news and more entertainment

मेरुदण्डको उपचारमा चामत्कारिक अनुसन्धान

हङकङ (एएफपी), असार १३ - मेरुदण्डको गम्भीर चोटबारे अनुसन्धान गरिरहेका एक प्रमुख अनुसन्धानकर्ताले बुधबार मूलकोष उपचार विधिका कारण हिँड्डुल गर्न नसक्ने बिरामी पुनः हिँड्डुल गर्न सक्ने देखिएको दाबी गरेका छन् । चाइना स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क (चाइना साइनेट)ले स्नायुका रेसालाई पुनः हुर्काउन मूलकोषको उपयोगको दोस्रो चरणको परीक्षणमा प्रगति देखिएपछि यसलाई अन्तिम तथा तेस्रो चरणका लागि उपयोग गर्न चीनको नियमक संस्थासँग अनुमति मागेको छ । तेस्रो चरणको परीक्षण शरदकालमा गरिने अनुमान गरिएको छ । परीक्षणको उपलब्धिका कारण विश्वका चिकित्सकले आफ्ना बिरामीलाई 'अब तिमी कहिल्यै हिँड्न सक्ने छैनौ' भन्न नपर्ने जानकारी चाइना साइनेटका प्रमुख कार्यकारी अधिकारी तथा अमेरिकामा बसेर काम गरिरहेका चिकित्सक वाइज योङले बताए । उनले चिनियाँ नगर कुनमिङमा यस्ता २० बिरामीमध्ये १५ लाई नाइटो रक्तकोष प्रतिस्थापन तथा गहन हिँडाइ उपचार विधि उपयोग गर्ने गरिएको जानकारी दिए । यस्ता बिरामीले मेरुदण्डमा चोट लागेको सात वर्षसम्म निरन्तर रूपमा यस्तो उपचार गरेपछि थोरै सहयोगका आधारमा हिँड्न सकेको देखिएको छ । चिकित्सक योङले मानव इतिहासमा पहिलोपटक मेरुदण्डको पुनर्निर्माण आरम्भ भएको देख्न सकिने बताए
 उपचारमा नाइटोको रगतको एउटा न्युक्लियस भएको कोष बिरामीको मेरुदण्डमा स्नायु पुनर्निर्माणका लागि घुसाइने गरिन्छ । यहाँ स्नायु रेसालाई छिटो हुर्काउन लिथियम उपयोग गरिन्छ । तेस्रो चरणमा यस एकीकृत उपचारका हरेक तत्त्वमा परीक्षण हुने जानकारी योङले दिएका छन् । यसमा चीनका १ सय २० तथा भारत, नर्वे तथा अमेरिकाका १ सय २० बिरामी उपयोग हुन्छन् । उनले तेस्रो चरणको परीक्षण सफल भए सन् २०१५ को मध्यसम्म विश्वव्यापी रूपमा यस विधिलाई अनुमति प्राप्त गरिने बताए । चाइना साइनेट नाफा कमाउने उद्देश्य नभएको संस्था हो । यसले आफूलाई मेरुदण्डको उपचारका लागि विश्वको सबैभन्दा ठूलो सञ्जालको रूपमा दाबी गरेको छ । यो संस्था सन् २००५ मा हङ्कङमा स्थापना भएको हो । योङले मेरुदण्डमा लागेको चोटको उपचार गर्न सफलता प्राप्त भएमा हङकङ यस विषयमा अन्य मुलुकभन्दा अगाडि पुग्ने बताए । उनले यसको अर्थ हङकङ मूलकोषबाट हुने सबै प्रकारको उपचारका लागि केन्द्र हुने पनि उल्लेख गरे । योङले चीनले मूलकोषमा अनुसन्धानमा व्यापक रूपमा लगानी गरिरहेको तर यहाँको प्रविधि अमेरिकामा निकै विवादास्पद रहेको बताए । चीनमा मानव भ्रुणबाट मूलकोष प्राप्त गर्ने गरेको भनी आरोप लगाइन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget