news and more entertainment

श्रीमानको नाजायज सम्बन्धबिरुद्ध सतिसालझैं उभिएकी यी लेक्चरर



‘मेरो लडाइँ मेरोमात्र रहँदैन, अब समाजको लडाइँ हो। जब मैले नै नारीवाद पढाउँछु, महिला सशक्तीकरणको आवाज उठाउँछु जब म नै आफ्नो अधिकारबाट बञ्चित हुन्छु भने मैले दिएको शिक्षाबाट समाजले के ग्रहण गर्ला? तसर्थ बोल्ने, भन्ने एउटा र गराइ अर्कोबीचको संस्कार पनि तोड्नु छ मैले,’ पत्रकार सम्मेलनमा बोल्दा उनका आवाज निरीह र क्रन्दनयुक्त थिएनन्। 
 
साँच्चै कुनै फिल्मकी एक साहसिक नायिकाले बोलेको ‘डायलग’ जस्तो लागिरहेको थियो मलाई उनको आवाज। मैले धेरै हिंसापीडित महिला देखेकी छु उनीहरुले आफ्नो अधिकार रोएर र आँसु झारेर खोजेको पाएकी छु। हो, केही घटना मर्मस्पर्शी र हृदयविदारक पनि हुन्छन् जहाँ पीडित बोलिरहँदा अन्यको आँखा रसाउनु र मन भक्कानिनु मानवीय संवेदनाले छोएको पाटो हो। तर अधिकार फरक कुरा हो। यसका लागि रुनुपर्छ भन्ने लाग्दैन मलाई। मैले त्यस्तै पात्र भेटेँ जसलाई विचरा, पीडित भन्दै सहानुभूति राखेको पटक्कै मन पदैन। 
 
आखिर उनमा कसरी आयो यो साहस?
 
अमृता शर्मा पर्वतको मुडिकुवा ४ मा जन्मेहुर्केकी पढाइलेखाइमा उत्कृष्ट छात्रा हुन्। दश जोड दुईमा जिल्लामै प्रथम भएकी उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा पनि सर्वोत्कृष्ट थिइन्। उनको मेहनत स्नातकोत्तर तहमा झनै देखियो, उनले गोल्ड मेडल हात पारिन्। 
 
शिक्षामा अब्बल देखिएकी उनै अमृताको वैवाहिक जीवन भने सफल हुन सकेन। शिक्षित परिवारमा जन्मे हुर्केकीे अमृताको उमेर पुगेपछि विवाहको कुरा आउनु स्वभाविक थियो। उनको लागि पोखराको शैक्षिक र सामाजिक क्षेत्रमा ख्याति कमाएका एक व्यक्तिसँग विवाहको प्रस्ताव आयो। शैक्षिक क्षेत्रमा निकै रुचि राख्ने अमृता शैक्षिक व्यक्तित्वसँगको प्रस्तावलाई अस्वीकार गर्ने पक्षहरु देखिनन्। नेपाली समाज र संस्कारमा हुर्केकी अमृतामा शैक्षिक क्षेत्रमा लागेका व्यक्ति इमान्दार हुन्छन् भन्ने विश्वासका उनमा थियो। उनको नाता गाँसियो, कास्कीको भरतपोखरी घर भई पोखरामा नोबेल एकेडेमी संचालन गर्दै आएका विश्वेश्वर आचार्य (पाध्या) सँग। 
 
आखिर जे जस्तो भए पनि एक महिला पराइ घर जानु नै थियो। उनको बिहे २०६६ साल २५ गते हिन्दू धार्मिक परम्परा अनुसार भयो। अरु विवाहित महिलाले जस्तै जीवनका रंगीन सपनाहरु देख्ने हक उनलाई पनि थियो। उनले देखेका रंगीन सपना विवाह भएको एक हप्तामै ‘ब्ल्याक एन्ड ह्वाइट’ मा परिणत भयो। कारण थियो, नजिकको बहिनी नाता पर्ने महिलासँग विश्वेश्वरको नाजायज सम्बन्ध। सुरुमा त दाजुबहिनी भएकाले उनीहरुको गतिविधिलाई सामान्य रुपमा लिएकी अमृताले दिनदिन बढ्दो उनीहरुबीचको असहज सम्बन्धका बारेमा भने मुख फोर्नु नै पर्ने भयो। उनले सम्बधको रहस्य बुझ्न खोजिन्। 
 
श्रीमानले उनलाई जवाफ दिए। ‘तँलाई संसारकै सुखी बनाइदिन्छु, गाडी किनिदिन्छु तर हाम्रो सम्बन्धको बारेमा चुप लागेर बस,’ यही जवाफले उनलाई विद्रोही बनाइदियो। इमान्दारी, सत्यता र निष्ठामा उभिएकी अमृतालाई बेइमानीभित्रको सम्बन्धमा रमाउने चाहना कत्ति भएन। अनि न्यायिक अधिकारका लागि आवाज उठाउन बाध्य भइन्। 
 
सुरुमा त श्रीमानका अन्य परिवारले पनि अमृतालाई साथ दिएका थिए। नाजायज सम्बन्ध तोडेर श्रीमतीसँग बस्न परिवारले सम्झाइरहेको थियो। तिमीलाई छोरा चाहिन्छ कि बुहारी भनेर आमालाई धम्क्याउन थालेपछि भने परिवारका अन्य सदस्यसमेत मौन बस्न बाध्य भए। श्रीमती हुनुको नाताले बाटो बिराएका श्रीमानलाई सही मार्गमा ल्याउन प्रयास नगरेकी पनि होइनन् उनले। सामाजिक, कानुनी र नैतिक रुपमा समेत अपराध मानिने यस्ता कार्य गर्न हुन्न भनी सम्झाउँदा उनी पटकपटक शारिरीक र मानसिक यातानाबाट पीडित हुनुप¥यो। 
 
विस्तारै उनलाई लाग्न थाल्यो, ‘म यस धर्तीमा जन्मेको केवल विश्वेश्वरको श्रीमती हुनमात्र होइन। म जन्मनु, हुर्कनु र बाँच्नुमा मेरो परिवार र समाजको धेरैको लगानी छ। यसको प्रतिफल दिनुपर्छ भन्ने उनलाइ लाग्यो। ‘यात्रामा ठेस लाग्यो, म लडेँँ तर म उठ्नुपर्छ, सम्हालिनु पर्छ र हिँड्नुपछर्’ यस्तै विचारले उनको बाँकी शैक्षिक यात्रा शुरु भयो। 
 
त्रिभुवन विश्वविद्यालय सेवा आयोगबाट प्राध्यापकमा एक नम्बरमा नाम निकाल्न सफल भइन्। उनले पद्यकन्या क्याम्पसमा ‘फेमिनिज्म’पढाउँदै आएकी छिन्। गाउँमा अशिक्षित परिवारमा हुने गरेका पारिवारिक हिंसाका बारेमा सुन्दै आएकी उनी अहिले आफैँ पोखरा सहरका स्थापित शिक्षाकर्मीबाट पीडित हुन पुग्दा सपना जस्तै लागेको बताउँछिन्। आफ्नै खुट्टामा उभिन सफल भए पनि यो समस्या व्यक्तिगत नभएर सामाजिक भएकाले अधिकार स्थापित गराएरै छाड्ने दृढता अहिले उनमा पलाएको छ। 
 
मुखले चर्का चर्का भाषण गर्ने महिलावादीहरुले ‘तपाईं आफँै सक्षम हुनुहुन्छ, आफ्नो बाटो तय गर्नुस्’ भन्ने सल्लाह दिँदा भने उनी अचम्ममा परेकी छिन्। अधिकार खोज्नेलाई साथ दिनुको सट्टा प्लेकार्ड बोकेर अधिकारका कुरा गर्दै हिँड्नेहरुप्रति दया लागेको बताउँछिन् उनी। यदि आफूले यो घटनालाई बिर्सेर अघि बढ्ने हो भने समाजमा पारिवारिक हिंसा झनै बढ्ने उनको ठहर छ। धेरै विश्वेश्वरहरुको जन्म हुनेछ र अमृताहरु भाग्यलाई धिक्कार्दै खुम्चेर बस्नु पर्नेछ। तसर्थ कुनै हालतमा पछि नहट्ने आत्मविश्वास उनमा पलाएको छ। 
 
उनी सामाजिक लडाइँ त लडिरहेकी नै छन्, कानुनी अधिकारका लागि २०६९ असारमा कास्की जिल्ला अदालतमा अंश मुद्दा समेत दायर गरिन्। उनले भनिन्, ‘मलाई अंश हकबाट बंचित गर्न आफूले प्राप्त गर्नसक्ने सम्मको नगद रुपैयाँ बैंकमा जग्गा धितो राखिलिएका रहेछन्।’ अंश मुद्दा परिसकेपछि एकल कम्पनीको रुपमा रहेको नोबल एकेडेमीको सम्पूर्ण शेयर अघिको कागज मिलाई ती महिलाको नाममा गरिदिए। उनका अनुसार, अहिले पनि ती महिला र विश्वेश्वर नोबेल एकेडेमीकै छैटौं तल्लामा बस्दै आएका छन्। तर उनका श्रीमानले अमृतालाई घरभित्र पस्न दिएका छैनन्।
 
अदालतमा चलेको मुद्दामा सम्मानित अदालतबाटै न्याय प्राप्त गर्नेमा उनी विश्वस्त छिन्। उनको पहिलो शर्त छ, ‘मुद्दाको किनारा नलाग्दा म पनि मेरै हक रहेको घरमा बसी मुद्दा लड्न पाउनु मेरो नैसर्गिक अधिकार हो। मानवीय कानुनको अवधारणा पनि यही हो। अधिकारको लडाइ घरमै बसेर लड्न पाउनु पर्छ सडकबाट होइन।’ 
 
‘पारिवारिक जीवनपद्धति, मानवीय मूल्यमान्यता, नैतिकता, इज्जत, विधि र नियमजस्ता महत्वपूर्ण पक्षहरुलाई हाकाहाकी चुनौती दिँदै मेरा पतिबाट यस्तो जघन्य अपराध गरिएको छ, यो अपराध मेरो व्यक्तिगत जीवनको लागि मात्र नभएर सम्पूर्ण समाजका लागि अपराध र कलंक हो,’ उनी भन्छिन्।
 
साँच्चै यतिबेला देशव्यापी रुपमा महिला हिंसा अन्त्य तथा न्याय, समानता र मानवअधिकार सुनिश्चिताकोलागि दबाब मुलक अभियान चलिरहेको छ। विभिन्न मिडिया सामाजिक संजालहरुमा हिंसा अन्त्य गरौं भन्ने व्यानर बोकेर अधिकारकर्मीका जमात छाइरहेका छन्। यसबीच एक शिक्षित महिला आफू श्रीमती हुनुको नाताले पाउनु पर्ने अधिकार खोजिरहेकी छिन्। तर समाजले उनलाई ‘चुपचाप बस र बाँकी जीवन आफ्नो खुसी बिताऊ’ भन्छ। उनी भने समाजको अगाडि न्यायको लडाइँ लडेर अधिकार स्थापित गरेरै छाड्ने साहस लिएर मैदानमा उत्रिएकी छिन्।
 

‘म चुपचाप लागेँ भने मैले सिकेको शिक्षा र दिएको ज्ञानको ठूलो अपमान हुन्छ। मैले अधिकार खोज्दा, कर्तब्यलाई ख्याल राखिन भने चेतनशील हुनुको अर्थनै कहाँ रह्यो र?’ साँच्चै उनको साहसपूर्ण अभिव्यक्ति र चालेको कदमले रोएर अधिकार माग्ने संस्कार तोड्ने छ। दबिएका आवाजहरु विष्फोट हुनेछन् र सुनेको नसुनै गर्ने समाज झस्किने छ। समाजमा देखिने एउटा र गरिने अर्को व्यवहारको अन्त्य हुनेछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget