news and more entertainment

छोरा बनाइदिने भन्दै ठग्दै चिकित्सक

२०७१ जेठ २४ गते
भक्तपुरका श्रेष्ठ दम्पत्ति दोस्रो सन्तान छोरा होस् भन्ने चाहन्छन् । धेरै सन्तान पाउन पनि मन छैन, तर पहिलो सन्तान छोरी भएकाले एउटासम्म छोरा होस् भन्ने तीब्र इच्छा छ उनीहरूको । एकदिन उनीहरूले सुने, ‘थापाथलीको निम्स डाइग्नोस्टिक सेन्टरमा ग्यारेन्टीका साथ छोरा बनाइन्छ’ । अनि उनीहरू त्यहाँ पुगे ।
सेन्टरकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.देवी गुरूङलाई भेटेपछि त उनीहरू छोरा हुनेमा झन् विश्वस्त भए । श्रेष्ठ दम्पत्तिले डा.गुरूङले भनेअनुसार जाँच पड्ताल र परीक्षण पनि गराउँदै गए र छोरा बनाउने भन्दै डा.गुरुङले दिएका औषधि नछोडी सेवन गरे । गर्भ पनि रह्यो । तर १३ हप्तापछि जुन डाक्टरले छोरा बनाइदिन्छु भनेकी थिइन् तिनै डाक्टरको मुखबाट श्रेष्ठ दम्पत्तिले गर्भमा छोरी रहेको सुन्नुपर्‍यो । ‘तपाईहरुको ब्याड लक,’ डा. गुरुङको प्रतिक्रिया सम्झदैं श्रेष्ठले बैशाख ३० गते सेन्टरमै सुनाए ‘कसरी छोरी भयो, यस्तो त हुनै नपर्ने’ ।
छोराका आशामा भौतारिने दम्पत्तिलाई धामीझाँक्री बसाएर वा झारफुक र तन्त्रमन्त्रबाट छोरा बनाइदिन्छु भन्दै ठगेका घटना नेपाली समाजमा नौला होइनन् । तर चिकित्सा विज्ञानमा विशेषज्ञता हासिल गरेकी चिकित्सक नै सोझा दम्पतीलाई छोरा बनाउने  भ्रम छर्दै लुटिरहेकी छिन् । सरकारको प्रसूति तथा स्त्रीरोगसम्बन्धी एक मात्रै विशेषज्ञ अस्पताल प्रसूति गृहमै कार्यरत डा.गुरुङले सोही अस्पतालको छेवैमा क्लिनिक खडा गरेर दैनिक श्रेष्ठजस्ता दर्जनौं दम्पत्तिको भावनासँग खेल्दै लाखौं कमाइरहेकी छिन् । चिकित्साजस्तो सम्मानित पेशा अपनाएकी डा. गुरुङ पैसाका लागि मानिस कतिसम्म गिर्नसक्छ भन्ने प्रतिनिधि बनेकी छन् ।
श्रेष्ठसहितका दम्पत्ति ठगिएको जानकारी पाएपछि स्वास्थ्य खबरपत्रिकाले विशेष टीम बनाएर दर्जनौं दम्पत्ति, सेन्टरमा कार्यरत कर्मचारी र डा.गुरुङलाई समेत भेटेर अनुसन्धान गरेको थियो । सो क्रममा टोलीले सेन्टरका कर्मचारी, पीडित र चिकित्सक गुरुङसँगको वार्तालापको श्रव्य सामग्रीसमेत रेकर्ड गरेको छ । रेकर्डसहित छोराको आशामा गराईने परीक्षण र दिइने औषधिसहितको पे्रस्क्रिप्सन रिपोर्टसमेत खबरपत्रिकासँग सुरक्षित छ ।
‘छोरा बनाउने क्लिनिक छ’ भन्ने सुनेर पश्चिम नेपालबाट राजधानीसम्म धाएकी अर्की  महिला हुन् विना भुषाल (नाम परिवर्तन) । २०७० चैत १२ गते निम्समै भेटिएकी भुषाल छोराका लागि जहाँसुकै पनि जान तयार थिइन् । एक छोरीकी आमा उनले गत वर्ष छोरी भएकै कारण १३ हप्ताको गर्भपतन गराएकी थिइन् ।
उनी पहिलोपटक फागुन ११ गते सेन्टर पुग्दा डा.गुरुङले पाठेघरमा समस्या छ भन्दै एन्टिबायोटिक्स दिएर पठाइन् । त्यसपछि दोस्रोपटक उनी सेन्टर पुग्दा गुरुङले पुनः भिडियो एक्स–रे गराइन् । त्यो हेरेपछि डा.गुरुङले अब छोरा पाउन योग्य भएको भन्दै भुषाललाई औषधि र सुझाव दिएर पठाइन् । ‘पक्का छोरा हुन्छ, समयमा औषधि खानुहोला र बिहानमा सेक्स गर्नुहोला’ डा. गुरुङको भनाई उद्दृत गर्दै भुषालले भनिन् ‘धेरैलाई छोरा दिएको छु, बेष्ट अफ लक ।’ विनालाई ६ महिनापछि फलोअपमा आउन डा. गुरुङले भनेकी छन् ।
डा. गुरुङले विनालाई छोरा बनाउने औषधि भन्दै क्लोमिफिनसाइट्रेट, फोलिक एसिड, भिटामिन ‘इ’, भिटामिन ‘क्यू टेन’ र श्रीमानलाई भिटामिन ‘वी’, भिटामिन ‘इ’ र भिटामिन ‘क्यू टेन’ दिएकी छिन् । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका अनुसार यी औषधिको छोरा वा छोरी बनाउनसँग कुनै पनि भुमिका छैन । भिटामिनबाहेकको क्लोमिफिनसाइट्रेट डिम्ब बनाउने हर्मोनलाई सक्रिय गर्ने औषधि हो ।
थापाथली चोकमा रहेको गोरखनाथ मन्दिर (पिठ)सँगै जोडिएको घरमा सञ्चालन गरिएको सो सेन्टरमा दैनिक २० देखि ३० दम्पत्ति छोरा जन्माउने आशमा आइपुग्छन् । छोरा जन्माउने आसमा आउने दम्पत्तिलाई डा. गुरुङले भनेअनुसारको औषधि खाएर बिहानीको समयमा यौनसम्पर्क राखेमा छोरा हुने ग्यारेन्टी गर्ने गरेकी छिन् ।
कुराकानीमा पनि डा.गुरुङले उपचारबाट छोरा बनाउन सकिने दाबी गरिन् । ‘छोरा बनाउन सकिन्छ, द्याट्स फ्याक्ट,’ उनले भनिन् (हेर्नुस् कुराकानीको अंश)

छोरा बनाउन सकिन्छ : डा. देवी गुरुङ

औषधि खुवाएर छोरा बनाउन सकिन्छ, तर प्यासेन्ट आउनुपर्छ । औषधि दुवै जनाले खानुपर्छ । आउदा महिला मात्र आए हुन्छ । छोरा हुन्छ, द्याट्स फ्याक्ट । त्यही हो । छोरा बनाउन सकिन्छ । केटा मान्छे आउनु पर्दैन । केटी मान्छेको घाउ छ कि छैन जाँचपड्ताल गरेर पत्ता लगाउछु ।

जानकारहरूका गुरुङले करीब एक दशकदेखि यसरी नै छोरा बनाउने भन्दै भ्रममा पार्दै आएकी छिन् । फाट्टफुट्ट मात्रै बिरामी आउने उनको क्लिनिकमा यही सपना बाँड्न थालेपछि बिरामीको भीड लाग्न थालेको मात्रै छैन यिनको आर्थिक हैसियत पनि निकै फेरिएको छ । क्लिनिकको रिसेप्सनमा बस्नेदेखि, सहयोगी र अन्य सहकर्मीसमेत उपचारबाट छोरा बनाउन सकिन्छ भन्ने ठोकुवा गर्छन् । क्लिनिकसम्म आइपुग्ने अधिकांश दम्पत्तिले आफूले क्लिनिकको कुरा नर्स वा स्वास्थ्यकर्मीबाटै सुनेको बताएका छन् । पीडितका अनुसार डा.गुरुङले प्रत्येकलाई अधिकांश अवस्थामा छोरा हुने आश्वासन बाँड्ने तर नभएमा  ‘हर्मन’को कारण देखाउँदै आफू चोखो बन्छिन् । त्यस्ता निराश दम्पत्तिलाई बारम्बार भिडियो एक्स–रे गराएर लिङ्ग परीक्षण गर्ने र छोरी देखिएमा सेन्टरमै गर्भपतनसमेत गर्छिन् । स्वास्थ्य परीक्षण शुल्क ४ सय २० लिने उनले लिङ्ग परीक्षणको ३ हजार र त्यसपछि गर्भपतनमा व्यक्तिअनुसार शुल्क लिने गरेकी छिन् । यस्तो गर्भपतनमा उनले अधिकतम १५ हजारसम्म असुल्ने गरेकी छिन् ।
दम्पत्तिसंग भिटामिन, फोलिक एसिडसहितका औषधि र विभिन्न नाममा दोहोर्‍याइने परीक्षणमा मात्रै १० देखि १५ हजार लिन्छिन् । छोरा जन्माउनका लागि आफूहरूले डाक्टरको शुल्क, औषधि, भिडियो एक्स–रेमा करीब १५ हजार रुपैयाँ खर्च गरेको श्रेष्ठ दम्पत्तिले बताए । ‘डाक्टरसापले ९० प्रतिशत छोरा हुन्छ भन्नुभएको थियो’ श्रेष्ठले भने ‘छोरा हुने आशमा गर्भ राखेको, दुःख लागेको छ ।’ सेन्टरमा कार्यरत एक कर्मचारीका अनुसार यस्ता दम्पत्तिलाई उनले यसपटक नभएपनि अर्कोपटक अझै राम्रोसँग प्रयास गर्छु भन्दै पूरानै ‘भिटामिन’ दोहोर्‍याउँछिन ।

गैरकानुनी लिङ्ग पहिचान र भ्रुण हत्या सेन्टरमै


छोराको आशमा गर्भधारण गरेकी महिलालाई तीन महिनापछि सेन्टरमै लिङ्ग परीक्षण गराइन्छ । यस्तो परीक्षणमा छोरी देखिएमा दम्पत्तिले गर्भलाई निरन्तरता नदिन नचाहे भ्रुण हत्यासमेत सेन्टरमै गरिन्छ । कानुनी रूपमा ९ हप्तापछिको गर्भपतन गैरकानूनी हो । सेन्टरमा लिङ्ग परीक्षण वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत एमडिजिपी डा. सुशील शाक्यले गर्छन् ।

 कसरी हुन्छ छोराछोरी ?

चिकित्सा विज्ञानले हालसम्म उपचारबाट छोरा वा छोरी बनाउने निर्धारण गर्ने कुनै पनि औषधि विकास गरेको छैन । छोरा वा छोरी हुने सम्भावना आधाआधा हुने भएपनि मानिसको नियन्त्रणमा हुन्न । मानिसको हरेक कोषमा ४६ (२३ जोडी) क्रोमोजोम हुन्छ । जसमा एक जोडी (२ वटा) सेक्स क्रोमोजोम हुन्छ । जसले बच्चाको लिङ्ग निर्धारण गर्छ । सेक्स क्रोमोजोमलाई एक्स र वाई भनिन्छ । पुरुषमा एक्स र वाइ हुन्छ भने महिलामा दुइवटा एक्स क्रोमोजोम हुन्छ । एक्सएक्स क्रोमोजोमले छोरी बनाउछ भने एक्सवाईले छोरा । महिलामा छोरी बनाउने क्रोमोजोम मात्र हुन्छ । महिलाको एक्स क्रोमोजोममा पुरुषको वाई क्रोमोजोमले सेचन (फर्टिलाइज) गरेमा छोरा हुन्छ भने पुरुषको एक्स क्रोमोजोम महिलाको एक्स क्रोमोजोमसंग सेचन भएमा छोरी हुन्छ । त्यसैले छोराछोरी निर्धारण गर्ने पुरुषको वीर्यको क्रोमोजोमले हो । हरेक सेचनमा छोरा वा छोरी हुने सम्भावना ५०/५० प्रतिशत हुन्छ । २३ मध्ये बाँकी २२ जोडी क्रोमोजोमले मानिसको रूपरेखा तय गर्छ । सामान्यतया कुनै पनि शिशुले २३ क्रोमोजम आमाबाट र २३ क्रोमोजम बाबुबाट प्राप्त गर्दछ । छोरा वा छोरी हुने प्राकृतिक संयोगको कुराको हो । छोरा वा छोरी चाहेको बच्चा बनाउने औषधि हालसम्म चिकित्सक विज्ञानले बनाएको छैन ।

यसरी रहन्छ गर्भ

बच्चा बन्नका लागि पुरुषको शुक्रकिट र महिलाको डिम्बको मिलन अनिवार्य हुनुपर्छ । यौनसम्पर्कका क्रममा पुरूषको वीर्यमा १ मिलिलिटरमा लाखौँ शुक्रकिट योनिमा प्रवेश गर्छ । तर महिलाको प्रत्येक महिना सामान्यतया एउटा मात्र डिम्ब परिपक्व हुन्छ । मान्छे बन्न एउटा शुक्राणु र एउटा डिम्ब भए पुग्छ । यौनसम्पर्कका क्रममा योनिमा प्रवेश गरेका लाखौँ शुक्रकिट महिलाको डिम्ब भेट्न प्रतिस्पर्धा गर्छन् । तीमध्ये एउटा शुक्रकिट मात्र डिम्ब भेट्न सफल हुन्छ । त्यसैबाट गर्भ रहन्छ ।

फट्याईँ हो : डा. दामोदर गजुरेल, अध्यक्ष, नेपाल मेडिकल काउन्सिल

चिकित्सकले आफ्नो आचारसंहिताविपरित यस्तो कार्य गर्नु फट्याईँ हो । मुलुकी ऐनअनुसार पनि यस्तो कार्य गैरकानुनी हुन्छ । छोरा नै बनाउने भन्दै औषधि उपचार गर्नु झनै अपराध हो । उजुरी परेमा काउन्सिलले छानवीन गरि कारबाही गर्न पछि हट्दैन ।

शतप्रतिशत ठगी हो : डा. भोला रिजाल – वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
औषधि खाएर छोरा बन्छ भन्ने अहिलेसम्म मेरो ज्ञानले थाहा पाएको छैन । औषधिको माध्यमबाट छोरा बनाउछु भनेर कसैले भन्छ भने त्यो शतप्रतिशत ठगी हो । छोरा बनाउछु भनेर मान्छेको भावनामा खेल्नुहुँदैन । छोरा बनाउछु भनेर पैसा खाने युगौंदेखि चलेको छ । कसैले त पानी फुकेर खान दिएर पनि छोरा बनाउछु भन्दै ठगी गर्दै आएका छन । छोराको चाहनामा तड्पिएका नारीको भावनामा खेल्नु अपराध हो । छोरा बनाउछु भनेर कसैले भन्छ भने त्यसको पछि नलाग्न म आग्रह गर्छु ।

फोन वार्ता
निम्स : हेलो
स्वास्थ्य  : हेलो यो निम्स डाइग्नोसिस सेन्टर होइन ?
निम्स : हो । एकदम हो ।
स्वास्थ्य  : हजुर । (बुझिएन)
निम्स : हजुर, हो सर हो ।
स्वास्थ्य  : एकजना दिदीले बताएअनुसार मैले यहाँ फोन गरेको हुँ । मेरो एउटा छोरी छ । अब फेरि अर्को बच्चा जन्माउने सोचमा छु ।
निम्स : हजुर हजुर ।
स्वास्थ्य  :  दिदीका अनुसार त्यहाँ आएर औषधि गर्‍यो भने छोरा जन्मिन्छ रे भन्ने सुनेर फोन गरेको ।
निम्स :हो सर हो । एकदम हो । एकदम हुन्छ । हजुर भ्याउनुहुन्छ भने आजै आउनुहोला । आज पनि २२/२३ जना त भैसकेका छन् ।
स्वास्थ्य  :  श्रीमती काठमाडौं बाहिरबाट आउनुपर्छ । छोरा हुने ग्यारेन्टी भए बोलाउनु पर्‍यो  भनेर ……
निम्स :हुन्छ सर हुन्छ । सयमा धेरैको भैरहेको छ । तर केहीमा हर्मनका कारणले नहुन सक्छ । तपाई आउनुहोला डा. देवीलाई यसबारेमा धेरै जानकारी छ ।
स्वास्थ्य  :  छोरा त हुन्छ नि ?
निम्स : हुन्छ सर हुन्छ । एकदम ठीक ठाउँमा फोन गर्नुभएको छ ।
-अनिल न्यौपाने/दिनेश सुनार- स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget