वीरगन्ज (पर्सा), असार १० – वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत जितपुरमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढीमाई नगरपालिका–७ का ६५ वर्षीय वाजुल हक रहेका छन् । सिमराबाट वीरगन्जतर्फ आउँदै गरेको ना३प ७३७१ मोटरसाइकलको ठक्करबाट घाइते भएका हकको वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा गएराति नै मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल चालक मकवानपुर आमभञ्ज्याङ–१ बस्ने बलिराम अधिकारी प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक अरुणकुमार कुशवाहले जानकारी दिए ।
यसैबीच पर्साको बागेश्वरी तित्रौना–४ फुलवरिया टोलमा जेठ २५ गते दुई दाजुभाइबीच भएको कुटपिटमा घाइते भएकामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
कुटपिटमा घाइते भएका स्थानीय ६० वर्षीय शीवनाथ महतोको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय विश्वनाथ महतो र उनका दाजु शिवनाथ महतोबीच जग्गाको विषयमा विवाद भई जेठ २५ गते कुटपिट हँुदा दुवै पक्षका गरी पाँचजना घाइते भएका थिए ।
अरू घाइतेहरू उपचारपछि घर फर्केको भए पनि शिवनाथको टाउको गम्भीर चोट लागेका कारण उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेकामा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न मृतकका भाइ विश्वनाथलाई प्रहरीले कुटपिट भएकै दिन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको इलाका प्रहरी कार्यालय एकटाङगाका प्रहरी नायब निरीक्षक गोपाल भट्टराईले बताए ।
Post a Comment