news and more entertainment

चुनावी एकताका लागि वैद्यका दुई नयाँ सर्त

काठमाडौ, असार १३ - चुनावमा सहभागिताका लागि नेकपा-माओवादीले राजनीतिक सहमति गरी संविधानसभाको नयाँ मिति घोषणा गर्नुपर्ने र राष्ट्रियताको मुद्दा सम्बोधन गर्नुपर्ने नयाँ सर्त राख्ने भएको छ । ती दुई माग सम्बोधन भए एमाओवादीसँग चुनावी एकताका लागि समेत आफूहरू सकारात्मक हुने निष्कर्षमा माओवादी पुगेको छ ।
उक्त निष्कर्षसहितको सन्देश माओवादीले एमाओवादी नेतृत्वसमक्ष चाँडै राख्ने जनाएको छ । 'एकताको प्रस्ताव राखेकाले पहिले एमाओवादी र यही सर्त हामी ४ दलको संयन्त्रलाई समेत राख्ने भएका छौं,' माओवादीका एक पोलिटब्युरो सदस्यले कान्तिपुरलाई बताए ।
अघिल्लो दिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी अध्यक्ष मोहन वैद्यलाई भेटी पार्टी एकीकरण र चुनावमा सहभागिताबारे प्रस्ताव राखेका थिए । दाहालको प्रस्तावलाई पार्टीमा छलफलपछि टुंगो लगाउने जवाफ दिएका वैद्यले पदाधिकारीसँगको छलफलपछि दुई सर्तहरू अघि बढाउने टुंगो लगाएका हुन् ।
चार दलको एकल निर्णयका आधारमा सरकारले चुनाव घोषणा गरेको र त्यसअघि टुंग्याउनुपर्ने विषयका लागि समय अभाव हुने भन्दै उसले मिति सार्नुपर्ने निर्णय गरेको हो । संविधानसभामा जानुअघि संघीयता, शासकीय स्वरूपसहित विवादका मुख्य विषयलाई राजनीतिक गोलमेच सम्मेलनबाट टुंगो लगाउनुपर्ने, विदेशी हस्तक्षेपका भरमा भएका नियुक्ति खारेज हुनुपर्ने र परिणाममुखी संविधानसभाका लागि सबै दललाई सहभागी गराउने वातावरण बन्नुपर्ने भन्ने अडानलाई कुनै हालतमा छाड्न नहुने सुझाव केन्द्रीय पदाधिकारीहरूले अध्यक्ष वैद्यलाई दिएका थिए ।
राष्ट्रियताका मुद्दाअन्तर्गत नागरिकता विधेयकमार्फत खासगरी मधेसमा बाँडिएको नागरिकताको विरोधलाई माओवादीले प्रमुखताका साथ उठाउने भएको छ । यी समस्यालाई सम्बोधन नगरी आफ्नो पार्टी कुनै हालतमा चुनावमा सहभागी नहुने माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् ।
'मधेसमा भएका नेपालीलाई नागरिकता नदिने भन्ने होइन । तर, गैरनेपालीलाई नागरिकता दिन जारी भएको अध्यादेश मुलुकको हितविपरीत छ,' भुसालले भनिन् । 'त्यही कारण हामी मंसिर ४ को निर्वाचन मिति खारेज गरी नयाँ प्रक्रियामा जानुपर्छ भन्ने टुंगोमा पुगेका हौं,' उनले भनिन् । दुई पार्टी एकीकरणको पक्षमा सक्रिय एमाओवादी सचिव कृष्णबहादुर महराको धोबिघाटस्थित निवासमा मंगलबार दाहालले माओवादी अध्यक्ष वैद्यसामु पार्टी एकीकरण र चुनावमा सहभागिताका लागि औपचारिक प्रस्ताव राखेका थिए । दाहालले पार्टी एकीकरण गरी चुनावमा भाग लिनुपर्ने, दोस्रो एकीकरण सम्भव नभए पनि चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव वैद्यलाई राखेका थिए । त्यसका लागि अहिले क्रियाशील दलहरूको उच्चस्तरीय समिति र मन्त्रिमण्डलमा समेत सहभागी हुन वैद्यलाई आग्रह गरेका थिए ।
 जवाफमा वैद्यले दुवै प्रस्तावलाई आफूले तत्काल स्वीकार्न नसक्ने बताएका थिए । अध्यक्ष दाहालले फुटको औचित्य सावित नभएकाले मिल्नुपर्ने आवश्यकतालाई पटक-पटक राखेका थिए ।
वैद्यको भनाइ राख्दै माओवादीका एक पदाधिकारीले कान्तिपुरलाई भने, फुटले हामीलाई राष्ट्रिय राजनीतिमा कमजोर बनाएको छ भनेर दाहालले स्वीकार्नु भएको छ । फुटको औचित्यताको कुरामा दुवै पार्टीले गम्भीरता देखाई अघि बढ्ने हो भने त्यसको आधार खोजौं । अहिले नै चुनावको कुरा नगरौं भनी मैले जवाफ दिए
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget