news and more entertainment

दाइजो प्रथाका कारण रोकिएन छोरी फाल्ने क्रम

नेपालगन्ज, असार २८ - मध्यपश्चिको तराई क्षेत्रमा व्याप्त कुरीति एवं दाइजो प्रथाका कारण भू्रण र जन्मनेबित्तिकै नवजात शिशुको हत्या हुने गरेको छ। खास गरी छोरी भएको थाहा पाएपछि गर्भ नै तुहाउने र जन्मिहाले पनि हत्या गर्ने वा बेबारिस अवस्थामा फालिदिने क्रम बढ्दो छ। भेरी अञ्चल अस्पतालमा शिशुलाई जन्म दिएर एक सातापछि घर फर्किएकी एक आमाले छोरीलाई मृत्युको मुखमा मिल्काइदिइन्। ती दम्पतीले घर पुगेपछि जीवित छोरीलाई मध्यराति सडक छेउमा फालिदिएका थिए। सडकछेउको झाँडीमा फेलापरेकी शिशुको पुनः अस्पतालमै लगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीहरूले छोरी भएकै कारण नवजात शिशुहरू यसरी फालिने गरेको बताएका छन्।
भेरी अञ्चल अस्पतालकी नर्स शान्ता उप्रेती भन्छिन्- 'जति पनि केस आउँछन् सबै छोरी भएकै कारण मारिएका र फालिएका छन्।' नेपालगन्ज सुर्खेत रोडस्थित जनक शिक्षा सामग्री केन्द्र अघि फालिएको शिशु मध्यराति रोएको सुनेपछि नजिकै बस्ने लक्षिराम र आशाराम चौधरीले मन थाम्न नसकी उद्धार गरेको बताए। नजिकै कुकुर दौडी रहेका बेला पुगेर नजोगाएको भए शिशुको ज्यान जाने थियो।
नेपालगन्जमा वर्षमा ३ देखि ४ जना बेबारिसे नवजात शिशु फेला पर्दै आएका छन्। अस्पतालमै शिशु छाडेर आमा बेपत्ता भएका घटनाहरू पनि छन। वर्षमा कम्तीमा तीन जना शिशुको हत्याका घटना सार्वजनिक हुने गरेको छ। हत्या गरिएका सबै छोरी भएको पाइएको छ। त्यसमा थाहै नपाइने गरी मरिनेहरूको संख्या अझ बढी हुन सक्ने अनुमान चिकित्सकहरूको छ।
भेरी अञ्चल अस्पतालका बालरोग विशेषज्ञ तथा मेडिकल सुपरिटेन्डेन्ट पीताम्बर सुवेदीले बर्सेनि ४-५ वटा यस्ता नवजात शिशु अस्पतालमा ल्याइने गरेको बताए। छोरी भएकै कारण हत्या गर्ने र अनिच्छित गर्भ पतन गराउनेहरूको संख्या पनि बढ्दो छ। प्रहरीले घटनाको अनुसन्धान भैरहेको दाबी गरेको छ, तर नेपालगन्जमा बर्सेनि यस्ता घटना दोहोरिदै आए पनि प्रहरीले कसैलाई फेला पार्न भने सकेको छैन।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget