news and more entertainment

यी हुन् तमिल टि भि की नेपाली स्टार

 भारतको चेन्नाई सहारमा बसाईँ सरेको धेरै वर्षसम्म पनि उनी बसमा यात्रा गर्थिन्। हरेक पटक बस चढ्दा कन्डक्टरहरुको अनुहार बदलिन्थ्यो तर प्रवृत्ति चाहीँ उही। ‘चिम्सो आँखा भएको देखेर उनीहरु मलाई हेयको दृष्टिले हेर्थे । टिकट माग्दा हातमा दिनुको साटो म तिरभुईँमाफ्याकी दिन्थे’, पुराना दिनहरू सम्झदै चेन्नाई सहरको एक क्याफेमा बसेर शर्मिला थापा सुनाउँछिन्। ‘अस्ति मात्रै मेरी बहिनी बसबाट खसेर लडी’।

‘तर अहिले म स्कुटर चलाउँछु। बसमा सकभर यात्रा गर्दिनँ,’ उनी भन्छिन्। ‘अचेल मुखमा मास्क लगाएर हिँड्दा पनि मानिषहरुले मलाई चिन्छन् र सम्मान गर्छन्’। यस किसिमको परिवर्तन उनको जिवनमा तब आयो जब उनले चेन्नाईका दर्शक सामु हाँस्य कलाकारको पहिचान स्थापित गरिन्।

‘हरेक बिहान म आदित्य च्यान्नलमा उनको कार्यक्रम हेर्छु। उनको बोल्ने तरिका उनका जोकहरुले उनलाई चर्चाको शिखरमा पुर्याएको छ’ चेन्नाई निवासी गोपालकृष्णन भन्छन्।

शर्मिलाको लागि यहाँसम्मको यात्रा सहज थिएन। नेपाली भाषी हुनु र अझ उत्तर पुर्वी भारत (नर्थ इस्ट) का मानिसहरुको जस्तो अनुहार हुनु उनका लागि सबै भन्दा ठुला तगारा थिए।

शर्मिलाका बाबु बागलुङका प्रेम बहादुर थापा बिहे पछि कामको सिलसिलामा भारतको तमिलनाडु राज्यमा रहेको चेन्नाई सहर बसाईँ सरेका थिए करिब २५ वर्ष पहिले। शर्मिलाको जन्म पनि त्यहि सहारमा भएको थियो। तर चेन्नाईमा धेरै समय बिताउन नपाउँदै प्रेम बहादुरको सरुवा भएपछि उनको परिवार उत्तर पुर्वी भारत (जहाँ अरुणाञ्चल र मेघालय जस्ता राज्यहरु रहेका छन्) बसाईँ सरको थियो।

सन् २०१२ मा थापा परिवार फेरि चेन्नाई फर्किएको थियो। शर्मिलाले १२ कक्षा पास गरि सकेकि थिइन् भने उनकी बहिनी स्कूलमा पढ्दै थिइन्।
‘मलाई बि बि ए पढ्ने रहर थियो। हामीले अर्काको देशमा आरक्षण पाउने कुरै भएन। खुल्लामा भर्ना हुन डोनेशन बुझाउनु पर्ने। त्यो मेरो बाबाले सक्नुहुन्नथ्यो।‘ त्यसैले जब बि ए टुरिजममा उनको नाम निस्कियो उनी टुरिजम पढेर विमान परिचालिका बन्ने सपना बुन्न थालिन्।

‘मेरो डिग्रि त्यति बेला सकियो जब भारतभरका विमान कम्पनीहरु घाटामा थिए। विमान परिचालिका बन्ने सपना साँचि राखेर म क्यानडाको भिषा प्रोसेसिङ गर्ने एक कम्पनीमा काम गर्न थालेँ। तर त्यहाँ पनि तलब बढाइदिन्छु बढाइदिन्छु भने तर कहिल्यै बढाइदिएनन्’।

फुर्सदको समयमा शर्मिला टि भी हेरेर कार्यक्रम सञचाकहरुको नक्कल गर्थिन्। टी भी को पर्दा पछाडी जान पाइए कति रमाइलो हुँदो हो भनेर सोच्ने उनी गर्थिन्। ‘तर फेरि अर्को मनले सोच्थेँ मलाई टि भी मा काम कसले देला र! मलाई चिनाइदिने कोहि पनि त छैन’।

काम छोडेपछी उनले २०१२ मा दुई वर्ष लगाएर एम बि ए पास गरिन तर पनि उनलाई मनपर्ने काम उनले भेटिनन्।
एक दिन एउटा फिटनेश सेनटरमा साथीहरुसँग तमिल भाषामा कुरा गर्दै गर्दा उनको भेट आदित्य च्यान्नलकी एक कर्मचारीसँग भयो। ‘यति राम्रो सँग तमिल बोल्नुहुँदो रहेछ तपाईँ। हाम्रो टि भी च्यानलमा अडिसन दिन किन आउनुहुन्न?’ ती महिलाले उनलाई सोधिन्।


दुई महिनासम्म शर्मिला दोमनमा थिइन्। ‘तर पछि जे पर्ला पर्ला भनेर अडिसन दिन गएँ। मलाई थाहा थिएन अडिसनमा के गर्नु पर्छ भनेर । त्यसैले खासै राम्रो भएन त्यो अडिसन’ ।

यता उनका हङकङमा बस्दै आएका दाजु-भाउजू उनलाई हङकङमा अङ्गरेजी पढाउने काम राम्रो छ त्यहाँ भारतमा भन्दा राम्रो छ भन्ने गर्थे। उनीहरुको कुरो सुनेर उनी विस्तारै हङकङ नै जानु पर्छ कि क्या हो भन्ने सोचमा पुगिसकेकी थिइन्।

‘तर दुई महिना पछि फेरि आदित्य च्यानलबाट फोन आयो। उनीहरुले १ वर्षसम बोलाउने अडिसन लिने र फेरि महिनौसम्म खबर नगर्ने गर्न थाले। म हङकङ जाने मुडमा पुगिसकेकी थिएँ।‘

तर सन् २०१३ को अप्रिल १४ मा यो सब बदलियो। ‘त्यो दिन पहिलो पटक मैले एउटा टि भी कार्यक्रम सञचालन गरेँ,’ उनी भन्छिन्। ‘त्यहाँबाट शुरू भयो मेरो टि भी यात्रा ।‘

‘चिम्सो’ आँखाका कारण दर्शकहरु उनलाई शुरु शुरू मा चिनिया भन्ठान्थे। ‘एउटी चिनियाले फरर तमिल बोलेको देखेर दर्शकहरु तिन छक्कै परे’, एक नियमित दर्शकले भने।

‘मलाई तमिल पढ्न आउँदैन। कार्यक्रममा चाहिने जोकहरु खोज्न निकै मिहिनेत गर्नुपर्छ। इन्टरनेटमा अङ्गरेजीमा लेखिएका जोकहरु खोज्छु। मैले स्कूल पढ्दा पनि यति मिहिनेत गरेको थिइन होला,’ हाँस्दै उनले भनिन्। ‘फेरि जोकले कसैलाई आघात पुर्याउन भएन, भल्गर हुन पनि भएन।‘

एक वर्ष अघिसम्म उनको फेसबुकमा मुस्किलले सय साथीहरु थिए। तर आज हरेक दिन सय जना भन्दा बढिको रिक्वेष्ट आउँछ उनलाई। ‘म टेक्नोलोजी बारे अलि अनभिज्ञ नै छु। फेसबुक पनि भर्खरै चलाउन थालेकी।‘

शर्मिलाको इच्छा तमिल सिनेमाको नम्बर १ हाँस्य कलाकार बन्नु छ। ‘अहिले पनि सिनेमाका अफरहरु आउँछन् तर उनीहरु आइटम डान्स गर् भन्दै आउँछन्। मलाई त्यस्तो गर्नु छैन। म मनोरमा र सरला कोविल जस्तो चर्चित हाँस्य कलाकार बन्न चाहन्छु।‘

अहिले उनलाई भ्याई नभ्याई छ। कार्यक्रमहरुमा उद्घोषण गरिदिन रिक्वेष्टहरु दिन दिनै जसो आउँछन्। त्यसमाथि उनी सन टि भिको एक सिरियलमा पनि अभिनय गर्छिन्। ‘केहि दिन अघि मात्रै एउटा चलचित्रको प्रस्ताव आएको छ। हेरौँ के हुन्छ।‘

केहि वर्ष अघि उनी नेपाल आएकी थिइन् नागरिकता बनाउन। ‘नेपालमा बोलिने नेपाली बुझ्न मलाई गार्हो पर्थ्यो। चाहिने कागजात देखाउँदा पनि नागरिकता पाइएन। त्यसैले पछि भारतको नागरिकता लिएँ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget