news and more entertainment

देशको गृहमन्त्रीलाई बोलाउने, दिनभर कुराउने, बोल्ने पालो आएपछि सबै निस्किने? बामदेब

नवौं राष्ट्रिय महाधिवेशनलाई केन्द्रविन्दू बनाएर एमाले बुद्धिजीवि परिषद्ले डाकेको पूर्वाञ्चलव्यापी 'ओली गुट'को प्रचारात्मक कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम रिसाएका छन्। निर्धारित समय ११ बजे डाकिएको कार्यक्रम लम्बिएर २ बजे पुग्नु र त्यसमाथि बोल्ने पालो हतपत नआएपछि पार्टीका उपाध्यक्षसमेत रहेका गौतम रिसाएका हुन्। 
 
उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव शंकर पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र गौतम, रघुवीर महासेठ लगायत नेताहरूले नवौं महाधिवेशनलाई लक्षित गरेर बुद्धिजीविहरूलाई 'प्रवचन' दिने कार्यक्रम शनिबार विराटनगर वीरेन्द्र सभागृहमा निर्धारण गरिएको थियो। उकुसमुकुस गर्मीका बीच सचिव पोखरेलले झन्डै डेढ घन्टा र भण्डारीले पौने घन्टा बोल्दा सहभागी हल छोडेर बाहिर निस्केका थिए। 
 
करिब–करिब रित्तो हल भएका बेला बोल्ने पालो आएपछि गौतमले भने, 'देशको गृहमन्त्रीलाई बोलाउने, दिनभर कुराउने, बोल्ने पालो आएपछि सबै निस्किने? यस्तो प्रवृत्ति रोक्नुस्।' गौतम रिसाएपछि स्वयम्सेवकहरू बाहिर निस्केर सहभागीलाई भित्र लगेका थिए। 
 
ओली पक्षधरले डाकेको विशुद्व 'गुट'मात्रको भेलामा नवौं महाधिवेशनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रममा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका न कार्यकर्ता थिए, न नेता।
उपाध्यक्ष भण्डारी र सचिव पोखरेलले नेतृत्व हस्तान्तरणसहित महाधिवेशनबाट पार्टीमा पुस्ता हस्तान्तरण गर्नुपर्ने विचार राखेका थिए। उपाध्यक्ष भण्डारीले पार्टी नेतृत्व इलामबाट झापातिर झार्नुपर्ने आजीवन एउटै व्यक्ति पदमा बसिरहने परिपाटी अन्त्य गर्नुपर्ने बताएकी थिइन्। उनले त्यसरी बन्ने पार्टीको सर्वसम्मत नेतृत्वमा वर्तमान अध्यक्ष झलनाथ खनाल स्वयम्को सहमति रहेको दाबी गरिन्। 'सर्वसम्म नेतृत्व चयन गर्ने र पार्टीलाई गुटउपगुटबाट मुक्त गर्नका निम्ति
केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने हो, त्यसमा अध्यक्षज्यूको सहमति छ,' भण्डारीले भनिन्। गौतमले पोखरेल र भण्डारीले उक्त कुरा बोलिसकेकाले आफूले केही भन्न नपर्ने बताए। 
 
उनले सरकारको गतिविधिबारे लामो विश्लेषण सुनाएका थिए। तोकिएकै मितिमा संविधान निर्माण र मुलुकको शान्ति सुरक्षा लगायत जनतासँग जोडिएका कार्य गर्दागर्दै पनि सरकार सुस्त भयो भनेर टिप्पणी आउने गरेकामा आपत्ति जनाए। पहिलेका सरकारले गर्न नसकेको संविधान निर्माणको काम यो सरकारले सम्पन्न गर्न लागेको उनले बताए। 
 
सानातिना काम नभएको देखेर सुस्त भनेर विश्लेषण गर्दा सरकारप्रति जनतामा भ्रम सिर्जना भएको आरोप उनले लगाए। कान्तिपुर दैनिकको नामै किटेर गौतमले 'भ्रम' सिर्जना गर्ने किसिमबाट टिप्पणी आएको आरोप लगाए। 
 
'काठमाडौंबाट प्लेन चढेपछि मैले कान्तिपुर पढें, सरकार सुतेर समय बिताइरहेको छ भन्ने किसिमबाट लेखेको छ,' उनले भने, 'सरकारले कतिधेरै ठूला र राष्ट्रिय महत्वका काम गरेको हुँदाहुँदै सानातिना कुरा जोडेर भ्रम फैलाएको छ।' 
 
गौतमले एकीकृत माओवादी र केही मधेसवादी दलका कारण स्थानीय निकायको निर्वाचन गर्न सरकारले नसकेको बताए। उनीहरूले स्थानीय निकायको चुनाव गराउन 'ध्वस्त' पारिदिन्छौं भनेपछि सरकार पछि हटेको दाबी गौतमले गरे। 'स्थानीय चुनाव गराउन लागेका बेला ध्वस्त पारिदिन्छौं भन्नेहरूको बारेमा यो पत्रिकाले लेख्न सक्छ?,' गौतमले भने। 
 
'सबै काम छिटोछिटो गर्नसक्ने चाहिएको भए ३० वर्षकालाई प्रधानमन्त्री बनाइदिए हुन्थ्यो,' गौतमले भने, '७० वर्षका बूढालाई प्रधानमन्त्री बनाइदिएको छ, कसरी छिटो हिँड्ने? म आफैं पनि ६५ वर्ष पुगिसकें।' उनले बाइपंखी घोडाजस्तो दौडिन सरकार नसकेको बताए।  
 
गृहमन्त्री गौतमले शान्ति सुरक्षामा पछिल्लो समय उल्लेखनीय सुधार आएको दाबी गरे। फुटपाथ व्यापारीका कारण हिँड्नै नसक्ने काठमाडौं खालि गराउने र गुन्डागर्दी नियन्त्रण अभियान सञ्चालनले देशैभरि सकारात्मक सन्देश गएको टिप्पणी उनले गरे। 
 
'गुन्डाहरू पहिले काठमाडौंमा थिए, त्यहाँबाट खेदाएपछि विराटनगरतिर आए, यहाँबाट लखेटेपछि खै कहाँ गए थाहा छैन,' गौतमले भने, 'गुन्डा जता छिरे पनि छाडिने छैन, एमालेमा छिरे पनि कांग्रेसमा छिरे पनि ठेगान लगाउने छ।' 
स्थानीय निकायको निर्वाचनको सबै तयारी पूरा भइसकेको उनले बताए। निर्वाचन आयोगले केही बाँकी रहेको मतदाता नामावली संकलन कार्य समेत पूरा गरिसकेको उनले बताए। 'स्थानीय निकायको निर्वाचन हुनैलागेको छ भनेर तपाईं कामरेडहरूले सबैलाई भन्दिनुस्,' गौतमले भने, 'सरकारको दोष छैन नहुनुमा।'

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget