news and more entertainment

यसरी यौन कर्मीहरू धमाधम बसाइँ सर्दैछन

मोरङ- विराटनगर बसपार्क छेउको एउटा खाजाघरमा केही दिनयता काम गर्ने युवतीको संख्या बढदै गएको छ । बाहिरबाट झट्ट हेर्दा सामान्य चिया-नास्ता पसलजस्तो देखिने यहाँभित्र क्याबिन छन् । खासगरी भारतीय ग्राहकको चाप देखिने उक्त पसलमा पछिल्ला केही दिनयता ग्राहकलाई सेवा दिने नाममा ६/७ जना युवती राखिएका छन् । विगतमा पनि उक्त पसलमा काम गर्ने युवती नै देखिन्थे । दुई सातायता संख्या दोब्बर भएको छ ।

चार दिनअघि मात्र उक्त पसलमा काम गर्न आएकी एक युवतीले भनिन्, 'हामी इटहरीबाट यता आएका हौं । त्यता कामै गर्न गाह्रो भयो ।' उनले आफूजस्ता धेरैजना अहिले विराटनगर र अन्यत्र हिंडेको बताइन् । उनले भनिन्, 'पुलिसले बित्थामा दुःख दिन थाल्यो ।' इटहरीमा यौन व्यवसाय सञ्चालन गर्नेविरुद्ध अपरेसन चलिरहेका बेला विराटनगरमा भने प्रहरी नरम छ । ६ महिनाअघि होटल, लज छापा मार्ने क्रममा व्यक्तिगत अधिकारमाथि हस्तक्षेप भएको भन्दै आलोचना भएपछि मोरङ प्रहरीले निगरानी गर्न छाडेको छ । त्यसैले यहाँका होटल रेस्टुरेन्टमा काम गर्न बाहिरबाट आउनेहरू सुरक्षित भएका छन् ।

सीमासँग जोडिएको क्षेत्र भएकाले ग्राहक खासगरी भारतीय नागरिक नै छन् । 'इटहरीमा बस्दा चिनजानका इन्डियन कस्टमर छन् । उनीहरूसँगको कन्ट्याक्ट नटुटोस् भनेर विराटनगर आइयो', यहाँ आएकी एक यौनकर्मीले भनिन्, 'इन्डियन कस्टमरसँग बस्दा टिप्सको चिन्ता हुँदैन, कमाइ पनि राम्रो हुन्छ ।' इटहरी अपरेसनपछि सीमापारिबाट आउने ग्राहकको मूल बाटो रानी भन्सार नाका भएकाले विराटनगर उपयुक्त र सुरक्षित थलो भएको उनले सुनाइन् ।

इटहरीको यौन व्यवसायको चर्चा बिहारको कटिहार, पुणिर्यादेखि पटनालगायत सहरसम्म छ । कोसीब्यारेज नाकाबाट सवारी अनुमति लिएर इटहरीमा दिनहुँ ठेकेदार, सम्पन्न र जिल्ला राजनीतिमा पहुँच राख्नेहरू आउने गरेका थिए । इटहरीमा भएको कडाइले सबैको रुट जोगबनी नाकाबाट विराटनगर सोझिएको छ ।

मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेल भने बसाइँ सरेर धेरै संख्यामा यौनकर्मी विराटनगर नआएको दाबी गर्छन् । उनले भने, 'केही संख्यामा आएको सूचना भए पनि प्रहरीले निगरानी गरिरहेको छ ।'

पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश खनाल भने इटहरी अपरेसनपछि यौनकर्मीको भागाभाग भएको बताए । 'केही काठमाडौं लागे, केही वरपरका अरू सहरमा त लुक्ने नै भए', उनले भने, 'धेरै कमाइ लिन बानी परेकाहरू इटहरी आसपासका सहरमा सेल्टर लिएर बस्नु अनौठो पनि होइन ।' इटहरीपछि धरानमा पनि कडाइ सुरु भएकाले बढी संख्यामा राजधानी, विराटनगर तथा त्यसपछि झापा र धनकुटातर्फ सर्नेहरूको संख्या बढिरहेको उनले बताए । विराटनगरमा आए पनि अहिले व्यवसाय नै सुरु नगरेको उनले बताए ।

'विराटनगर आएकाहरू स्पेस लिइसकेका छैनन्', उनले भने, 'यहाँ पनि प्रहरीले अपरेसन चलाउँछ कि भनेर उनीहरू पर्खेर हेर्ने स्थितिमा छन् ।'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget