नेपालमा हुँदा मिठो मानीमानी खाएकी सवितालाई इजरायल पुग्ने बित्तिकै आँखाले हेरेर नभ्याउने अग्लाअग्ला, काँडैकाँडा भएका रुखमा लटरम्मै छोकडा फलेको देख्दा अचम्मै लाग्यो ।
संयोग नै यस्तो पर्यो कि कृषि तालिमको लागि इजरायल पुगेकी सवितालाई सुरुमा यही छोकडा टिप्ने काम आइलाग्यो । शुरुमा त यति ठुलो रुखमा चढेर कसरी टिप्ने होला भनेर उहाँ निकै आत्तिनुभयो । तर रुखको टुप्पोमा पुर्याउने स्वचालित मेसिन थियो ।

दुई प्रतिशत जनसंख्याले गर्ने कृषि ब्यबसायबाट देशको पुरै जनसंख्यालाई पुर्याएर निकासी पनि गरिरहेको इजरायल मरुभूमिले भरिएको देश हो । ‘तर बाहिरबाट माटो ल्याएर उच्च प्रविधि प्रयोग गरी उनीहरुले गरिरहेको कृषिको ब्यबसायिक विकास साँच्चै हेर्न लायक छ’ तालिम सकेर फर्केका धादिङका सोम अधिकारीले भन्नुभयो ‘त्यस्तो मरुभूमिमा २ हजार मिटर तलबाट निकालेको नुनिलो पानीलाई प्रशोधन गरेर त कृषिमा त्यत्रो विकास गरेका छन् भने हामीकहाँ त जमिन, पानी के को कमी छ र ?’ प्रविधिमा लगानी गर्ने हो भने कृषिले ब्यवसायिकता पाउन समय नलाग्ने उहाँको बुझाई छ ।

‘पढेको मान्छेले कहाँ खेतबारीमा काम गर्ने भन्ने सोच्थे तर त्यस्तो होइन रहेछ , त्यहाँ त कृषिमा पढेलेखेका मान्छे मात्रै पो रहेछन् अनि पो कृषि ब्यवसायिक भएको रहेछ’ निकै उत्साहित हुँदै उहाँले भन्नुभयो । धादिङ चैनपुरका माधव छत्कुलीलाई भने त्यहा देखेको कम्प्युटर प्रणालीबाट थोपा सिंचाई गर्ने प्रविधिले तान्यो । तालिम अबधिभर उहाँले त्यहि कुरालाई विशेष ध्यान दिएर हेर्नुभयो र केहि कुरा सिक्नु पनि भयो । ४ लाखको लगानीबाट शुरु गर्न सकिने यो प्रवधि थालिहाल्ने उहाँको सोच छ । ‘यसको लागि मेसिन बाहिरबाट ल्याउनुपर्छ, केही पैसा मैले नै कमाएर ल्याएको छु, अरु ऋण खोजेर भएपनि अब आफैले सुरु गर्छु , अनि अरु किसान माझ पनि यसलाई विस्तार गर्न लाग्नेछु’ उहाँले भन्नुभयो ।
इजरायली दूतावासको सहयोगमा साना विकास विकास बैंक मार्फत कृषि तालिमका लागि इजरायल गएका पहिलो ब्याचका ५४ जना विद्यार्थी तालिम सकेर नेपाल आउँदा यस्तै सीप र प्रविधि मात्रै सिकेर आएका छैनन् । त्यहाँ सिक्दै काम गर्दै गरेर बचाएको ५ देखि १० लाख रुपैयाँसम्म बोकेर आएका छन् । उनीहरु अब सिकेको सीप र ल्याएको पैसा लगाएर आआफ्नो ठाँउमा व्यवासयिक कृषि शुरु गर्ने तयारीमा छन् ।
पहिलो चरणमा २ सय ५ जना नेपाली विद्यार्थी तालिमका लागि इजरायल गएका थिए । तिमध्ये तालिम पुरा भएका ५४ जना स्वदेश फर्केको साना किसान विकास बैकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले जानकारी दिनुभयो । इजरायलको आराभा इन्टरनेशनल सेन्टर फर एग्रिकल्चर टेक्नोलोजीमा तालिमका लागि गएका धादिङ र मकवानपुरका विद्यार्थी फर्केको र बाँकी अरु अक्टोबरसम्म नेपाल फर्कने उहाँले बताउनुभयो ।
तालिमका लागि गएका नेपाली विद्यार्थीले त्यहाका कृषि फार्ममा काम समेत गरेका थिए । पहिलो चरणको कार्यक्रम सफल भएपछि साना किसान विकास बैंकले दोश्रो चरण अन्तर्गत विभिन्न २१ जिल्लाका थप ५ सय १५ जनालाई आउँदो अक्टोवरसम्म इजरायल पठाउँदैछ । उनीहरुले इजरायलका पाँच वटा कृषि तालिम केन्द्र र फार्ममा प्रशिक्षणसंगै काम गर्नेछन् ।
व्यवसाय गर्न सरकारले पैसा दिने

‘हामीले अर्थमन्त्रालयमा बजेटको लागि प्रस्ताव गरिसकेका छौ’ उहाँले भन्नुभयो, ‘बजेट राख्ने सहमति पनि भएको छ ।’ खनालका अनुसार इजरायलमा तालिम लिएर फर्केकाहरुले सुरु गर्ने कृषि व्यवसाय हेरेर ४० हजारदेखि १ लाख रुपैयाँसम्म अनुदान दिने सरकारको तयारी छ ।
Post a Comment