७ भदौ, काठमाडौं । नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा र भतिजी काठमाडौंको चाबहिलस्थित डेरामा बेहोस अवस्थामा फेला परेका छन् । शनिबार अपराह्न पाँच बजे डेरामा बेहोस भेटिएका दुबैलाई ओम अस्पतालको आइसियूमा राखिएको छ ।
बेहोस हुनेमा विप्लवका कान्छा छोरा नरेन्द्र चन्द र भतिजी मञ्जु चन्द रहेका छन् । मञ्जु अञ्दाजी १५ वर्ष र नरेन्द्र १४ वर्षका छन् । उनीहरुलाई बेहोस अवस्थामा छिमेकीले फेला पारेर आफन्तलाई खबर गरेको विप्लवका सहयोगी शुदर्शन मंगोलले अनलाइनखबरलाई बताए ।‘बेलुका पाँच बजेतिरको घटना हो, उनीहरुको अहिलेसम्म होस नखुलेकाले घटनाबारे प्रष्ट हुन सकेको छैन, मंगोलले भने- ‘कसैले कोठामा आएर उनीहरुलाई बेहोस बनाएको अनुमान गरिएको छ, होस खुलेपछिमात्रै के भएको हो, भन्ने थाहा होला ।’
कोठामा नरेन्द्र र मञ्जूमात्रै रहेको अवस्थामा घटना भएको हो । विप्लव पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालगञ्जमा छन् भने विप्वलपत्नी पनि माइत गएकी थिइन् ।
घटनामा पर्ने भतिजी मञ्जु विप्लवका माल्दाइ जयन्द्र चन्दकी छोरी हुन् । ललितपुरको कुसुन्तीमा डेरा गरी बस्ने मञ्जु काकाको डेरामा आएका बेला यस्तो घटना भएको हो ।
विप्लवका दुई छोरा र एक छोरीमध्ये घटनामा पर्ने कान्छा छोरा हुन् । भाटभटेनीमा काम गर्ने जेठी छोरी काममा गएकाले डेरामा भाइ बहिनीमात्रै थिए । विप्लवका जेठो छोरा चितवनमा पढ्ने गरेकाले चाबहिलमा थिएनन् ।
शनिबार राति पौने ११ बजे सम्पर्क गर्दा ओम अस्पतालमै रहेका मंगोलले अहिलेसम्म दुबैको होस नखुलेको अनलाइनखबरलाई बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment