अध्ययनका लागि अस्टे्रलिया आइपुगेका नेपाली विद्यार्थीहरु चर्को अध्ययन शुल्क तिर्न नसकेपछि शैक्षिक संस्था परिवर्तन गर्न थालेका छन् । अस्ट्रेलियाको 'डिपार्टमेन्ट अफ इमिग्रेसन र बोर्डर प्रोटेक्सन'ले भिषामा तोकिएको शर्त विपरीत भएको भन्दै त्यस्ता विद्यार्थीको नाममा सचेत पत्र काट्न थालेको छ । जसका कारण धेरै नेपाली विद्यार्थीहरु समस्यामा पर्ने देखिएको छ । यसमा कतिले विश्वविद्यालय र आफू पढ्ने संस्थाका बारेमा राम्रोसँग जानकारी नलिई अस्ट्रेलिया पस्ने विद्यार्थी त कतिपयले अस्ट्रेलियन सरकारको स्टि्रमलाइन भिषा प्रोसेसिङ (एसभीपी) लाई दोषी मानेका छन् ।
ऋषि आचार्य, सिड्नी-वेष्टर्न सिड्नी विश्वविद्यालयमा अध्ययनरत सन्तोष भण्डारी महँगो विश्वविद्यालयको फि तिर्न नसकेर अध्ययनरत संस्था नै फेर्ने धुनमा छन् । सिड्नीको एक शैक्षिक परामर्श व्यवसायीको कार्यालयमा भेटिएका भण्डारी कुनै सस्तो कलेजमा आफूलाई भर्ना गरिदिन शैक्षिक परामर्शकर्तालाई अनुरोध गर्दै थिए ।
६ महिना अघि सेमेस्टरको १२ हजार फि तिर्न सक्ने आर्थिक हैसियत देखाएर उनले वेष्टर्न सिड्नीमा भर्ना र अस्ट्रेलियाको भिषा पाएका थिए । अध्ययनलाई प्राथमिकता दिँदा काम र कमाइ गर्न नसक्ने भएपछि भण्डारीका लागि कलेज परिवर्तन एक मात्र विकल्प भएको छ ।
ओलङ्गन विश्वविद्यालयमा विगत एक वर्षदेखि नर्सिङ विषय पढ्दै गरेकी सम्झना पौडेललाई पनि अध्ययन कसरी पूरा गर्ने भन्ने ठूलो चिन्ता परेको छ । प्रत्येक सेमेष्टरमा बुझाउनु पर्ने १२ हजार अध्ययन शुल्क र सिड्नीको महँगो जीवनशैली पौडेलका लागि अध्ययन पूरा गर्न अवरोध बनेका छन् । नेपालमा रहेका अभिभावकले पढाइ खर्च पठाउन नसक्ने भएपछि उनी पनि सस्तो कलेज वा युनिभर्सिटीमा परिवर्तन गर्ने सोचाइमा छिन् ।
यी त केही उदाहरण मात्र हुन्, उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया आएका नेपाली विद्यार्थीहरु यहाँको महँगो अध्ययन शुल्कका कारण सस्ता कलेजमा सर्नु सामान्य जस्तै भएको छ ।
तर यसरी शैक्षिक संस्था परिवर्तन भिषामा तोकिएको शर्त विपरीत भएको भन्दै अस्ट्रेलियाको डिपार्टमेन्ट अफ इमिग्रेसन र बोर्डर प्रोटेक्सनले विद्यार्थीको नाममा सचेत पत्र काट्न थालेको छ । अस्ट्रेलियाका नेपाली शैक्षिक परामर्शकर्ताहरुको संगठन अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सी अलायन्स (एइसिए) का अध्यक्ष विवेक थापाका अनुसार, गएको एक महिनाको अवधिमा एक सयभन्दा बढी नेपाली विद्यार्थीले भिषा शर्त उल्लङ्घन गरेको व्यहोराको पत्र पाएको बारे आफूलाई जानकारी आएको बताए । यसमा सन् २०१२ देखि नै अध्ययन गर्दै आएका र भर्खरै नेपालबाट अएर शैक्षिक संस्था परिवर्तन गरेकासम्म छन् ।
समस्याको कारण एसभीपी
