news and more entertainment

सशस्त्र प्रहरीका बहालवाला र पूर्वआइजीविरुद्ध अख्तियारमा उजुरी दुबै उजुरी लोकमानसिंह कार्कीको टेबलमा

५ असार, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सशस्त्र प्रहरीकै अर्का पूर्वआइजीपी सनतकुमार बस्नेतविरुद्ध परेको उजुरी पनि अख्तियारमा विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सानातिनालाई मात्रै समातिइरहेको गुनासो आइरहेका बेला सशस्त्र प्रहरीका बहालवाला र पूर्वआइजीपीविरुद्ध उजुरी परेको हो । वन्त र बस्नेत दुबैको उजुरी प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफैं हेरिरहेको बुझिएको छ ।

वन्तमाथिको  आरोप
अनलाइनखबरलाई प्राप्त जानकारीअनुसार सशस्त्र प्रहरी महानिरीक्षक वन्तले अवैध तरिकाले आर्जन गरेको सम्पत्ति अष्ट्रेलियामा रहेकी भाउजूलाई हुण्डी गरेर पठाउने गरेको र उताबाट भाउजूले बैंकमार्फत सो पैसा नेपाल पठाई कालो धनलाई सेतो बनाउने गरेको आरोपसहितको उजुरी अख्तियारमा दर्ता भएको छ । त्यसरी आएको रकम वन्तले ललितपुरको इमाडोल-७, ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा लगानी गरेको उजुरीमा उल्लेख छ ।

यसअघि अख्तियारले विभिन्न व्यक्तिको लकर रोक्का गर्दा वन्तको नामसमेत सूचीमा उल्लेख थियो । विगतमा नेपाल प्रहरीका अधिकारीहरु सुडान घोटाला लगायतका विभिन्न भ्रष्टाचारका मुद्दामा मुछिएजस्तै सशस्त्रका बहालवाला महानिरीक्षक वन्तमाथि गम्भीर अभियोग लागेको हो ।

अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफैं हेर्ने भन्दै आफ्नो टेबलमा राखेकाले वन्तमाथि कारवाही अघि बढ्ने या नबढ्ने अब लोकमानकै हातमा रहेको स्रोतले बतायो ।

पूर्वआइजीपी बस्नेतमाथिको आरोप
शसस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सनत बस्नेतमाथि चाहिँ सुनसरीको इटहरी नगरपालिकामा रहेको जग्गा कब्जा गरेको आरोप लागेको छ । काठमाडौं ज्ञानेश्वर निवासी रविराजा नाम गरेका व्यक्तिको इटहरीमा रहेको करिब १६ कठ्ठा जमिन बस्नेतले आफ्नी बहिनी, ज्वाइँ र मित पवन पोखरेलका नाममा राजिष्ट्रेशन गराई अख्तियारको दुरुपयोग गरेको उजुरीमा जनाइएको छ । ०५७/०५८ सालतिर बस्नेत सुनसरीको पकलीमा सशस्त्र प्रहरीका डीआइजी थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदका लागि बस्नेतको नाम चर्चामा आइरहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको हो । बस्नेतको उजुरी पनि प्रमुख आयुक्त लोकमानसिंह कार्कीकै टेबलमा पुगेको बुझिएको छ ।
प्रमुख आयुक्त कार्कीले गत साता एक कार्यक्रममा बोल्दै प्रमाण पाइए राजनीतिक दलका नेतालाई पनि नछाड्ने बताएका थिए ।
भ्रष्टाचारमा मुछिएका जो कोहीलाई नछाडिने कार्कीले बताउँदै आएका छन् । तर, यी उच्च सुरक्षा अधिकारीमाथि छानविन गर्नु लोकमानका लागि निकै चुनौतीपूर्ण विषय छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget