सर्वोच्च अदालतमा जेठ २७ गते आफ्नो पेशी थाम्न आइपुगेकी रोशनी (नाम परिवर्तन) दंग थिइन्।
साप्ताहिक पेशी सूचीमा हेर्दा उनको मुद्दा दुई नम्बरमै थियो।
मुद्दा– जबरजस्ती करणी, पक्ष– रोशनीको जाहेरीले नेपाल सरकार, विपक्षी– यादव प्रसाद घिमिरे।
दुई नम्बरमा हुनु भनेको मुद्दा सुनुवाइ हुने पालो छिट्टै आउनु हो। छिट्टै सुनुवाइ हुनु भनेको फैसला पनि छिटै हुनु हो।
सात वर्षदेखि कसैले गरेको बलात्कारकी पीडित बनेर हिँड्नु कति असहजपूर्ण हुन्छ जीवन?
एउटी सिधासाधा केटीले बलात्कारको पिडा मनभरि लिएर राज्यको ‘केही न केही पावर’ हातमा भएको कर्मचारीविरुद्ध लड्नु कति कष्टकर हुन्छ?
न्यायका लागि अदालतका ढोकासम्म आस लिएर पुग्नु र फेरि मुद्दा महिनौँलाई पछि सर्नु, कति असह्य हुन्छन् त्यस्ता क्षणहरु?
‘यो मुद्दाको फैसला हुनु कति महत्वपूर्ण छ भन्ने शायद ती न्यायाधीशहरुलाई थाहा छैन,’ यस्तो लाग्छ उनलाई।
जेठ २७ गते उनी त्यसै दंग परेकी थिइनन्। सर्वोच्च अदालत आएपछि उनले आफ्नो मुद्दा पेशीमा खोजिन्।
तर, स्थगितको सूचीमा भेटिन्।
उनको मुद्दाको पेशी एकमहिना पछि सर्यो। कारण तोकिएका एक न्यायाधीश विदामा बसेछन्।
रोशनीको मन अमिलो भयो।
जब पेशी सर्यो, ७ वर्षअघि आफूमाथि भएको बलात्कार उनले फेरि सम्झिन्।
हरेकपटक जब पेशी सर्छ, उनी भुलिसकेको घटना पूरै सम्झन्छिन् र झस्कन्छिन्।
कसरी उनी फसेकी थिइन्? कसरी उनले सर्वोच्च अदालतसम्म मुद्दा लडिरहेकी छन्? कसरी उनी असुरक्षाका कारण देश नै छोडेर जानुपरेको थियो... ?
...
सामान्य किसान परिवारकी रोशनीलाई आफैँ कमाएर पढ्नुपर्छ भन्ने मनमा थियो।
उनले एसएलसीपछिको एकवर्ष पढाइ छोडेर बस्नुप¥यो। गाउँमा क्याम्पस खुलेकै थिएनन्।
पढाइ त ठिकै थियो तर उनी राम्रो चित्र बनाउन सक्थिन्। चित्र बनाइदेऊ भनेर साथीभाइ र शिक्षकहरुले गरेका ‘फर्माइस’का चाङ हुन्थे घरभरि।
उनलाई रमाइलो लाग्थ्यो, चित्र कोर्न। उनले आफ्नो चित्र भने कहिलै बनाएकी छैनन्।
एसएलसीपछि उनले सिलाइबुनाइ, कपडा र टेबुलपोसमा बुट्टा बनाउने काम सिकिन्। त्यसैबाट थोरबहुत पैसा आउँथ्यो।
२०६३ सालतिर रोशनी गाउँबाट आएर, पश्चिम नेपालको एउटा जिल्ला सदरमुकाममा आइए पढ्न बसेकी थिइन्।
पढ्दापढ्दै पत्रकारितासम्बन्धी तालिम लिइन्। पत्रिका र एफएममा काम पनि गर्न थालिन्।
एकदिन, बाटोमा हिँडिरहेका बेला, चिनजानकी दिदीले बोलाइन् र आफूसँगै भएको व्यक्तिलाई चिनाइन्– ‘बैनी, उहाँ टेलिकमको नयाँ हाकिम हो नि, यादवप्रसाद घिमिरे।’
चिनजान भएको ६/७ महिनापछि रोशनीले खबर पाइन्, टेलिकमको अफिस जानू।
उनी गइन्। त्यति बेला मोबाइल सर्वसाधारणका लागि अहिलेजस्तो सजिलो भइसकेको थिएन। मोबाइलको सिमकार्ड लिन टेलिकम अघि घण्टौँ लाइनमा बस्न पर्ने।
पत्रकारलाई भनेर टेलिकमका कर्मचारीले सिम छुट्टाएर राखिदिएका हुन्थे।
एनटिसीको सिमकार्ड राखिदिन बिर्सेको भन्दै घिमिरेले रोशनीलाई रिमकार्ड नाम गरेको सिडिएमएको सिम दिए।
उनले पैसा दिएर रिमकार्ड लिइन्।
‘पत्रकारिता गरेर खान पुग्छ नानी?’ यादवले सोधेका थिए, ‘मलाई पनि थाहा छ, तिमीहरुको तलब धेरै हुँदैन।’
पाएसम्म ‘साइड जब’ गर्नुपर्छ भन्ने सोचिरहेकी थिइन् रोशनीले।
‘यहाँ हामीलाई कर्मचारी चाहिएको छ, तिमीले खोजेजस्तो पनि हुने, विज्ञापन नखुलाई पाइने गरी क्षेत्रबाट मिलाउँला,’ उनले भने, ‘त्यसको लागि सबै म मिलाइदिन्छु, तिमी एकपटक पोखरा जानुपर्छ इन्टरभ्युको लागि।’
कुराकानीपछि रोशनी फर्किन्।
यादवले बेलाबेला फोन गर्थे। उनीहरुको राम्रो बोलचाल भयो। यादव ४३ वर्षका थिए। रोशनी २२।
‘म तिम्रो अभिभावक हो, मेरी आमा र बैनीजस्तो पवित्र मान्छु,’ यसो भनिरहन्थे यादव।
२०६४ साल पुस १७ गते पोखरा जाने कुरा भयो। बिहान गएर बेलुका फर्किने भनेर योजना बनाएका थिए उनीहरुले।
तर, यादव बिहानै काम पर्यो भनेर अन्तै गइदिए।
दिउँसो २ बजेतिर आएर रोशनीलाई तयार हुन भन्दै फोन गरे।
तीन बजेको माइक्रो पक्रेर उनीहरु साँझ ५.३० बजे पोखरा पृथ्वीचोक ओर्लिए।
ट्याक्सी लिएर उनीहरु महेन्द्रपुल पुगे। त्यहाँ यादवले आफूलाई र रोशनीलाई पनि केही कपडा किने।
‘मलाई पर्दैन,’ रोशनीले यसो भन्दा उनले ‘मलाई नराम्रो त सोचिनौ?’ भनेर सोध्थे।
यादवले आफ्नी दिदीकोमा बस्ने र भोलिपल्टको इन्टरभ्युको लागि तयारी गर्ने भनेर सुनाए।
त्यही ट्याक्सीमा चढेर उनीहरु घारीपाटन पुगे, यादवको दिदीको घरमा।
‘दिदी ठिक छ? भान्जाभान्जी खै त?’ यादवले घरपट्टीसँग सोधे।
रोशनीलाई विश्वास भयो, उसकी दिदीकै घर रैछ भनेर।
एउटा कोठा देखाइदिए, ‘तिमी त्यो कोठामा बस।’ उनी भने अर्कै कोठामा आफ्ना सामान राख्न गए।
राति ८ बजे खाना खाएपछि रोशनी आफ्नो कोठामा आइन। यादव पनि पछिपछि आए।
इन्टरभ्युको बारेमा सामान्य कुरा गरे, केही घरायसी कुरा गरे।
उ जाँदै नगएपछि अप्ठेरो लागेर रोशनीले मोबाइल चलाइन्।
उनले त्यो खोसेर खाटमुनि फालिदिए। उनलाई बल्ल डर लाग्यो।
‘तपाईँ अब जानुस्,’ रोशनीले भनिन्। ऊ उठ्यो। बल्ल लामो सास फेरिन्।
तर, यादवले ढोकाको चुकुल लगायो। अब भने रोशनी छाँगाबाटै खसिन्।
‘के गरेको यस्तो?’
यादवको जवाफ थियो, ‘यो दिनकै लागि मैले ६ महिनादेखि योजना बनाएको छु, शहरभरि तिम्रो चर्चा हुन्छ, तिमी कति राम्रो स्वभावकी छौ ज्ञानी छौ भनेर। त्यसैले तिमीलाई आफ्नो बनाउन मैले यो सब रचेको।’
रोशनी के गर्न सक्छु भनेर सोच्न नपाई रुन थालिन्। ‘यसो नगर्नुस्, मेरो जिन्दगी बर्बाद हुन्छ,’ उनले सम्झाउन खोजिन्।
केही सिप नलागेर चिच्याउन थालिन् तर यादवले घाँटी अठ्यायो।
‘हल्ला नगर यहाँ कसैले तेरो उद्धार गर्दैन। यो कोठामा छिरेदेखि नै सबले ठानिसके तँ ‘त्यस्तैखालकी’ केटी भनेर।’
यो उसकी दिदीको घर होइन रैछ।
उनको केही जोर चलेन। मध्यरातमा यादवले रोशनीलाई बलात्कार गर्यो।
जबरजस्ती गरेपछि मस्तले निदायो।
यता रोशनीको मन त्यो रातभन्दा अधेँरो भयो। केही सोच्नै सकिनन्।
रोशनीले सल सिरानीमा राखेकी थिइन्। सिलिङमा फ्यान थियो। अकस्मात, त्यसैमा झुण्डिने र खत्तम हुने सोचाइ आयो। सकिनन् त्यो पनि।
‘मर्नु नै थियो भने उसैको हातबाट मर्थेँ।’
रोशनीलाई बाँच्नु थियो। यत्रो लडाँइ बाँकी नै छोडेर मर्न उनलाई मञ्जुर भएन। बिस्तारै खाटमुनिबाट उनले मोबाइल निकालिन्।
आफ्नी साथीलाई फोन लगाइन। केही बोल्ने हो भने यादवले सुन्ला भन्ने डर थियो।
त्यसैले केही बेर फोन गरेर यत्तिकै छोडिन्। साथीले नै एसएमएस गरिन्, ‘के भयो?’
‘म आपतमा छु, यादवले मेरो अस्मिता लुट्यो, तिमी भोलि बिहान ७ बजेसम्म आइपुग, यहाँ घरिपाटन आँखा अस्पताल छेउमा।’
फेरि उनको मोबाइलमा एकजना पत्रकार साथीको फोन आयो, त्यसपछि इन्सेक भन्ने संस्थाकी दिदीको।
उनीहरुले नआत्तिनू भनेर सम्झाए।
‘पुलिस पठाइदिन्छौँ तिमी बाहिर निस्कनु।’ यस्तो एसएमएस आएपछि रोशनीले चुपचाप आफ्ना एकसरो कपडा समालिन्।
खाटबाट उठेर भाग्न लाग्दा एकपटक रोशनी थर्रर काँपिन्। मुटु ढक्क फुलेर बन्द भएजस्तो भयो।
उनलाई यस्तो लाग्यो, ‘सँगसँगै यादव पनि बिउँझियो र रोक्यो।’
बिस्तारै चुक्कुल खोलेर बाहिर निस्किन्। ढोका थुनिदिइन् र ट्वाइलेटमा लुकिन्।
पुलिस आयो। उनी अब सुरक्षित भइन्। यादव प्रहरीको पञ्जामा पर्यो।
बिहान साथीहरु आइपगे।
...
मध्यरातमा आएको प्रहरीले उनलाई जँचाउन लैजान कुनै चासो देखाएन।
रोशनीका साथीहरुको निरन्तर दबाबपछि प्रहरीले बेलुका ८ बजेमात्रै अस्पताल लग्यो।
१७ गते राति भएको घटनाको जाहेरी प्रहरीले २२ गते मात्रै लिएको थियो।
जाहेरी लिँदै गर्दा जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसएसपी रमेश भट्टराईले रोशनीलाई भनेका थिए, ‘बैनी, तिमीले यो मुद्दा हार्छौ, बरु क्षतिपूर्ति लिएर कुरा मिलाऊ।’
उनी अचम्ममा परिन् जसले उनको मुद्दा लड्न उनलाई भर दिनुपर्ने हो, उसैले लत्तो छोडिसकेको थियो।
तर,उनले सुनिनन्। जाहेरी दिइन्।
मुद्दा नलगाए ८ लाख दिनेसम्मको लोभ यादवका मान्छेहरुले देखाएका थिए। उनलाई पैसा होइन, न्याय चाहिएको थियो।
२२ गते उनको जाहेरी दर्ता भयो।
यादवकी श्रीमतीको फोन आयो, ‘बैनी, मेरो श्रीमानको गल्ती हो तर, एकपटकलाई छोडिदेउ, मेरा बच्चाको बिचल्ली हुन्छ।’
बिचल्ली त रोशनीको हुने वाला थियो।
उनले समाजमा गएर कसरी पहिले जस्तै हाँसीखुसी बाँच्ने? मन खाइरहन्थ्यो।
आफूलाई त उनले समालिन्। तर, त्यही बेला चिनिन् समाजले कसरी बलेको आगो ताप्छ। कसरी साथीहरु त्यसै टाढा हुन्छन्। कसरी फैलिन्छन् नभएका कुरा। अरुले मुख खुम्च्याउँदा कसरी आफ्नो मुटु पनि खुम्चिन्छ।
यी सबैसँग लड्नु चानचुने थिएन। त्यहाँमाथि त्यो घटना पत्रपत्रिकामा समेत आइसकेको थियो।
प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएपछि मुद्दा अदालतमा गयो।
प्रहरी मात्र होइन, रोशनीलाई सरकारी वकिलले समेत सहयोग गरेका थिएनन्।
उनको मुद्दा सरकारवादी हो। उनको तर्फबाट लड्ने सरकारी वकिल नै हो।
उसैले पीडितलाई मुद्दाका प्रक्रियाको जानकारी दिनुपर्छ सहयोग र भरोसा दिनुपर्छ। तर उनीहरुले बकपत्र गर्ने दिनको सूचना नै दिएनन्।
पोखराबाट एकजना वकिलको फोन आयो, भोलि तिम्रो अदालतमा बकपत्र दिने दिन हो भनेर।
उनले सरकारी वकिल भरतमणि खनाललाई फोन गरिन्, ‘सर मेरो बकपत्र हो?’
‘हो, तर तिमी आउनुपर्दैन,’उनले भने।
होला भनेर रोशनी चुप बसिन्। भोलिपल्ट कुनै चियापसलमा उनको मुद्दाका बारे कुरा चलिरहेको थियो। रोशनीकै गल्ती भनेर कुरा काटिरहेका बेला उनी संयोगवश त्यहाँ पुगिन्।
एकजना पूर्व न्यायाधीश पनि त्यहीँ थिए। उनले सोधे, ‘के के भएको थियो र मुद्दा कहाँ पुग्यो?’
रोशनीले सबै बताइन् र फ्याट्ट भनिन्, ‘आज बकपत्र हो रे।’
‘जानुपर्दैन त? तिमीलाई के मुद्दा लड्नु छैन? यसो गरेपछि तिमी झन कमजोर हुन्छौ,’ ती पूर्वन्यायाधीशले भने, ‘गल्ती त तिम्रो होइन रैछ।’
उनी त्यहीँबाट ट्याक्सी पक्रेर एक्लै पोखरा आइन्। प्रहरीबाट बकपत्रको लागि चिठी लिइन् र सरकारी वकिलको हस्ताक्षर लिन पुगिन्।
सरकारी वकिल खनालकहाँ पुगिन् र भनिन्, ‘सर, यहाँ साइन गर्दिनुुस।’ उनले अरु केही भनिनन्।
खनालले चिठी लिए र भने, ‘नआऊ भनेको होइन? तिमी यो मुद्दा फिर्ता लेऊ।’
अहिले पनि रोशनीलाई याद छ, सरकारी वकिल पोखरेलले भनेका थिए, ‘तिमी १६ वर्ष मुनिकी भए जित्थ्यौ, तिम्रो उमेरै यत्रो छ, मुद्दा नलड नानी।’
तर, उनी लड्न तयार थिइन्। बकपत्र गरेर उनी फर्किन्।
उनले फेरि काम सुरु गरिन्, नयाँ एफएममा।
...
घटनाको एकवर्ष पछि २०६५ साल माघ २९ गते जिल्ला अदालत कास्कीले उनको मुद्दामा फैसला गर्यो।
जिल्ला न्यायाधीश हरिकुमार पोखरेलले यादवले रोशनीलाई बलात्कार गरेको ठहर्याए।
यादव पक्षले उनको मेडिकल रिपोर्टले बलात्कार भएको नमानेको, जाहेरी बाहेक अन्य कुनै प्रमाण पुराउन नसकेको जिकिर गरेर बहस गरेका थिए।
जिल्ला न्यायाधीश पोखरेलले फैसलामा बलात्कारबाट पीडित महिला नै कानुनको नजरमा प्रत्यक्षदर्शी भरपर्दो सबुद प्रमाण हो भनेका छन्।
‘आफ्नो इज्जत, मान, प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने र सुन्दर भविष्यको पारिवारिक तथा सामाजिक जीवनमा प्रतिकूल स्थितिको श्रृजना गर्ने प्रकृतिको उजुरी लिएर कुनै स्वाभीमानी महिला प्रहरी कार्यालय, स्वास्थ्य परीक्षणार्थ अस्पताल हुँदै कानुन र न्यायको शरणमा विना कारण अदालतसम्म आई पुग्दैनन्।’ जिल्ला अदालतको फैसलामा उल्लेख छ।
जिल्ला अदालतले यादवलाई ६ वर्षसम्मको कैद सुनायो। उसले रोशनीलाई १ लाख ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने भयो।
फैसला आएपछि केही राहत मिल्यो रोशनीलाई। त्यो फैसलाको अरुले पनि प्रशंसा गरे।
तर, जिल्लाको फैसलाविरुद्ध यादव पुनरावेदन अदालत पोखरा गए।
२०६६ साल असोज २९ गते पुनरावेदनमा पेशी थियो। बहसका लागि उनीहरु पुगेका थिए।
तर, रोशनीका सबै वकिल आइपुगेकै थिएनन्। उनले नियमअनुसार इजलासमा आजको पेशी हटाइ पाउन निवेदन दिइन्।
तत्कालीन न्यायाधीश ओमप्रसाद सुवेदीले निवेदन अस्वीकार गर्दै भने, ‘यदि हाम्रो फैसला चित्त बुझ्दैन भने न्याय परिषदमा जाऊ न उजुर दिन।’
उनलाई अचम्म लाग्यो, किन कड्किए होलान् न्यायाधीश?
८ महिनामै पुनरावेदनले जिल्ला अदालतले दोषी ठहराएका यादवलाई सफाइ दियो।
पुनरावेदन अदालतका न्यायाधीश ओमप्रसाद सुवेदी र खेमराज शर्माको संयुक्त इजलासले यादवले उनलाई जबरजस्ती नगरेको भन्दै सफाइ दिए।
उनीहरुले फैसलामा, एक परपुरुषसँग एकजना महिलामात्रै बाहिर हिँड्दा सुरक्षित नै महसुस गरेकाले घिमिरेको अन्य चरित्रमा अविश्वास गर्न नमिल्ने बताएको छ।
मेडिकल रिर्पोट कमजोर भएको र घिमिरेले यौनसम्पर्क राखेको होइन भनेर दिएको बयानलाई आधार मानेर पुनरावेदन अदालतले फैसला गरेको छ।
‘जाहेरी दरखास्तबाहेक अन्य कुनै कागजातले यी प्रतिवादी यादव घिमिरेले पीडित भनिएकी रोशनीसँग यौन सम्पर्क गरेको भन्ने खुल्न सकेको छैन,’ उक्त फैसलामा ‘जवरजस्ती करणी हो कि हैन भनी थप व्याख्या विश्लेषण गरी रहनुपर्ने अवस्था समेत रहँदैन’ भनिएको छ।
पुनरावेदनले सफाइ दिएपछि यादव जेलमुक्त भए। १ वर्ष ९ महिना जेल बसेर उनी टेलिकमको जागिरमा फर्के।
पोखराको फैसलाविरुद्ध सरकारी वकिल कार्यालय २०६६ फागुन २५ गते सर्वोच्च गयो।
न्यायको अन्तिम आस लिएर रोशनी पेशीको दिन सर्वोच्च अदालत आउँछिन्।
पुनरावेदन परेको डेढ बर्षमा उनको मुद्दामा सर्वोच्चले झगडियालाई बोलाएको थियो।
न्यायाधीशहरु रामकुमारप्रसाद साह र प्रकाश वस्तीको इजलासले ‘अदालतमा प्रमाण लिनुपर्ने पीडितको कथन र डाक्टरी रिर्पोटलाई ग्रहण नगरी कसूरबाट सफाई दिएको भन्दै’ यस्तो आदेश गरेको थियो।
त्यसपछि सर्वोच्च अदालतले उनको मुद्दाको मिसिल कहिलै फर्काएर हेरेको छैन।
कहिले विपक्षीले पेशी सार्छ कहिले अदालतले हेर्न भ्याउँदैन। कहिले रोशनीलाई आफ्नो पक्षका वकिलले समेत धोका दिन्छन्।
‘नेपाल बारले उपलब्ध गराएका हाम्रो तर्फका वकिललाई समेत प्रभावमा पारेर यादवले पेशी सार्न लगाएछ,’ रोशनीले भनिन्, ‘मलाई त नसोधी शान्ता सेढाईँ भन्ने वकिलले पेशी सार्न निवेदन दिनुभएछ।’
हरेक पेशीमा उनी त्यो भयावह रातबाट छुटकारा पाउने आस लिएर सर्वोच्च पुग्छिन् र आफ्नो पेशी सरेको सुचना पाएर अँध्यारो अनुहार लगाउँछिन्।
उनले टिपेर राखेकी छिन्, आफू पेशीमा गएको दिन कपीमा।
‘एघारपटक,’ कपि देखाउँदै भनिन्, ‘अझ कति त टिप्नै बिर्सेको छु।’
सर्वोच्च अदालतले महिलासम्बन्धी यस्ता मुद्दाहरुलाई प्राथमिकता दिएर पेशी तोक्ने निति लिएको छ।
सर्वोच्च आफैले जिल्लातहमा ‘बलात्कार जस्ता महिला सम्बन्धी मुद्दाको निरन्तर सुनुवाई गर्नु’ भनेर आदेश दिएको छ।
‘सर्वोच्चको आदेश अनुसार नै २०६७ साल देखि जिल्ला तहमा बलात्कार जस्ता मुद्दाको निरन्तर सुनुवाइ भएर छिटै मुद्दाको फैसला हुन्छ,’ सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले भने ‘सर्वोच्चमा भने अग्राधिकार दिएर पेशी तोक्ने नियम छ।’
तर, रोशनीको मुद्दा कहिले टुङ्गो लाग्ला ?
...
२०६७ सालमा रोशनी काठमाडौँ आइन्। यहीँको एउटा एफएममा काम गर्न थालिन्। उनलाई सर्वोच्च जान पनि सजिलो भयो।
तर, अचानक उनको इमेल, फेसबुक ह्याक भए।
उनको फेसबुकबाट साथीभाइ र चिनजानका मान्छेलाई तथानाम गाली र फोहोरी शब्द जान थाले।
उनी अवाक भइन्। कसरी हुन्छ यस्तो?
कति ठाउँमा स्पष्टीकरण दिँदै हिँड्न प¥यो। कसैले उनको अकाउन्टबाट साथीहरुलाई मार्नेसम्मको धम्की दिन थाल्यो। उनी दिनदिनै आतंकित भइन्।
उनको मोबाइल नम्बर कसैले ह्याक गरिदियो। उनका सबै इमेल र फोन ठेगाना अरुकै नियन्त्रणमा पुगे।
तनावले उनले केही काम गर्नै सकिनन्। एकातिर काम गर्ने समयको टुङ्गो हुन्थेन, अर्कोतिर यस्तो असुरक्षित हुँदै गइरहेको थियो दैनिकी।
काठमाडौँमा बाँच्नै गाह्रो भयो। उनी सिडिओ र पुलिसकोमा गइन्।
उनलाई शंका लाग्यो, कतै यादवले त गरिराखेको छैन यो सबै?
हनुमानढोका उजुर गर्न जाँदा थाहा पाइन्, यादवले एनटिसीको कल डिटेल शाखामा काम गर्छ।
‘प्रहरीलाई कल डिटेलहरु सबै यादवसरले नै दिने हो,’ उनलाई प्रहरीले सुनाए।
‘म जिन्दगीमा अर्कोपटक छाँगाबाट खसेजस्तै भएँ,’ रोशनीले भनिन्, ‘नाम किटेर भन्न नसके पनि मलाई थाहा भयो, यो सब कसले गरिराखेको छ।’
अहिले पनि यादव एनटिसीको केन्द्रीय कार्यालय कलडिटेल शाखामा काम गर्छन्।
त्यसपछि उनले देशै छोडिन्।
डेढ वर्ष उनी नेपाल बाहिर बसिन्। तैपनि उनको मनमा चैन भएन। किनभने मुद्दा त नेपालमै थियो। लड्नु त यहीँ आएर थियो।
उनलाई न्याय नपाएसम्म जहाँ गएपछि शान्ति हुने छैन।
...
फेरि उनी नेपाल फर्किइन्। उनलाई अरुलाई झैँ खुलेर हिँड्न अझै पनि डर छ।
थाहा छैन यसरी खुम्चिएर कहिलेसम्म हो बाँच्ने?
तैपनि उनको साथमा परिवार छ, केही साथीभाइ छन्, आफ्ना मान्छे छन्। त्यसैले हिम्मत हार्नु छैन उनलाई। उनी आफ्नो लडाइँमा मजबुतीका साथ खडा छिन्।
अचेल उनलाई आफ्नो जिन्दगीले कतै कुरिरहे झैँ लाग्छ।
‘यो मुद्दा सकियोस्, मेरो जिन्दगीबाट त्यो रातको कालो छाँया हट्ने छ, म खुसी हुने छु,’ उनी थोरै मुस्कुराइन्।
शायद त्यसपछि उनले आफूले कहिल्यै नकोरेको आफ्नो चित्र कोर्ने छिन्।
Post a Comment