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिषा प्रक्रिया सहज होस् भनेर सरकारले २४ मार्च २०१२ देखि लागू हुने गरी स्टि्रमलाइन भिषा प्रोसेसिङ (एसभीपी) शुरु गरेको थियो । शैक्षिक उद्योगलाई अझ व्यवस्थित गर्नेबारे माइकल नाइट रिभ्युको सुझावअनुसार एसभीपीमा अनुबन्ध भएका ४२ विश्वविद्यालयलाई भिषा प्रक्रियाको लागि आंशिक अधिकार दिएको छ । जसका कारण कम झण्झट, थोरै कागजपत्र र छोटो समयमा विद्यार्थीले भिषा पाउन सक्नेछन् । यो भिषा प्रक्रियाबाट अध्ययन गर्न आउने विद्यार्थीहरु स्नातक, स्नातकोत्तर र योभन्दा माथिका अनुसन्धानात्मक कोर्षहरु पढ्न चाहनेहरुका लागि लागू हुने व्यवस्था गरिएको छ । साथै, प्याकेज कोर्षमा आउने विद्यार्थीहरु पनि एसभीपी प्रक्रियाबाट निवेदन दिन पाउने छन् । तर छोटो अवधिको विषय पढ्न चाहनेहरुले नन् एसभीपीमार्फत् भिषा प्रक्रिया गरेकै राम्रो हुने शैक्षिक परामर्शकर्ता भवानी ओलीको सुझाव छ । अहिले एसभीपीमा आबद्ध नभएका शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि प्रक्रिया पूरा गरेपछि भिषा पाएको कारणले महँगो विश्वविद्यालयमा आएर पछि परिवर्तन गर्नुभन्दा शुरुमै आफ्नो क्षमता अनुसारको शैक्षिक संस्था छनोट गर्नु पर्ने ओलीको भनाइ छ ।
शैक्षिक संस्था परिवर्तन गर्दा तत्काल कुनै असर नपर्ने जस्तो देखिए पनि भविष्यमा भने इमिग्रेसनका कर्मचारीहरुले यसैलाई शर्त बनाएर भिषा थप नगर्न सक्ने सम्भावना पनि रहेको प्रति ओलीले विद्यार्थीलाई सचेत गराएका छन् ।
तास्मानिया विश्वविद्यालयमा अध्ययन गर्न भनेर एक वर्षअघि अस्ट्रेलिया आएका कमल भण्डारी ६ महिनापछि सिड्नी आए । साथीभाइहरुको सल्लाह र शैक्षिक परामर्शकर्ताले पनि भनेपछि उनी सिड्नीकै एउटा सस्तो कलेजमा भर्ना भएका छन् । तर गएको हप्ता मात्र उनले इमिग्रेसनको तर्फबाट पत्र पाए । भिषा शर्त उल्लंघन गरेकोले भिषा रद्द गर्न सक्नेसम्मको व्यहोरा खुलाएर यो पत्र भण्डारीको हातमा परेको हो । (पत्रको व्यहोरा माथि तस्वीरमा हेर्नुहोस्)
यो पत्र पाएपछि आत्तिने र भविष्य के हुने हो भनेर अलमलमा पर्ने विद्यार्थीहरुलाई सान्त्वना दिनु आवश्यक छ । एइसीएका महासचिव एवम् शैक्षिक परामर्शकर्ता सञ्जीप पाण्डे भन्छन्, "नियम र भिषाको शर्त मिचेर शैक्षिक संस्था परिवर्तन गर्ने विद्यार्थीहरुलाई भविष्यमा हुने अप्ठेरोबारे जानकारी दिन स्थानीय पत्रिकामा सूचना प्रकाशित गरेका छौँ ।
अर्का शैक्षिक परामर्शकर्ता मन केसी नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि आउनेहरुले विश्वविद्यालय छनोटमै त्रुटि गर्ने भएकाले यो समस्या देखिएको बताउँछन् । आफ्नो पढाइ नसकिउञ्जेल त्यो विश्वविद्यालयको अध्ययन फि तिर्न सक्ने भए मात्र उक्त शैक्षिक संस्था रोज्न विद्यार्थीलाई केसीको सुझाव छ । उनको प्रश्न थियो, "सिड्नीमा बस्ने विद्यार्थी किन ओलङ्गन र न्यु क्यासलको विश्वविद्यालयमा भर्ना हुने ? नेपालबाट चैँ जसरी भए पनि अस्ट्रेलिया जाने भनेर खुट्टा उचालेर बस्ने अनि यहाँ आएपछि कानुन मिच्ने प्रवृत्तिले स्वयंको भविष्य अन्धकार बनाउँदैन न त ?"
विगत केही महिना अघिबाट अस्ट्रेलियामा उच्च शिक्षा पढ्न आउने नेपाली विद्यार्थीको संख्या बढेको छ । अहिले दक्षिण एसियाका भारत र बंगलादेश भन्दा पनि नेपाललाई अस्ट्रेलियाले प्राथमिकतामा राखेको जस्तो देखिन्छ । त्यसैले यो समयमा विद्यार्थी, शैक्षिक परामर्शकर्ता र अभिभावक सबै इमान्दार हुने हो भने दीर्घकालसम्म सबैको हितमा यो व्यवसाय चल्न सक्छ । तर नेपाल र अस्ट्रेलियाका केही व्यवसायीहरुको क्षणिक स्वार्थका कारण अस्ट्रेलियाले नेपालीप्रति हेर्ने दृष्टिकोण फेरिनेप्रति सचेेत हुनु पर्ने देखिएको जानकारहरु बताउँछन् । सिड्नीमा सक्रिय शैक्षिक परामर्शकर्ता खिलेन्द्र तिम्सिना यो समस्या देखिनुको पछाडि सही विश्वविद्यालय र कोर्षको छनोट, चर्को अध्ययन शुल्क, विद्यार्थी र व्यवसायीमा पनि दीर्घकालीन लक्ष्यको कमी र उचित शैक्षिक तथा आर्थिक योजनाको कमी देख्दछन् ।
एसभीपीमा अनुबन्ध ४२ वटा विश्वविद्यालयमा अध्ययन गर्न भनेर नेपालबाट अस्ट्रेलिया आए पनि पछि शैक्षिक संस्था परिवर्तन गर्नुले विद्यार्थीमा यो अन्योल देखिएको हो । सोलिसिटर डा. शम्शेर सिंह थापा अस्ट्रेलियन सरकारको कानुन र नीतिबीच प्रष्टता नहुँदा यो समस्या आएको हो । भिषासम्बन्धी शर्तहरुमा शैक्षिक संस्था परिवर्तनबारे प्रष्ट नलेख्दासम्म यस्ता समस्या दोहोरिरहने डा. थापाको भनाइ छ । "कति घण्टा काम गर्ने भन्नेबारे जसरी कानुनी रुपमै प्रष्ट व्यवस्था भएको छ, त्यस्तै नीतिसँग मिल्ने कानुन ल्याउन पर्छ अनि मात्र यो समस्याको समाधान हुन्छ," डा. थापा भन्छन् ।
सुनौलो भविष्यको सपना बोकेर अस्ट्रेलिया आएका नेपाली विद्यार्थी अलमलमा पार्ने अवस्थाको अन्त्य हुनु पर्ने केही व्यवसायीको धारणा छ । व्यवसायीले क्षणिक स्वार्थ नहेर्ने र विद्यार्थीले पनि अफ्नो रुचि र आर्थिक तथा बौद्धिक क्षमताले भ्याउने विषय तथा विश्वविद्यालय छनोट गरेको खण्डमा भने सबै पक्षको भलो हुने देखिन्छ ।
Post a Comment