काठमाडौं,असार२१–सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा एक
कलाकार पक्राउ परेकी छन् । विभिन्न म्युनिक भिडियोमा अभिनय गरेकी ऋचा
धमलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गठ्ठाघर बस्ने सौतेनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी हत्या प्रयास
गरेको आरोपमा परेकी ऋचा धमला,उनको प्रेमी आशमान तामाङसहित ६ जनालाई भक्तपुर
प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । दुई व्यक्तिलाई १५ लाख रुपैयाँ
दिएर सौतेनी आमाको हत्या गर्ने योजना ऋचा र विदेशमा रहेकी उनकी दिदी लिजाले
तीन महिनाअघि बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
आजको नयाँ पत्रिका दैनिकका अनुसार ऋचाले प्रेमी आशमान तामाङमार्फत सौतेनी
आमाको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । १५ असारमा ममतालाई अपहरण
गर्न गएका दुई युवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । सोही
दिन बेलुका ऋचासहित अरु पक्राउ परेको भक्तपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा नुवाकोटका सुरेश तामाङ,शेषमान तामाङ,सुशिल नापित र
राजेश गुरुङ छन् । अपहरण गर्न गएका सुरेश गुरुङ र शेषमान तामाङलाई ममताकै
कोठाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । दोस्रो विहे गरेपछि बुबाले आफ्नी
आमाको हत्या गरेकाले त्यसको बदलामा ऋचाले सौतेनी आमाको अपहरण गरी हत्याको
योजना बनाएको प्रहरीले जनाएको छ ।

Post a Comment