काठमाडौं, आषाढ २८ । अन्तर्राष्ट्रिय समुदायले इजरायल र प्यालेष्टाइनबीच भड्किएको हिंसा रोक्न अपील गरिरहेको बेला इजरायलले भने कारबाहीलाई अझ कडा र तीव्र बनाउने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतान्याहुले हमासविरुद्ध कारबाही गर्ने क्रममा आफूहरुलाई कसैले पनि रोक्न नसक्ने दृढता व्यक्त गरेका छन् ।हिंसा चर्कंदै गएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली प्रधानमन्त्री न्येतान्याहुसँग टेलिफोन वार्ता गरी दुबै पक्षले संयम अपनाउनु पर्नेमा जोड दिएका थिए ।यसअघि राष्ट्रसंघका महासचिव बान कि मुनले पनि सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइ गाँजा क्षेत्रमा इजरायलले आवश्यकताभन्दा बढी बल प्रयोग गरेकोमा आपत्ति जनाएका थिए ।
गाँजापट्टीमा इस्लामी सशस्त्र समूह हमासलाई लक्षित गरी गरेको हवाई आक्रमणमा सर्वसाधारण मारिनेक्रम बढेको छ । केही दिनयता भएका हमासको रकेट आक्रमण र इजरायाली हवाई कारबाहीमा एक सयजनाभन्दा बढीको मृत्यु भइसकेको छ ।हमासले इजरायलका सहरहरुलाई लक्षित गरी दर्जनौं पटक रकेट आक्रमण गरेको छ भने इजरायलले प्यालेष्टाइनको गाँजापट्टीमा हवाई कारबाही जारी राखेको छ । (एजेन्सी)
Post a Comment