काठमाण्डौ, फाल्गुन २,सुक्रवार
गौशलाको एउटा क्याफेमा अभिनेत्री रेखा थापा आफ्नो प्रेम अनुभव सुनाउँदै
थिइन् । यी समाजसेवी अभिनेत्रीको भनाई सुन्दा लाग्थ्यो, प्रेम सम्बन्धी
आफ्नो अनुभव होइन प्रवचन दिइरहेकी छिन् ।
फिल्ममा बोल्ड भएर प्रस्तुत हुने रेखा भन्दै थिइन्, ‘मलाई सामान्य युवती
भएर प्रेममा चुर्लुम्म डुब्न मन छ ।’ ‘काली’बाट ‘हिम्मतवाली’ बन्ने तयारीमा
रहेकी अभिनेत्री रेखाले फिल्मीखबरकर्मी उत्सब रसाइलीसँग आफ्नो जीवनको
महत्वपुर्ण प्रेमीको पनि पर्दाफास गरिन् । सम्भवतः आफ्नो प्रेमी बारे
अभिनेत्री थापा पहिलो पटक सार्वजनिक हुने गरी कुरा गर्दै थिइन् ।
रेखाले आफ्ना प्रेमी भएको बताउँदा आश्चर्य लाग्नु स्वभाविक थियो । किनकी
उनी पूर्व पती छवि ओझासँग रहंदा कसैलाई प्रेम गर्थिन् । रेखाले आफ्नो प्रेम
प्रसंगको पोको यसरी फुकाइन्- ‘ऊसँग पहिलो भेट प्लेनमा भएको थियो । म
बुवाको निधनमा विराटनगरतर्फ उड्दै थिएँ । पहिलो भेटमै उसलाई प्रेम गर्न
पुगेछु ।’ निर्माता ओझासँगको
प्रेम चाहिं के थियो त ? रेखा भन्छिन्- ‘छविजीसँग मेरो प्रेम नै थिएन । उहाँसँगको सम्बन्धलाई म सम्झौता मात्रै भन्न रुचाउँछु । उहाँ मेरो असल अभिभावक हुनुहुन्थ्यो ।’
१२ बर्षसँगै बिताएकी रेखाले निर्माता ओझासँको सम्बन्धका बारेमा धेरै
बोलिनन् । तपाई नेपाली समाजको बिरुद्धमा जानु भएको हो ? भन्ने प्रश्न गर्दा
रेखा प्रतिप्रश्न गर्छिन्, ‘भगवान श्रीकृष्णले पनि पत्नी हुंदै राधासँग
प्रेम गरेका थिए । पुज्ने भगवानले चाहिं श्रीमती छोडेर प्रेम गर्नु हुने,
भगवानलाई पुज्ने भक्तजनले चाहिं श्रीमान छोडेर प्रेम गर्न नहुने ? हामी
खुल्न डराउँछौं ।’
प्रेम कसले गरेको थियो ? रेखा ढुक्कसँग भन्छिन्, ‘मैंले नै उसलाई
प्रेम गरेको थिएँ ।’ उसले पनि प्रेम गर्थ्यो ? ‘सायद गर्थ्यो । तर, प्रेममा
ऊ भन्दा म नै बढी क्रेजी थिएँ,' उनले थपिन्, 'प्रेममा हुंदाको पल निकै
मिठो थियो ।’ उसको कुन पक्षले तपाईलाई आकर्षण गर्यो ? उनी भन्छिन्,
‘प्रेमीका हरेक पक्ष आकर्षक हुन्छन् । मलाई उसका हरेक पक्ष प्यारा लाग्थे ।
म उसको प्रेममा पागल नै भएको थिएँ ।’
सम्झौतामा रहेको छवि ओझासँगको सम्बन्ध टुट्यो । सँगै प्रेमीसँग पनि रेखाको
सम्बन्ध जुट्न भने सकेन । प्रेमीसँग किन रेखाको सम्बन्ध टुट्यो ? उनी
व्यवहारिक सुनिइन्- ‘एउटी प्रेमी मात्रै थिइँन । सार्वजनिक व्यक्ति थिएँ ।
मसँग लाखौं दर्शकको माया थियो । प्रेमी एउटा थियो । मैंले एउटा प्रेमीलाई
भन्दा लाखौं दर्शकलाई रोजें ।’ रेखासँग प्रेमी छैनन् । तर, प्रेममा पर्दाका
मिठा पल भने उनीसँग ताजा छन् ।
रेखा सम्झिन्छिन्- ‘कस्ले चोर्यो मेरो मनको सुटिङ थियो । मोबाइल अफ
गरेर ऊ एकाएक गायव भयो । मेरो मोबाइल उसको सन्देश आउने पर्खाइमा थियो तर
आएन ।’ रेखाले बेलिविस्तार लगाइन्- ‘क्यामेराको अगाडी माया प्रेममा डुबेको
संवाद बोल्नु पर्ने थियो । एकै सटमा प्रेममा परेको संवाद ओके भयो ।
निर्देशकले ‘क्या फिल छ’ भन्दै ओके भनिदिए । नाटक गरेको प्रेमको संवाद ओके
भयो । तर मेरो प्रेमको संवाद सुन्ने प्रेमी गायब भयो ।’
रेखा भावुक भइन्, ‘सुनेकी छु, उसले केही बर्ष अगाडी मात्रै बिहे
गर्यो । उसले कसैको प्रेम पायो बिहे गर्यो । मैंले पनि उसलाई प्रेम गरेको
थिएँ तर गुमाएँ । आखिर हामी दुबैजना प्रेममा बिजय भयौं । उसले पायो । मैंले
गुमाएँ ।’ रेखाले खिस्स हाँस्दै भनिन्, ‘विगतका यी पल सम्झदा रमाइलो महसुश
गर्छु । प्रेमका पिडाका पल पनि कति मिठा !’
Post a Comment