
देउलेक गाविसको चिसापानीनजिकै शुक्रबार दिउँसो ट्रकभित्रै एकल महिलामाथि बलात्कार प्रयास भएको छ । दार्चुला घर भएकी २८ वर्षीया रेखा (नाम परिवर्तन) लाई मौलाली–१ घर भएका ट्रक चालक दीपक रावलले ट्रकभित्रै बलात्कार प्रयास गरेका हुन् । तीन वर्षअगाडि उनका श्रीमान्को मृत्यु भएको थियो । उनी एक वर्षदेखि बझाङमा रहेको एक संस्थामा काम गर्दै आएकी थिइन् ।
भूमिराज उद्यमी तरकारी समूह देउलेकले आयोजना गरेको एक कार्यक्रमको समापन गर्न गएकी उनीमाथि बीचबाटोमै बलात्कार प्रयास भएको उनी कार्यरत संस्थाले जनाएको छ । सदरमुकाम चैनपुरबाट धनगढीतर्फ जाने बस छुटेपछि उनी झोतासम्म जिपमा गएकी थिइन् । झोताबाट उनी सो ट्रकमा चढेकी थिइन् ।
ट्रक खलासीलाई चलाउन दिएर जबर्जस्ती गर्न थालेपछि रुन कराउन थालेको उनले बताइन् । ‘उसले मुख च्यापी लछारपछार गरी कपडा खोल्ने प्रयास गर्दै थियो । एक्कासि यात्रुवाहक बस आउँदा मैले गुहार मागेँ,’ रेखाले भनिन्, ‘यात्रुहरूले उद्वार गरेपछि उम्किन सफल भएकी हुँ ।’ नयाँ पत्रिकामा खबर छ ।
उनले आरोपितविरुद्व जबर्जस्ती उद्योगसम्बन्धी मुद्दा दर्ता गराएकी छिन् । रावललाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले बताए ।
Post a Comment