news and more entertainment

खुट्टाको स्टिल झिक्दा मृत्यु

काठमाडौ, श्रावण २९ - राजधानीको मोडेल अस्पताल पुग्दा पाँच वर्षे सम्राट् प्रधानको स्वास्थ्यमा खासै समस्या थिएन । विद्यालयमा बुधबारको कक्षा सकेर उनी हिँड्दै अस्पताल पुगेका थिए । सबै जाँचपछि हिँड्दै सामाखुसीस्थित घर फर्केका थिए । दायाँ खुट्टामा दुई वर्षअघि राखेको स्टिल निकाल्न गर्नुपर्ने शल्यक्रियाअघिका परीक्षणहरूमा उनको अवस्था 'सामान्य' देखिएको थियो । शुक्रबारको शल्यक्रियापछि भने बालकको अवस्था एकाएक गम्भीर भयो । त्यसको एकदिनमा उनको ज्यानै गयो ।
सम्राट्को मृत्यु अस्पतालको लापरबाहीले गर्दा भएको परिवारजनको भनाइ छ । अस्पतालले भने उक्त आरोप अस्वीकार गर्दै छानबिनका लागि समिति गठन गरेको जनाएको छ । आइतबारको घटनाको तीन दिनसम्म पनि कारण पत्ता लागेको छैन । परिवारका अनुसार डा. रोशनलाल श्रेष्ठको समूहले उनको शल्यक्रिया गरेको थियो । 'बच्चा राम्ररी हिँड्न, कुद्न र फुटबलसम्म खेल्न सक्ने भएको थियो,' सम्राट्की फूपू मोनालिसाले भनिन्, 'हामीले समय-समयमा जाँच गराउँदै आएका थियौं । बच्चाको अवस्था एकदमै राम्रो थियो ।' बिहान ८ बजे सुरु शल्यक्रिया ११ बजे सकिएको थियो । शल्यक्रियापछि बच्चालाई ज्वरो उच्च भएको थियो । 'शुक्रबार दिनभर ज्वरो नघटेपछि पटक-पटक बच्चालाई शल्यक्रिया गर्ने डाक्टर बोलाइदिन आग्रह गर्‍यौं,' फूपू मोनालिसाले भनिन्, 'नर्सहरूले डाक्टर बोलाई दिएनन्, डाक्टर आफैं पनि बिरामीको अवस्था बुझ्न आएनन् । बच्चा सिकिस्त हुँदै गयो ।'
'छिटो डाक्टर बोलाइदिनुस्' भन्दा ड्युटीमा रहेका नर्सहरूले 'पि|mजमा आइस छ झिकेर लाइदेऊ' भन्ने जवाफ दिएको परिवारले बताए । त्यति गर्दा पनि ज्वरो नघटेपछि 'फ्लुक्लस' भन्ने औषधि केनेलाबाट दिइएको थियो । त्यसपछि बच्चाको ज्वरो झन् बढेको र औषधि दिएको हातको ठाउँ सुन्नियो । नर्सलाई त्यसबारे जानकारी गराउँदा हात माडिदिन र सुम्सुम्याउन भनेको उनीहरूले बताए ।
'बच्चाको अवस्था जानकारी गराइरहँदा पनि नर्सहरूले बेवास्ता गरे,' परिवारका एक सदस्यले भने, 'बच्चाले मुखबाट फिँज निकाल्ने, आँखा पल्टाउने र श्वास फेर्न गाह्रो भएको महसुस गर्न थालेपछि आईसीयूमा राखिदिन आग्रह गर्‍यांै । बेड खाली छैन भनेर आईसीयूमा राख्न इन्कारे । राख्न जरुरी छैन भने ।' बच्चाको अवस्था नाजुक हुँदा पनि कुनै चिकित्सक नआएको र नर्सहरूले खबर नगरेको परिवारको आरोप छ । 'बालरोग विशेषज्ञ राजेश गुरुवाचार्य आइपुग्दा बच्चा अचेत भइसकेको थियो,' परिवारजनले भने, 'पोस्ट अपरेसनको २७ घन्टापछि चिकित्सक आए । अस्पतालको यो हदै लापरबाही हो ।' गुरुवाचार्यले परीक्षण गर्दागर्दै साँझ ७ बजेको र अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राख्न सिफारिस गरेको परिवारले जनायो । 'एक/दुई घन्टाअघि मात्रै अर्कै अस्पताल जाऊ भनेको भए मृत्यु हुने थिएन,' फुपूले भनिन्, 'जतिबेला अर्को अस्पतालमा पठाइयो त्यतिबेलै बच्चाको मृत्यु भइसकेको हुन सक्ने थुप्रै आधार छन् ।'

अस्पतालबाट बाहिर निकाल्दा बच्चाको दुवै आँखा बन्द गरेर टेप टाँसिएको, ईसीजीले सीधा लाइन देखाइरहेको र शरीरको अक्सिजन नाप्ने अक्सिमिटरले 'शून्य, शून्य, शून्य' अंक देखाएको परिवारका सदस्यहरू बताउँछन् । उनको परिवारका अन्य सदस्य चिकित्सा र स्वास्थ्य पेसामा संलग्न छन् । 'म आफैं पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले यो चिकित्सकको गम्भीर लापरबाही हो भन्नेमा म विश्वस्त छु,' परिवारका एक आफन्तले भनिन्, 'अर्कोतर्फ शनिबार साँझ आठ बजे बालमैत्री अस्पतालमा पुर्‍याएको बच्चाको आइतबार बिहानै अस्पतालबाट शव कुहिएर गन्हाइरहेको खबर आयो ।' बच्चाको शव बालमैत्री अस्पतालबाट उठाउन मोडेल अस्पतालले दबाब दिएको परिवारको आरोप छ । 'यो रहस्यमय विषय हो,' उनकी फुपूले भनिन्, 'शनिबार राति बच्चाको मृत्यु भएको हो भने आइतबार बिहानै कसरी शव कुहिएर गन्हाउने हुन्छ ? पत्याउनै नसक्ने गरी अस्पतालले हामीमाथि लापरबाही गरेको छ ।' सम्राट्का बुवाआमा निकेश र रश्मी बोल्न नसक्ने अवस्थामा छन् ।
'शल्यक्रियापछि बच्चामा इन्फेक्सन देखिएको थियो,' अस्पतालका बालरोग विशेषज्ञ राजेश गुरुवाचार्यले भने, 'औषधिको कारण भएको हो कि होइन भन्नेबारे खोजी भइरहेको छ । यस घटनाले अस्पताल दुःखी भएको छ ।' उनका अनुसार अस्पताल प्रशासन र चिकित्सकहरूबीच बैठक बसी यस घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget