news and more entertainment

'डन चरी' हत्यामा गृहमन्त्रीको रेडिमेड जवाफ'

काठमाडौं- नेकपा एमालेका सभासदले दिनेश अधिकारी (चरी) को हत्या छानबिनका लागि संसदीय समिति गठन नभए व्यवस्थापिका संसदको बैठक नै चल्न नदिने चेतावनी दिएका छन्।

गृहमन्त्री वामदेव गौतमले प्रहरीले तयार पारेको रेडिमेड जवाफ संसदमा दिएको बताउँदै उनीहरुले संसदीय समिति गठनको माग गरेका हुन्। व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा गृहमन्त्री गौतमले अधिकारी 'इन्काउन्टर' मा मारिएको बताएका थिए। अधिकारीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा विभिन्न मुद्दा विचाराधीन रहेको अवस्थामा ज्यान मार्ने धम्की दिएर रकम असुली गर्ने काम जारी राखेको र अवैध हातहतियार भित्र्याएको सूचना पाएर प्रहरीले खोजीको सूचीमा राखेको गृहमन्त्री गौतमले जानकारी गराए।
'भीमढुंगाबाट धादिङतर्फ जान लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालित गर्दा पल्सर मोटरसाइकलमा सवार भएको अवस्थामा प्रहरीलाई शंका लागि पक्राउ गर्न खोज्दा निजले प्रहरीतर्फ गोली प्रहार गरेकाले प्रहरीले जवाफी कारबाही गर्दा मृत्यु हुन गएको हो,' गौतमले लिखित जवाफ दिँदै संसदमा भनेका थिए। अधिकारी २०६२ देखि नै विभिन्न अपराधमा संलग्न भएको र केहीमा दोषी ठहर गरी कारबाहीसमेत भोगिसकेका व्यक्ति भएको गौतमको भनाइ थियो।
गृहमन्त्रीको जवाफ सकिनासाथ नेकपा एमालेका सभासद राजेन्द्र पाण्डेले पुलिसले लेखेर दिएको आधारमा नहुने बताउँदै संसदीय छानबिन समिति गठनको माग गरेका थिए। सभामुख सुवास नेम्वाङले पटक–पटक रोक्न खोज्दा पनि पाण्डेले भने, 'प्रहरीद्वारा नियोजित तरिकाले बाहिर नै मारेर त्यहाँ लगेर फालिदिएको हो। झडपमा मृत्यु भएको होइन। यो विषय यसै सेलाएर जाँदैन।'
पाण्डेले २७ गते मंगलबार बोलाइएको व्यवस्थापिका संसद चल्न नदिने चेतावनीसमेत दिए। एमालेकै सभासद धनबहादुर घलेले पनि एसएसपीद्वय पुष्कर कार्की र उत्तम कार्कीले हत्या गर्न निर्देशन दिएको दाबी गरे। 'म त्यही क्षेत्रको जनप्रतिनिधि हुँ,' उनले भने, 'मलाई समेत घटनास्थलमा शव हेर्न दिइएन। गृहमन्त्रीले पनि प्रहरीले जे लेखिदियो त्यही पढेर सुनाउनुभयो। हामीले यसमा चित्त बुझाउने अवस्था छैन। इन्काउन्टर भएको भए छातीमा बाहेक अन्त किन गोली लागेन?'
'आजकल त्यस्तो हतियार कहाँ छ?' उनले गृहमन्त्रीप्रति प्रश्न गर्दै भने, 'पछाडिबाट हानिएको गोली फर्किएर छातीमा लाग्छ? कहाँ बनेको छ यस्तो हतियार?'
एमालेकै सभासद पे्रमबहादुर आलेले पनि घटनामा संलग्न प्रहरी अधिकारीलाई तत्काल निलम्बन गरेर संसदीय छानबिन समिति गठन नगरे संसद चल्न नसक्ने चेतावनी दिए। 'रक्षक नै भक्षक भएपछि न्याय माग्न कहाँ जाने?' उनले प्रश्न गरे, 'गृहमन्त्रीबाट चित्तबुझ्दो जवाफ आएको छैन। यसप्रति हामी आपत्ति जनाउँछौं।'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget