news and more entertainment

जुनिगाले मेरो सपना खोसे : नेमार

 रियो दि जेनेरियो : ब्राजिलका स्टार स्ट्राइकर नेमारले जारी विश्वकपको फाइनल खेल्ने आफ्नो सपना कोलम्बियाका रक्षक हुवाँ जुनिगाले खोसेको आरोप लगाएका छन्। चोटका कारण विश्वकपका बाँकी खेल गुमाउने भएपछि नेमारले विपक्षीप्रति यसरी आक्रोश व्यक्त गरेका हुन्।

क्वार्टरफाइनल खेलका क्रममा जुनिगाको घुँडाले ढाडमा लागेपछि नेमारको मेरुदण्डको एउटा हड्डी भाँचिएको चिकित्सकले बताएका छन्। यसै कारण केही साता मैदानबाहिर बस्नुपर्ने भएपछि नेमारले जारी विश्वकप खेल्न नसक्ने भएका हुन्। 'विश्वकप फाइनल खेल्ने मेरो सपना जुनिगाले खोसे', ब्राजिल फुटबल संघले जारी गरेको भिडियो सन्देशमा नेमारले समर्थकलाई सम्बोधन गर्दै भनेका छन्। घाइते भएपछि नेमारले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका हुन्।

सर्वाधिक पाँचपटकको विश्वविजेता ब्राजिल जारी प्रतियोगितामा नेमारकै प्रयासमा सेमिफाइनलसम्म आइपुगेको छ। १२ वर्षदेखि विश्वकपको उपाधि जित्न नसकेकाले पनि नेमारमाथि ब्राजिलको बढी भरोसा थियो। तर नेमारले आफू खेलबाट बाहिरिए पनि आफ्नो टोली विश्वविजेता बन्ने ठोकुवा गरेका छन्। 'म विश्वकपबाट बाहिरिए पनि टोलीलाई उपाधि जिताउने मेरो सपना पूरा हुनेछ। हामी अब विश्वविजेता बन्नबाट केवल दुई खेल टाढा छौं', नेमारले भनेका छन्।

नेमारले ब्राजिलियन टोलीका हरेक खेलाडी उत्तिकै क्षमतावान् रहेको दाबी पनि गरेका छन्। 'ब्राजिलियन टोलीका हरेक खेलाडी क्षमतावान् छन्। उनीहरूलाई मेरो साथ छ', निकै भावुक रूपमा प्रस्तुत भएका नेमारले भनेका छन्। नेमार साओ पाउलोस्थित गोरायुमा रहेको घरमा फर्किसकेका छन्। उनलाई ब्राजिलियन टोलीले भावनात्मक बिदाइ गरेको थियो। अस्पतालबाट उनलाई हेलिकोप्टरमा ब्राजिलियन टोली बसेको स्थानमा लगिएको थियो। त्यसपछि टोलीका साथीसँग बिदा भएर उनी साओ पाउलो प्रस्थान गरेका थिए।


भिडियोमा नेमार निराश देखिएका छन्। बोल्नेक्रममा उनले बेलाबेला जबरजस्ती आँसु रोक्न खोजेको देखिन्छ।

नेमारले आफू समालिनै नसक्ने स्थितिमा रहेको पनि बताए। 'टोलीका मेरा साथी, प्रशिक्षक र समर्थकहरू, अहिले म निकै अप्ठेरो परिस्थितिमा छु। मेरो मन र मस्तिष्कमा यतिबेला के कुरा खेलिरहेको छ, त्यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ', नेमारले भनेका छन्। नेमारले जारी प्रतियोगितामा चार गोल गरेका थिए। ब्राजिलले सेमिफाइनलमा अब तीनपटकको विजेता जर्मनीसँग खेल्दैछ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget