
बेलायती सेनाका अवकाशप्राप्त मेजर सर्जेन्ट हरि गुरुङमाथि बेलायतमा दम्पति हत्याको आरोप लागेको छ ।
कार चलाएर आफ्नो ब्यारेक तर्फ जाँदै गर्दा ४५ वर्षीय हरिले साउथ वेल्समा बेलायती सेनाकै पूर्व फ्लाइट सर्जेन्ट डेविड मार्शल र पत्नी मेरी मार्शलको कारलाई ठक्कर दिएर हत्या गरेको बयान प्रत्यक्षदर्शीले त्यहाँको अदालतमा दिएका छन् ।
हतारमा कार चलाइरहेका हरिले दम्पतिको कारमा ठक्कर दिएको बयान प्रत्यक्षदर्शीले साउथवेल्सको न्यूपोर्ट क्राउन अदालतमा दिएका हुन् ।
घटनामा डेविड घटनास्थलमै मृत्यु भएको थियो भने उनकी पत्नी मेरीको ४ दिन पछि अस्पतालमा निधन भएको थियो ।
हरिले भने आफूले साइड लाइट बालेर ओभरटेक गरेको र त्यसै समयमा लगातार हाँच्छिउँ आएका कारण गाडीमा ठोक्किन पुगेको बयान अदालतमा दिएका छन् ।
आफूले आँखा खुल्लै राख्न खोजेपनि पेटको माँसपेसीमा समस्या आएपछि गाडी अनियन्त्रित भएको उनको बयान छ । एउटा हात स्टेरिङमा र अर्को हात पेट छाम्दै गाडी चलाएको पनि उनले बताए ।
कार ठोक्किएपछि भने आफूलाई कुनै कुराको याद नभएको उनको भनाइ छ । यो घटना गत वर्षको जुलाइमा भएको थियो । ट्राफिक कम्प्युटरले गुरुङले त्यस सममया ६९ देखि ७८ माइल प्रतिघण्टाको गतिमा गाडी चलाएको देखाएको छ ।
अहिले भने गुरुङ बेलायती सेनामा छैनन् । उनी अहिले वेल्स नेपाली समाजका अध्यक्ष हुन् ।
उनले हत्या र लापरवाही तरिकाले गाडी चलाएको दुवैआरोप अस्वीकार गरेका छन् । उनको मुद्धामाथिको सुनुवाइ जारी रहेको छ ।
Post a Comment