको त केटा
ठमेलमा रात्री जिवन बिताउन रुचाउने २७ वर्षीय रमेश सिग्देल (नाम परिवर्तन)ले एक दिन ठमेलमा एउटी आकर्षक युवती भेटे । रातको त्यस्तै १० बजेको थियो । ति युवतीले रमेशलाई बाटोमा रोकेर भनिन्, ‘दाई मोज गर्ने हैन ? यस्तो जाडो छ ।’ रमेश भर्खर गोगो बार र NEPAL-SOCIETY-TRANSGENDER एउटा दोहोरी साँझमा रमझम गरेर बाहिर निस्किएका थिए । मदिराको मातमा उनले भने, ‘कहाँ जाने त ? कति पर्छ त ?’ ती युवतीले जम्मा ‘पन्ध्र सय भए पुग्छ’ भनिन् । दुबैपक्षबीच सहमती भयो ।
रमेशलाई युवतीले धापासी हाइटतीर टयाक्सिमा लगिन् । टयाक्सीले नै पाँच सय ठटायो । धापासी हाइटको एक घरमा पुग्दा त्यहाँ अन्य युवा युवती पनि रहेछन् । रमेशलाई त्यही पुगेपछि थाहा भो, उनीहरुमध्ये कोही समलिंगी र कोही तेश्रो लिंगी रहेछन् । रमेशले जसलाई युवती ठानेका थिए, उनी त केटा पो रहेछन् । त्यसपछि लागेको पैसा तिरेर रमेश त्यहाँबाट टाप ठोके ।
अचेल दरबारमार्ग, ठमेल, लाजिम्पाट एरीयामा यस्ता तेश्रो लिंगीहरु बाटो ढुकेर ग्राहकसँग मोलमोलाई गरिरहेका भेटीन्छन् । उनीहरु व्यापक मेकअप गरेर आउँछन् । बटुवालाई जिस्क्याउँछन् । दोहोरो बार्ता गरेमा नजिकै झुम्मिन आइपुग्छन् र मोलमोलाई गर्न थाल्छन् ।
दृश्य ६ : नेता र नायिका
एउटी नाम चलेकै नायिका सानेपाको एक खाडाभित्र छिर्छिन् । केहीबेरमै त्यहाँ एउटा पजेरो आएर रोकिन्छ । त्यो पजेरोबाट नेपालकै एक ठूलै पार्टीका एकजना प्रभावशाली नेता झर्छन् । मुखमा पान पराग चपाउँदै गरेका ति नेताले कोट र टोपी लगाएका छन् । यो आखाडामा यी नेताको आगमन भइरहने वरपरका मानिस बताउँछन् । नयाँ नयाँ नायिकासँग यहाँ उनको रमझम भइरहन्छ ।
‘यसलाई यौन धन्दा भन्न मिल्दैन, यो अली हाइ लेभलको कुरा हो’, एक स्थानीय बासीन्दा भन्छन् । अर्को बटुवा चुरोट सल्काउँदै भन्छन्, ‘रत्नपार्कमा ग्राहक ढुकेर बस्ने चाँही यौनकर्मी, अनी ठुला नेतासँग लसपस गर्ने चाँही नायिका ? काम र कुरो एउटै भएपछि सबै एउटै हुन् ।’
हैसियत हुनेहरु बडो सुरक्षित ढंगले यस्ता धेरै अखाडामा आराम फर्माउन जाने गरेका छन् । मोडल, सुन्दरी र नायिकाहरु मोटो रकम लिएर बडो सुरक्षीत ढंगले यौन धन्दा चलाइरहेका छन् । यस्ता सुन्दरीलाई नेता, व्यापारी र ठुला हाकीमले विदेश शयर पनि गराउने गरेका छन् । कतिपय नायिका र सुन्दरीले विदेशमा आयोजित हुने कार्यक्रममा जाँदा ‘मामा’, ‘फुपाजु’, ‘भिनाजु’लाई भेट्नुछ भनेर लापत्ता हुने गरेको र फर्कदाँ लाखौं बोकेर आउने गरेको चर्चा पनि चल्ने गरेको छ ।
व्यवस्थित बनाउन कानूनी मान्यता
यस्ता दृश्यहरु राजधानीमा धेरै देखिन्छन् । सुन्धरा, बसपार्क र छेउछाउका लजहरु, भक्तपुरमा साँगा भञ्ज्याङबाट उकालो लागेपछि धुलीखेल र नगरकोटसम्मका लज, रिसोर्ट र होटलमा पनि यौन धन्दा फस्टाएका छन् । यो खुला सत्य हो । अहिलेको यो चिसो मौसममा युवतीलाई बाइकको पछाडी राखेर धुलीखेल, नगरकोट र ककनीतीर हान्नीने युवाहरुको संख्या बढ्दैछ । मानिसहरु बैंककलाई यौन पर्यटकीय क्षेत्र भन्छन् । तर काठमाडौं अघोषित रुपमा बैंककमा परिणत भइसकेको छ । फरक यत्ति हो, त्यहाँ यसले कानूनी मान्यता पाएको छ, यहाँ पाएको छैन । गैरकानूनी हो भन्ने नाममा यौन व्यवसायीसँग मोटो रकम असुल्न पल्कीएकाहरुले यसलाई अझै पनि कानूनको सीमामा ल्याएर व्यवस्थित गर्ने सुरसार नदेखाएका हुन् ।
अब यौनकर्मलाई कानूनी मान्यता दिएर व्यवस्थित नगरे यो विष्फोटक हुनेछ । यौन कर्मले मानिसको समाजमा नकारात्मक असर नपारोस् भन्ने चाहने हो भने पूर्व डिआइजी पार्वती थापाले भने झैं अब नेपालमा पनि रेड लाइट एरियाहरु तोकिदिनुपर्ने बेला आएको छ ।
- रातोपाटी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment