‘चेलीहरुलाई गाउँबाट ल्यायो, तीन महिना राखेर डान्स सिकायो, डान्समा पर्फेक्ट बनायो अनि ३ महिनाको टुरिष्ट भिसामा चाइना पठाउने हो कि दक्षिण अफि्रका पठाउने हो, पठाइन्छ ।काठमाडौंको पर्यटकीय बजार अहिले ट्रान्जिट प्वाइन्ट बनेको छ ।’ शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार भन्नुहुन्छ, -’ एउटा समूह विदेश जान्छ, अर्को समूह यहाँ तयार हुँदै गर्छ । चाइनाको समूह भिसा सकिएपछि फर्केर काठमाडौं आउँछ र यहाँको नयाँ समूह बाहिर जान्छ ।’
नेपालमै ‘रेडलाइट एरिया’ खोले के होला ?
नेपालमा भित्रीरुपमा बढ्दो यौन व्यवसायलाई नियन्त्रण गर्न रेडलाइट एरिया तोकिनु पर्ने र यौन व्यवसायलाई कानून बनाएर बैधानिकता दिनुपर्ने माग पनि फाट्टफुट्ट हुन थालेको छ । यस विषयमा महिला बेचबिखनविरुद्ध संघर्षरत सामाजिक कार्यकर्ताको हिसाबले तपाईको धारणा के छ भन्ने जिज्ञासामा शक्ति समूहकी अध्यक्ष दनुवारले अनलाइनखबरसँग यस्तो प्रतिक्रिया दिनुभयो-
‘हाम्रो जस्तो समाजमा यो कुरा अलि नपच्ला । त्यस्तो एरियामा आउने भनेको १८ वर्षभन्दा मुनिका बच्चीहरु हुन् । भोलि त्यो ठाउँमा मेरै बच्चा पनि पुग्न सक्छ, अरुको बच्चा पनि पुग्न सक्छ । मलाई धेरै पत्रकारहरुले यो विषयमा सोधिसक्नुभएको छ । तर, म यस्तो हुनुपर्छ भन्नेमा पनि छैन र हुनु हुँदैन भन्नेमा पनि छैन । म यस विषयमा तटस्थ छु । भोलि त्यस्तो भयो भने त्यहाँ हाम्रा आफ्नै चेलीहरु जाने हुन् ।
जुन पीडा म आफूले भोगिसकेकी छु, मेरोजस्तै पीडा अरुले पनि भोगोस् भनेर म कसरी भनौं ? मपछिको पिँढीले पनि यस्तै समस्या भोगोस् भन्न म चाहदिँन । म त यो समस्याबाट हाम्रा चेलीहरुलाई कसरी जोगाउने भन्नेतिर लागेकी छु । कल्चरको हिसाबले हेर्ने हो भने हाम्रो देशमा त्यति धेरै आधुनिकता पनि आइसकेको छैन कि हाम्रो देशमा छुट्टै रेडलाइट एरिया बनाएर त्यहाँबाट पैसा कमाऔं ।
Post a Comment