फेसबुकमा गृहमन्त्री वामदेव गौतमलाई 'पछाडिबाट गोली हान्नुपर्ने' भन्ने लेखेबापत सरकारी अधिकृत थुनामा परेको केही समय नबित्दै सप्तरी प्रहरीका एसपी दिनेश अमात्यले अब्दुल रहमानलाई 'हराएको मोटरसाइकल फर्काउन पनि पचास हजार दिनुपर्ने' लेखेको कारण थुनाएका छन्। रहमान छुटिसकेका भए पनि त्यसले अनेक प्रश्नहरु र बहश अघि ल्याएका छन्। खासगरी विद्युतीय सञ्चारमाध्यममा के लेख्न पाउने के नपाउने भन्ने विषयमा सवाल उठेका छन्।
विद्युतीय सञ्चारमाध्यममा अशीष्ट, तल्लो स्तरको र पढ्न पनि लाज लाग्ने कमेन्ट नदेखिएका नपढिएका हैनन्। खासगरी आफूलाई चित्त नबुझ्ने कुनै विषय, आफ्नो सोचाइभन्दा फरक विषय देख्नेबित्तिकै त्यसबारे नानाभाँती नकारात्मक टिप्पणी सामान्य रुपमा देखिएकै हुन्। खासगरी नेपालीले धेरै पढ्ने विद्युतीय खबरका साइट, युट्युबमा राखिएका नेपाल र नेपाली सम्बन्धी भिडियोमा जातीय सद्भाव बिगार्ने स्तरका कमेन्ट प्रसस्तै लेखिन्छ।
विद्युतीय सञ्चारमाध्यममा जथाभाबी लेखिने समस्या नेपालको मात्र हैन। सभ्य र विकसित मुलुकका पाठकले धेरैजसो तर्कमा आधारित भएर स्रोत थाहा भएको विषयमा कमेन्ट गर्छन्। कहिले भने आफ्नो सोचाइ अनुसार नभएमा 'तँ मुर्ख, दिमाग नभएको, विदेशी' जस्ता गाली प्रसस्त देखिन्छ। तर नेपाली भने जातजाति, धर्म, भौगोलिकताको हिसाबले गालीगलौज गर्छन्। 'ठोक्दिउँ, हान्दिउँ, मार्दिउँ, गोली ठोक्दिउँ, फाँसी दिउँ' जस्ता कमेन्ट त कति हो कति पढ्न पाइन्छ। यी निम्नस्तरका गाली हुन्। जोसँग जतिसुकै रिस उठे पनि यस्ता गाली हुँदैनन्। त्यत्तिमात्र मात्र हैन, विकसित मुलुकमा यस्ता कमेन्ट गर्नेलाई पक्राउ गरेर सजाय दिने गरिन्छ। आशय के हो भन्ने कुरा पढेर मात्र थाहा हुने कुरा भएन। त्यसैले 'मार्छु, गोली हान्छु' जस्ता कमेन्ट गर्नेहरुलाई पक्रेर अनुसन्धान गरिनु सामान्य रुपमा लिनुपर्छ। यदि प्रहरीले शान्ति सुरक्षा स्थापित गर्ने मनसायले त्यसो गरेको हो भने हामी जनताले समर्थन गर्नुपर्छ। फेरि सरकारी कर्मचारीले सामाजिक सञ्जालमा कसैलाई 'गोली ठोक्नुपर्ने' भनेर गरेको गालीलाई सामान्य रुपमा लिनु पनि त भएन।
तर, पछिल्लो रहमान प्रकरण भने फरक छ। नेपाली प्रहरी भ्रस्ट भएको कुरा रहमानको मात्र सोचाइ हैन। भ्रस्टाचार बिरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरन्यासनलको २०१० को रिपोर्टमा ४३% जनताले नेपाल प्रहरी अत्यधिक भ्रस्ट भएको बताएका थिए। त्यस्तै सयमा २५ ले प्रहरीलाई घुस दिएको बताएका थिए। त्यस्तै वर्ल्ड इकोनोमिक फोरममा प्रस्तुत भएको २०११/१२ को रिपोर्टमा प्रहरीप्रतिको विस्वसनीयता ७ को स्कोरमा २.९ रहेको देखिएको थियो। यी तथ्यांक मनगणन्ते हैनन्। सुडान घोटालादेखि लिएर ब्रिफकेस काण्ड इत्यादिले प्रहरी भ्रस्टाचार बखान गर्छन्। त्यही भएर एसपी अमात्यले प्रहरीलाई सुधार गर्नुको साटो एक निहत्था सामान्य नागरिकलाई आफ्नो पदीय हैसियत बिर्सेर अख्तियारको दुरुपयोग गरेर पक्राउ गरेको प्रस्ट हुन्छ। लगभग आधा जनसंख्याले प्रहरीलाई भ्रस्ट भनेको तथ्यांक हुँदाहुदै पनि कुनै नागरिकले आफ्नो विचारको स्वतन्त्र प्रयोग गरेर केही भन्न पनि नपाउने कस्तो लोकतन्त्र हो यो?
अमात्यले उठाएका केही कुरा भने जायज छन्। कसैले यौन दुराचारको कुरा गर्यो भने त्यसलाई निश्चित रुपमा पक्रेर अनुसन्धान गर्नुपर्छ। कसैले आफूलाई वा अरुलाई हानि गर्ने कुरा उठायो भने प्रहरीले त्यस्ता व्यक्तिलाई छानबिन गर्नुपर्छ। तर भ्रस्टाचारमा लिप्त संगठनलाई कसैले भ्रस्ट भनिदिँदा आफूलाई सुधार गर्ने काम गर्नुपर्छ न कि त्यसलाई दबाउने हैन।
यसो भनिरहँदा हामी पाठकले आफूलाई संयमित बनाएर आफ्नो कमेन्ट लेख्न जरुरी छ। कोही सँगसँगै हुँदा गरिने कमेन्ट तल्लो स्तरको हुँदैन भने विद्युतीय सञ्चारमा गरिने कमेन्ट सस्तो गरेर आफ्नो इज्जत बढ्दैन। सामाजिक संजालको प्रयोग बढ्दै जाँदा आफ्ना कमेन्टहरुको स्तरमा पनि सुधार ल्याउनु पनि आवश्यक छ। त्यसले सभ्य समाजको पनि परिचय बनाउँछ।
Post a Comment