पिताले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। छोरी त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्।
पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो प्रस्तुति शुक्रबार प्रकाश गुरुङ र रिमा गुरुङ होडाको थियो।
‘मेरो रहर ब्यूँझिएर, तिम्रो छेउ आइ हाँसे
केही रहर बिन्ती छ, तिमीले पनि सम्हाली राख्नु’
शिव शंकर थापाको शब्दलाई प्रकाशले सिंगारेपछि ओमविक्रम विष्टले गाएको यो गीत उतिबेला जति मिठो सुनिएको थियो, यसैबाट प्रारम्भ गर्दा नेपालयको आर शाला पनि सुरुमै जम्न पुग्यो।कारण प्रकाशको उत्तिकै मधुर स्वरमा गीतले अर्को चोला समातेको थियो ।
‘हरेक गीतसँग संगीतकारको आफ्नै सम्वन्ध हुन्छ,’ प्रकाश पछिल्लो समयका केही तितो अनुभव सुनाइरहेका थिए, ‘जबकि कतिपय गीत सबैले राम्रोगर्दागर्दै गायकको हातबाटै हत्या भइदिन्छ ।’
७ वर्षपछि फेरि पलेँटीको मञ्चमा प्रस्तुत भएका उनले आफु संगीतको अभ्यास गर्ने कोठाबाहेक गीत सुनाउने यो एउटा मात्र मञ्च रहेको पनि स्पष्ट पारे ।
त्यसपछिको अर्को गीत पनि उतिबेलाको उत्तिकै चर्चित थियो , ‘धेरै नजिक हुनु पर्दैन, मान्छेलाई टाढाको घामले पनि पोल्न सक्छ’ ।
रेडियो नेपालमाकार्यरत रहँदा अपरिचित गीतकार (कृष्ण जोशी)ले ल्याएर दिएको यो गीत आफुले पाएकै दिन संगीतबद्ध गरेको जानकारी प्रकाशले दिए। यसलाई रिमाले गाएर सुनाएकी थिइन्।
कुनै समय दीप श्रेष्ठले गाएको अर्को गीत ‘सबै आफ्नो’ सुनाएपछि रिमाले छिट्टै प्रस्तुत हुन लागेको आफ्नो अल्बमको राजेन्द्र थापा लिखित गीतपहिलोपटक गाएर सार्वजनिक गरिन, ‘आँखाको जोर घैंटोमा’ ।
‘रगत र नशाबाटै संगीत बगेपछि कसैले कसैलाइ सिकाउनु पर्दैन,’ आफ्नो सांगीतिक गुण छोरीमा सरेको बारे प्रष्ट पार्दै प्रकाशले भने, ‘मेरो बुवाले मलाई कहिल्यै सिकाउनु भएन तर, उहाँको सामिप्यमा जुन वातावरण मैले पाएँ त्यो नै मेरा निम्ति पर्याप्त थियो।’
प्रकाश दार्जिलिङका प्रसिद्ध शास्त्रीय संगीतज्ञ हरिमान गुरुङका छोरा हुन्।
यो जानकारीसँगै प्रकाशले लगातार चारवटा गीत सुनाए । त्यसमध्ये पहिलोपटक पलेँटीमै प्रस्तुत हुँदै गरेको कालीप्रसाद रिजालको ‘यस्तो पनि केजिन्दगी’ र विजय शिवाकोटीको ‘सक्तिन म नगाइ’ पनि थियो ।त्यस्तै रिमाको अर्को नयाँ गीत ‘हाँस्न पनि सिकी’ सुनाएर कार्यक्रमको मध्यान्तर भएको थियो ।
प्रकाश आफैले गाएका ‘बिन्ति छ है, ओंठमा अल्झिएको वचन देउ’ सुनाएर प्रारम्भ भएको दोश्रो खण्डमा पलेँटीका श्रोताका निम्ति एकपछि अर्कोचर्चित गीतहरु थिए। त्यसैमध्ये एउटा अरुण थापाले गाएको ‘कुन बाटोको’ पनि थियो, जसलाई रिमाले प्रस्तुत गरेकी थिइन् ।
केटाकेटीदेखिको साथी अरुण लामो समय हराएपछि अचानक फेला पर्दा यो गीत रेकर्डको संयोग जुरेको जानकारी पनि प्रकाशले दिएका थिए ।
उनकाअनुसार मित्रताको चिनो स्वरुप त्यहि एउटा गीत गाएकोे केहि समयमै उनको निधन भएको थियो ।
‘पहिले गाउने मान्छेहरु असाध्यै थोरै थिए । तर, गीतलाई बुझेर गाउने कोशिस गर्थे,’ प्रकाशले बदलिँदो समयको तुलना गर्दै भने, ‘अहिले गाउनेहरुअसाध्यै धेरै भए ।
तर, केवल शब्द पढेर गाउनेभन्दा बढी मेहनतै गर्न चाहँदैनन् ।’ यसले आधुनिक नेपाली संगीतमै गम्भीर अवस्था ल्याएको टिप्पणीपनि उनले गरे ।
कार्यक्रममै उनले दार्जिलिङकै अर्को परिचित स्वर अरुणा लामासँगको सहकार्य बारे पनि सुनाए ।
उनको स्वरमा रेकर्ड गर्दागर्दै स्वास्थ्यका कारणबीचैमा रोक्नुपरेको एउटा गीतको ठम्याएजति शब्द उनले हार्मोनियम र तबलाकै भरमा गाएर पनि सुनाएका थिए ।
त्यसपछिको क्रम उनका सर्वकालिक हिट गीतहरुको थियो ।
मनाङको हिमाली दृश्यमा फिल्मांकन गरिएको कुनै समय ‘झुमा’ सिनेमाको चर्चित गीत ‘बोल बोल पाखाहरु’ सुनाएपछि सुरुभएको हल भित्रको तातोमाहोलले त्यसपछि अन्तिमसम्मै निरन्तरता पायो ।
सुकमित गुरुङले उतिबेला गाएको ‘म भनि बाँचेको प्रिय, तिमी बाँच सदालाई हृदयकोगहिराइमा’ लाई निरन्तरता दिएको थियो ओमविक्रमकै अर्को हिट ‘म सम्झन्थे’ले ।
‘जोवन यसै बितिसक्यो मायालु’ कुनै समय ओमविक्रमको यो युगल गीतपछि फेरि अर्को उत्तिकै चर्चित युगल गीत ‘सुनचाँदी भन्दा महँगो योज्यानलाई’ पितापुत्रीले गाएर कार्यक्रमको अन्त्य भएको थियो ।
‘जीवनमा पहिलोपटक बाबु छोरीलाई एउटै मञ्चमा गाएको देखेँ,’ कार्यक्रम सकिएपछि प्रतिक्रिया दिँदै प्रकाश पत्नी रत्नतारा गुरुङले भनिन्, ‘यस्तोरमाइलो कहिल्यै लागेको थिएन ।’
संयोजक एवं गायक आभासका अनुसार पलेँटीको आगामी प्रस्तुति यसको सामाजिक सञ्जाल ट्वीटर र फेसबुकको अकाउन्टबाट छिट्टै सार्वजनिक गरिनेछ ।
Post a Comment