काठमाडौं,
असार १४ - अघिल्लो दिनदेखि दिउँसै अन्धकारजस्तो भएर छटपटिएकी राधिका
कार्कीलाई शुक्रबारको औंसीको रात टहटह जुन लागेजस्तै झलमल्ल भयो ।
बेपत्ता भएका मुटुका टुक्राजस्ता छोराछोरी टुप्लुक्क दैलोमा देखा पर्दा उहाँलाई यसअघि कहिल्यै नमिलेको खुशी मिल्यो ।
दिनभर रुँदारुँदा आँसु नै सकिएका आँखामा फेरि हर्षका आँसु रसाए । टीठ
लाग्दा छोराछोरीलाई उस्तै टीठलाग्दी आमा राधिकाले गर्लम्म अँगालो हाल्नुभयो
। मुहार सुम्सुम्याउनुभयो ।
‘कहाँ गएका थियौ बाबा हो, पीर र चिन्ताले म झण्डै मरिन’ भन्दै छोराछोरीको
गालामा म्वाई खानुभयो । हराएका छोराछोरी खोज्दाखोज्दै थकित र मलिन भएका
बुबाको आँखा पनि रसाए । भोक र थकाईले लखतरान भएको जीउमा त्यसै त्यसै फूर्ति
आयो ।
बाबुआमाको हालत देखेर छोराछोरी पनि सुँकसुँक गरे । दुई दिनदेखि मुखमा
राम्रोसँग पानी पनि नपारेका बाबुआमा र छोराछोरीले भात खाए । मध्यरात हुनै
लाग्दा खाएको भात ‘चौरासी व्यञ्जन’ भन्दा बढी मीठो भयो । सानो परिवारमा
एक्कासी देखिएको अपार खुशीयाली देखेर त्यहाँ पुगेका छिमेकीहरुका पनि आँखा
रसाए । ओखलढुंगा घर भै ललितपुर धोबीघाटमा डेरा गरी बस्ने राधिकालाई हराएका
छोराछोरी यसरी टुप्लुक्क आइपुग्छन् भन्ने आशै थिएन । हराएको दिन बिहीबार र
भोलिपल्ट शुक्रबार दिनभर बाबुआमाले बाटोघाटो, मन्दिर सबैतिर छोराछोरी खोजी
गरे । बाटोमा खेलिरहेका बालबालिका कतै आफ्नै छोराछोरी हुन् कि भनेर नियालेर
हेरे । आफ्ना छोराछोरी होइन रैछ भन्ने थाहा भएपछि खुइय सुस्केर हाल्दै
छटपटाए ।
‘एक रात र दुई दिन दिनभर खोज्दा पनि नभेटिएपछि मेरो होस नै गुमेको थियो,
धन्न भगवानले मेरो पुकार सुनिदिए र हराएका छोराछोरी भेटिए’ खुशी हुँदै
राधिकाले भन्नुभयो ओखलढुंगाका कार्की दम्पती छोराछोरी सहित ललितपुर
धोवीघाटमा डेरा गरी बस्छन् । दुवै श्रीमान श्रीमती ज्याला मजदुरीको काम
गर्छन् । ९ वर्षिया छोरी सुश्मिता, अर्की कान्छी छोरी र ५ वर्षिय छोरा उमेश
नजिकैको सरकारी स्कुल सञ्चेतना प्राविमा पढ्छन् । अहिले स्कुलमा गर्मीको
छुट्टी छ । त्यसैले छोराछोरी दिनभर डेरा नजिकको धोवीघाट चौरमा खेलेर बस्छन्
।
सधैं झैं बिहीबार विहान पनि राधिकाले छोराछोरीलाई खाना खुवाउनुभयो ।
छोराछोरीलाई ‘झगडा नगरी बस है’ भन्दै श्रीमान श्रीमती दुवै काममा निस्के ।
काम सकेर बेलुका घर फर्किंदा कोठामा कान्छी छोरी मात्रै छिन् । ठूली छोरी र
छोरा छैनन् । कतै गएका होलान्, आउलान् भन्दै एकछिन श्रीमान श्रीमतीले बाटो
हेरे । तर साँझ छिप्पिसक्यो, छोराछोरीको अत्तोपत्तो छैन । त्यसपछि दुवैजना
आत्तिए । यताउता दौडिए । सबैतिर हेरे । कहिँ कतै भेटिएन । त्यसपछि
छोराछोरी पढ्ने स्कुलकी शिक्षिका सुधा केसीलाई फोन गरे । सुधाले राति नै
सानेपा प्रहरी चौकीमा पुगेर रिपोर्ट लेखाउनुभयो ।
राधिकाका
श्रीमान श्रीमतीलाई त्यो रात कसरी बित्यो पत्तो नै छैन । छोराछोरी खोज्न
रातभर नै यताउता डुलिरहे । शुक्रबार दिनभर शिक्षिका सुधाले पनि खोज्न
सघाउनुभयो । तर दिनभरको प्रयास सफल नभएपछि बेलुकी सुत्ने बेला हुनै लाग्दा
राधिकाका छोराछोरीलाई प्रहरीले डेरामा ल्याइदियो ।
यसरी भेटिए हराएका बालबालिका
बिहीबार बाबु आमा काममा निस्केपछि दिदीभाइ खेल्दै थिए । खेल्दाखेल्दै ठूली
दिदी र भाइ एकातिर लागे । कान्छी कोठामा गईन् । भाइ लिएर हिँड्दै गरेकी
सुश्मितालाई कहाँ पुगियो पत्तो नै भएन । बाटो भुलेपछि दुवै दिदीभाइ रुन
थाले । रोइरहेका बालबालिका देखेर एकजना महिलालाई दया लाग्यो । उनले घर
लगिन् । खानेकुरा खान दिएर सुताईन् । शुक्रबार बिहान ती महिलाले
बालबालिकालाई तिमीहरु कोठामा जान सक्छौ भन्दा सक्छु भने । त्यसपछि उनले
छाडिदिइन् । दिदीभाइ कोठातिर जान भनेर हिँडे । तर दिनभर हिँड्दा पनि कोठामा
पुगिएन । भोक, प्यास र थकाईले रुन थाले ।
फेरि बाटो भुलेका बालबालिकालाई अर्का एकजनाले भेटे र प्रहरीलाई खबर गरे ।
‘सायद ती बालबालिका बिहीबार राति थापाथलीको कुनै घरमा बसेको हुन सक्छ ।
शुक्रबार पनि बाटो भुलेपछि सिंहदरबार प्रहरीको सम्पर्कमा उनीहरु पुगे ।
त्यसपछि हामीलाई खबर आयो र राति नै पुगेर ल्यायौं, अनि बाबुआमालाई बुझायौं’
सानेपा प्रहरीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले उज्यालो अनलाइनसँग
भन्नुभयो ।
Post a Comment